ब्लग

तँ, तिमी, तपाईं, हजुर

आधुनिक र सहिरयाले नै बच्चाहरुलाई कस्तो भाषिक-संस्कृति र व्यवहार सिकाइरहेका छन्?



इसीडीनेपाल

हाम्रो संवादमा सम्बोधन अनिवार्य छ। 'तँ', 'तिमी', 'तपाई' र 'हजुर' हाम्रा सम्बोधनका तहहरु। सामान्यतः सानो बालकले यदि कसैलाई 'तँ' भन्यो भने उसलाई 'तपाई' वा 'हजुर' भन्न सिकाइन्छ। त्यसैले भन्न सकिन्छ, सम्बोधन संस्कारजन्य कुरा हो।

हुन त सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति विशेष समूहभित्र सानाले ठूलालाई तिमी भन्ने चलन समेत पाइन्छ।

तर सन्दर्भ काठमाडौँको हो। खासगरी काठमाडौँमा एउटा समूह/वर्गमा 'हजुर' नै भन्नुपर्ने, र पुछारमा 'स्यो' जोड्ने अभ्यास छ। यस्तो भाषा प्रयोग गर्नेहरु दुईथरी छन्ः स्वाभाविक रुपमा बोल्नेहरु र अरुको प्रभावले वा रहरले बोल्नेहरु। यस्तो चलन भएकामध्ये एउटा ठूलै समूहले 'तपाई' भन्नुलाई सभ्य मान्दैन।

म सानो छँदा विराटनगर आएकी काठमाडौँवासी मेरी दिदीले भनेको अझै सम्झन्छु, 'मलाई त तपाईं भनेको सुन्दा कस्तो असजिलो लाग्छ।' मेरी दिदी राजधानीको हजुर भन्ने संस्कारबाट प्रभावित थिइन्। काठमाडौँ बस्दै आएका मेरा धेरैजसो आफन्तहरु हजुर भन्न रुचाउँछन्। कोही यहीँको रैथानेसरह भएकाले त कोही काठमाडौँको अभिजात्य संस्कारप्रतिको रुचि र प्रभावका कारण।

केहीले जानेर त केहीले अन्जानवश यस्तै अभ्यासलाई पछ्याइरहेका छन्। त्यसैले काठमाडौँ प्रवेश गरेका सुरुका दिनमा ममा हजुरवालाहरुसँग वार्तालाप गर्दा आफ्नो भाषा 'ठाडो' हो कि भन्ने सन्देह भइरहृयो। तर अपवादबाहेक मैले हजुरको साटो तपार्इं भन्न नै रुचाएँ। म यसमै अभ्यस्त थिएँ। संकोच र असहजताका बाबजुद काठमाडौँको भाषा वा शैलीप्रति आकर्षित भइनँ।

आफूले हजुर तथा स्योस् नजोडे पनि यसरी बोल्ने व्यक्ति र परिवार हाम्रो वरिपरि जहीँतहीँ छन्। मेरै आफन्तहरु कहिलेदेखि 'तपार्इं'बाट 'हजुर' र 'स्यो'वाला कित्तामा प्रवेश गरे, मलाई राम्रो हेक्का छ। तथापि, काठमाडौँ छिरिसकेपछि तपाईं भन्नेहरुले एकाएक 'हजुर' तथा 'स्यो' भनेको सुन्दा ताजुब लाग्थ्यो।

यस्तो आकर्षण सायद समाजशास्त्रीय वा मनोवैज्ञानिक अध्ययन अनुसन्धानकै विषय होला। तर यहाँ त्यसबारे चर्चा गर्न लागिएको हैन। सम्बोधनसम्बन्धी मेरा केही जिज्ञासाहरुको उत्तर खोज्ने जमर्को स्वरुप यस विषयमा प्रवेश मात्र गरेको हुँ। यहाँ मेरो अनुभवका आधारमा केही कुरा साटेको मात्र हुँ।

काठमाडौँको केन्द्र मानिने बानेश्वर नजिकैको एउटा घरमा मैले झन्डै एक दशक बिताएँ। त्यस घरमा ६ जना सदस्यको परिवार थियो। तीमध्ये दुई जना पात्रको चर्चा यहाँ सान्दर्भिक छ। करिब १५ वर्षको एउटा भाइ र त्यस घरको 'काम गर्ने केटी'को भूमिकामा रहेकी बढीमा अठार वर्षीय बहिनी। त्यो भाइ होस् वा ती बहिनी, ती दुबैले मलगायत अरु जोसुकैसँग बोल्दा पनि हजुर भनेर सम्बोधन गर्थे।

यसमा अस्वाभाविक मान्नु पर्ने कुरा केही थिएन। तर त्यही भाइले उमेरले आफूभन्दा ठूली हुँदाहुँदै पनि ती 'काम गर्ने केटी' बहिनीलाई चाहिँ सधैं तँ भन्थे। उसको सम्बोधनले मलाई बिझाइराख्थ्यो। 'काम गर्ने केटी' भएकै नाताले आदरार्थी शब्द प्रयोग नगर्दा पनि हुन्छ भन्ने कुरा त्यो भाइले कहाँबाट सिक्यो होला? यो प्रश्नले मलाई घरीघरी पछयाइरहन्थ्यो। आज पनि मलाई त्यो प्रश्नले छाडेको छैन।

उसले यो फरक व्यवहार अभिभावकबाट सिक्यो कि आफैं? पक्कै पनि अभिभावकले तँ भन् भनेर सिकाएनन् तर ती बहिनीलाई आदर गर्नु पर्छ भनेर पनि त्यो भाइलाई कहिल्यै सिकाएनन्। अनि न हेप्यो त्यो भाइले ती बहिनीलाई। एकातिर हाम्रा नानीहरु अति शिष्ट देखिए पनि अर्कोतिर उनीहरुमा विभेदकारी मनोविज्ञानले पनि मलजल पाइरहेको छ।

ती बहिनी तिनै हुन्, जसले त्यो भाइलाई हुर्काउन लामै समय र श्रम खर्च गरेकी थिइन्। शक्तिशाली व्यक्तिले कमजोर व्यक्तिलाई हेपेर तँ भने जस्तै त्यो भाइले पनि ती बहिनीलाई हेपेरै त्यसो भनेको हो। भलै यो कुरा उसले अन्जानमै गरेको किन नहोस्।

त्यो भाइले उनलाई तँ भन्दा घरका अन्य सदस्यले तपाईं भन्नुपर्छ भनेर सिकाएको कहिले सुनिनँ। हाल ती बहिनी त्यही घरको अर्को सानो सदस्यलाई हुर्काउँदै छिन्। अहिले दिदी भने पनि सजिलै अड्कल काट्न सकिन्छ कि त्यो हुर्किनेवाला बच्चाले पनि उनलाई तँ र घरका अन्य सबैलाई हजुर भन्ने छिन्।

यो सम्बोधनमा सीमित विषय मात्र होइन। काम गर्न बसेको मान्छेलाई अनादरार्थी सम्बोधन गर्ने छुट वर्गीय कारणले नै प्राप्त भएको हो। एकातिर सबैलाई अनिवार्य रुपमा हजुर भन्न लगाइन्छ अनि अर्कोतर्फ काम गर्ने भएको नाताले आफूभन्दा ठूलालाई तँ भन्दा पनि रोकिँदैन।

यो कस्तो चलन? यसबाट घरको सानो सदस्यबाट समेत आदर नपाएकी ती बहिनीलाई अन्य सदस्यले कस्तो हैसियतमा राखेका होलान् सहजै अनुमान लगाउन सकिन्छ।

वर्गीय विभेदको यो अभ्यास सम्भवतः त्यो भाइमात्र हैन दिनरात कामको चटारोमा हुने ती बहिनीलाई पनि थाहा नहुन सक्छ। थाहा छैन, घरका अन्य सदस्यहरु यसबारे कति जानकार छन्? यसले समाजमा यस्ता बालबालिकाको संख्या बढाइरहेको छ, जो एकातिर अति अनुशासित त देखिन्छन् तर अर्कातिर थाहै नपाइ सम्बोधनको राजनीतिक शिकार भइरहेका छन्।

अबोध बालबालिकाले तँ भन्नु सामान्य कुरा होला। तर बुझेर पनि आफूभन्दा ठूलालाई तँ भन्नु हैकमवादी प्रवृत्ति नै हो। यो केवल शाब्दिक कुरा नभई वर्गीय विषय पनि हो । यो प्रसंग एउटा उदाहरण मात्र हो। यससँग मेल खाने अन्य थुप्रै दृष्टान्तहरु हामी जताततै देख्न सक्छौँ।

ग्रामीणबाट सहरिया जीवनशैलीतर्फको आकर्षणले एउटा ठूलो समूहले 'हजुर' तथा 'स्यो' प्रयोग गर्ने भएका छन्। यो शब्दप्रतिको आकर्षण मात्र नभई वर्ग परिवर्तनको चाहना पनि हो। यस्ता अभ्यास र यसप्रतिको आकर्षणले वर्गीय स्वार्थको पक्षपोषण समेत गरिरहेको छ। कुनैबेला निबन्धकार श्यामप्रसादले समाजमा भाषा प्रयोगको वर्गविभेदबारे दशकौंअघि लेखेका थिए। तर अहिले पनि अर्को ढंगले तँ, तिमी, तपाइँ, हजुर चलिरहेकै छ।

(तस्विर सांकेतिक रुपमा मात्र प्रयोग गरिएको हो)

प्रकाशित २० साउन २०७४, शुक्रबार | 2017-08-04 12:02:27

प्रतिकृया दिनुहोस

  • बा–आमाको हातमा छोराको किताब

    छोराको ‘अंश’ पाउने मेरा बा–आमा

    फोटो देखेपछि पहिलो फोन गरिन रामकुमारी झाँक्रीले– भेना, बुढाबुढी बा–आमालाई त्यस्तो ‘अंश’ दिएर हुन्छ? सेवा गर्नु पर्दैन? गाडीमा चर्को लोकगीत बजेको...

  • बेइजिङमा दूताबासले आयोजना गरेको छलफल

    बेइजिङमा जब भयो ओठ–सेवाको चर्चा

    ‘ओठ–सेवाले जनताका लागि केही ल्याउन सक्ने छैन अर्थात् लिप सर्भिस् वील ब्रिङ नथिङ टु द पिपुल।’ नेपालमा दुई–चार वर्ष बसेका ती चिनियाँ विद्वानले नेपाली...

  • तँ, तिमी, तपाईं, हजुर

    अबोध बालबालिकाले तँ भन्नु सामान्य कुरा होला। तर बुझेर पनि आफूभन्दा ठूलालाई तँ भन्नु हैकमवादी प्रवृत्ति नै हो। यो केवल शाब्दिक कुरा नभई वर्गीय विषय...

  • लन्डनस्थित पोर्टस्मथ क्याम्प साइट

    बेलायती समर र क्याम्पिङको रहर

    आहा! समर लाग्यो क्यारे! बाहिर त टहटह घाम पो लागेछ। मन त यसै चङ्गा। बेलायतमा सधैँजसो जाडो हुने हुनाले पनि समरका केही महिना निक्कै प्यारा हुन्छन्।...

  • प्रश्नको भारी लिएर गुरु अघिल्तिर टेक्सासका नेपाली

    गुरुहरु जिपिएस जस्तै हुन्। फरक यत्ति मात्रै हो– अलि बढी साधना गरेका, अध्ययन, अनुभव र शब्दले भरिएका गुरुहरुले देखाउने आध्यात्मिक बाटाहरु सोझा र छिटा...

  • रवीन्द्र मिश्र र उज्ज्वल थापा

    साझा–विवेकशील एकताका जोर्नीहरु

    यिनले अहिलेसम्म सहरकेन्द्रित समस्यामा मात्रै बहस गरेर राजनीतिक बाटो खनेका छन्। सामाजिक सञ्जालको भरपुर प्रयोग गर्छन्। युवाहरूको उपस्थिति धेरै रहेको...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...