ब्लग

हामी किन यस्ता?

धेरै थोकमाथिको आसक्तिले हामीलाई स्वार्थी, बेइमान, उत्तेजित, अराजक, ढोंगी र भ्रमित समेत बनाउँछ



कलाः इसा जेनज्केन, हाइड म्यागेजिन

‘जीवनका सुरूआतहरूमा म सबै प्रश्नहरूको जवाफ चाहन्थें, अहिले सबै प्रश्नहरूको जवाफ मसँग हुन सक्दैन भन्ने तथ्यलाई स्विकार्छु।’

दिमागमा घरीघरी एउटा प्रश्न आइरहन्छ–हामी किन यस्ता?

‘यस्ता’को मतलब– अर्काको अस्तित्व हतपत स्वीकार नगर्ने, आफूले भनेको जस्तै हुनुपर्ने, घमण्ड र अहमले चुलिएका, एक अर्कासँग मिलेको जस्तो तर मिल्न नसक्ने, स–साना चिजले भड्किने, कमजोरीमा पनि घमण्डले ‘म जे छु ठिकै छु’ भन्ने, सफलतामा पनि अहमले ‘म जे छु ठिकै छु’ भन्ने, कहिले बढी नै ईर्ष्या, कहिले बढी नै घृणा, कहिले बढी नै आग्रह र कहिले बढी नै पूर्वाग्रहले भरिएका।

न मनलाई नियन्त्रण गर्न सक्ने, न दिमागलाई नियन्त्रण गर्न सक्ने।

कि त कुण्ठा छ हामीसँग, कि त छाडापन। कि अराजक छौं हामी, कि लोथर छौं।

फेरि उही प्रश्न– हामी किन यस्ता?

हामी धर्ममा तर्क गर्छौं र तर्कमा धर्म खोज्छौं। दुवै नमिल्ने कुरा।

हामी आस्था र विश्वासमा भेद छुट्याउन जान्दैनौं। हामी सिद्धान्त र राजनीतिमा भेद छुट्याउन जान्दैनौं।

हामी राजनीतिले सिद्धान्त डोर्याउन खोज्छौं। सिद्धान्तले राजनीतिलाई डोर्याउँछ भन्ने बेला बेला बिर्सन्छौं।

हामी राजनीतिमा मानवीयता खोज्छौं र मानवीयतालाई राजनीतिमा मिसाउन खोज्छौं। दुवैै नमिल्ने कुरा।

कोही धन सम्पन्न मान्छेको आरामदायी जीवन देख्दा ‘ए यो पो हो जिन्दगी’ जस्तो लाग्छ, कोही नाम सम्पन्न मान्छेको नाम सुन्दा ‘ए यो पो हो जिन्दगी’ जस्तो लाग्छ।

कहिले हामीलाई ती जो धन सम्पन्न छन्, तिनको बानीव्यहोरा, तिनले धन कमाएको तरिका र तिनका हाउभाउ मन पर्दैन। सम्पत्तीको धनीको, धन मात्र मन पर्छ, बाँकी सबै बेकार लाग्छन्। नाम र मनको धनीको, नाम र मन मात्र मन पर्छ, बाँकी सबै बेकार लाग्छन्।

धन सम्पन्नहरू लुच्चा लाग्छन्, नाम सम्पन्नहरू सन्की र अव्यवहारिक लाग्छन्।

हामी किन यस्ता?

हामी आफूमा अरूलाई मिसाउन खोज्छौं। तर आफू अरूमा मिसिन जान्दैनौँ।

हामी आफू पानी र अरू चिनी होऊन् भन्ने ठान्छौं। अरू आफूमा घोलिउन्, तर आफू, अरूमा घोलिन नपरोस् जस्तो लाग्छ हामीलाई।

हामी आफन्तमा शत्रु भेटछौं। शत्रु, आफन्तजस्तो भइदिन्छ।

हामी कहिले आफूमा ईश्वर देख्छौं। र, कमजोर मानवलाई पाठ पढाउन लाग्छौं। हामी कहिले आफूलाई कमजोर मानव पाउँछौं र ईश्वरको पाठ घोक्न थाल्छौं।

हामी कहिले मन्दिरको मूर्ति हुन्छौं। र, अरूले पुजेको रमिता हेर्छौ। हामी कहिले आफू भक्त हुन्छौं। र, मुर्तिले हाम्रो रमिता हेर्छ।

हिटलर र यहुदीमा बीपी कोइराला ठिकै भन्दै थिए सायद, ‘ईश्वर भनेको उत्तेजनारहित मानव हो– लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति। मानव त्यस्तो ईश्वर हो, जो आसत्तियुक्त छ।’

हो, हामीमा आसक्ति छ। धेरै थोकको आसक्ति।

धेरै थोकमाथिको आसक्तिले हामीलाई स्वार्थी बनाउँछ। धेरै थोकमाथिको आसक्तिले हामीलाइ बेइमान बनाउँछ। धेरै थोकमाथिको आसक्तिले हामीलाई उत्तेजित बनाउँछ। त्यो उत्तेजनाले हामीलाई अराजक बनाउँछ। त्यही उत्तेजनाले हामीलाई ढोंगी बनाउँछ। त्यही उत्तेजनाले हामीलाई भ्रमित बनाउँछ। त्यही उत्तेजनाले हामीलाई एकोहोरो बनाउँछ। त्यही उत्तेजनाले हामीलाई विभाजित बनाउँछ।

हामी बाँडिन्छौ। हामी भाग लाग्छौं। काट्छ एउटाले, जोख्छ अर्कोले, भाग लगाउँछ अर्कोले र अन्तमा किन्छ अर्कैले। स्वाद लिने त को को हुन् को को!

हामी किन यस्ता?

‘दि अल्केमिस्ट’का लेखक पाउलो कोइल्होले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘जीवनका सुरूआतहरूमा म सबै प्रश्नहरूको जवाफ चाहन्थें, अहिले सबै प्रश्नहरूको जवाफ मसँग हुन सक्दैन भन्ने तथ्यलाई स्विकार्छु।’

बस्, मैले अहिले गर्न सक्ने यत्ति नै हो।

प्रकाशित १ साउन २०७४, आइतबार | 2017-07-16 16:25:09


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।