सुन्नुस त! विचार हाम्रा पनि छन्





जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका बिचौलियाहरुलाई अब रिस उठाउने बेला भएको छ।

NIC ASIA

फोन आयो। फोनमा भनियो, ‘लेखन रोचक र नयाँ छ। तर अलि प्रसिद्ध मानिसको भनाइ पेस गर्नुभयो भने यो तर्क उभ्याउन सजिलो होला।’

मैले सोधेँ, ‘किन मैले पेस गरेका मानिसका विचार तपाइँलाई बलियो लागेन? आफ्नो समाजका, आफ्नो समयका साक्षी पात्रलाई हामी विचारका अधिकारी किन ठान्दैनौँ?’

फोनमा एकछिन वार्ता गर्‍यौँ। सरल मिजासका डेस्क सम्पादक परे। सल्लाहपछि तिनै ‘साना’ मानिसका दृष्टान्तले नै लेख उभ्याइयो। उनी त खुला सोचका मानिस थिए, सजिलो भयो। एकजना मित्रले ‘तिम्रो पनि केहि गम्भीर विषयमा पुस्तक आउला नि!’ भनेर सदीक्षा जनाए पनि म विचारबारे घोत्लिएँ फेरि एक पटक। कस्ता र कसका विचारको टेको मान्य हो।

सन्दर्भ मिल्दा कति उदाहरण दोहोरिन पुग्छन्। यस्तै एक छ बाजुराको घटना। मैले अर्को प्रसंगको लेखमा पनि यो घटना उल्लेख गरेकी छु। विस्तृत घटना र पीडितको सम्पूर्ण जानकारी त्यही लेखमा छ। बाजुराकी कुलदेवमान्डुकी एक किशोरी सामूहिक अपहरणमा परिन्। सात दिनसम्म उनलाई स्कुल ड्रेसमै अपहरणकारीले लेक–लेक घुमाए। अन्ततः गाँउका दुवै पक्ष बाजुराको चौकीमा दाखिला भए।

न्यायलय त ठप्प थियो। सिडियो सा’प पनि यहाँ यस्तै हो भनेझैँ गरी मलाई गाँउका यस्ता घटनामा आफ्नो समय नखर्चन सुझाव दिन्थे।

सबैको निकम्मपनमा आफ्नो दैनिक काम ठूलो देखिएको थियो। निसाफ माग्ने टोली मकहाँ आइपुग्यो। चौकीमा कुरा फेरिएला भनेर मैले पीडित पक्षको कुरा पहिल्यै रेकर्ड गरेँ। केटीको पक्षमा बोल्न सेनामेना तयार पारेँ। दलबलसहित बाजुरा चैकीमा दुवै पक्ष पुग्यो। मेला नै लाग्यो। उनका पक्षमा बोल्न झाँसीका रानीहरुको टोलीसहित थिएँ म। सैयौँको संख्यामा रहेका छाउपडीलाई घामपानी, भोकतिर्खा नभनी केही संख्यामा झार्नेदेखि गाउँका न्याय निसाफ मिलाउने महिलाहरु स्वःस्फूर्त समूह थियो त्यो। मलाई उनीहरु व्यंग्य गर्थे, ‘तिमी बैकनी पन हाम्रै दुख भरिकन लान्या हौ, तेही बेचेर खान्या हौ।’

दुःख त लानै पर्‍यो, ती काला दिन हटाउन तपाईंहरूले गरेका अथक संघर्ष र जीतका कथा म किन छोडौँला! हाम्रो यस्तो कुराकानी चलिरहन्थ्यो। छ महिनाको बसाइमा उनीहरु मसँग रैथाने सरह मन खोल्थे।

चौकीमा बहस सुरु भयो। साथीहरु छेउमा लहरै बसे। मैले बहस रेकर्ड गर्न थालेँ। चर्काचर्की भइरहेको छ, बहसको कमान्ड उनै अपहरणमा परेकी केटी सम्हाल्दै छिन्। हामीले उनको मुख्य गायनमा कोरस थप्ने बाहेक अरु भूमिका गर्न पाएका छैनौँ। बेलाबेला छिद्र खोजेर केटा पक्षलाई कडा प्रश्न गर्ने आफ्नो अतिथि भूमिका मैले निकालेँ। बाँकी झाँसीका रानीहरु छेउमा तालि बजाएर बसे। केटोले लेकको जंगलमा केटीलाई धम्काँउदै भनेको रे, ‘अब म तँलाई बलात्कार गर्छु। तेरो इज्जत सकिन्छ अनि कुन मुखले जान्छेस गाउँ?’ उस्को धम्की केटीले चौकीमा सबैका अगाडि खोलिदिइन् र चुनौती दिइन्, ‘तैँले बलात्कार गरेर पेटमा बच्चा आए त्यो बच्चोसहित लड्छु, तँसँग बिहा गर्दिनँ।’

उनलाई ओभरटेक गरेर अस्कोटधारी पञ्च भलाद्मीले मिलोमतोमा मुद्धा टुंग्याउने कुरा गर्न थाले। हामी किन छोड्थ्यौँ। पीडित किशोरीले आफूलाई के गर्दा न्याय हुन्छ भनेर बोल्न पाउनु पर्नेमा हामी अडियौँ। चर्काचर्की भयो। जीत उनै किशोरीको भयो। ठाउँको ठाउँ अपहरणका मुख्य नाइकेहरुलाई चौकीकै पाहुना बनाउने निर्णय गराएर हामी हिँड्यौँ। पीडित किशोरी पीडित मात्र रहिनन् आफू र आफैँजस्ता अन्यायमा परेकाको लागि विचार दिन सक्ने विचारक पनि भइन्। अब हामीले रेडियोमा हिंसा–पीडितको स्वर राख्दा पञ्चभलाद्मी किन खोज्ने?

त्यस्तै विस्थापितका कार्यक्रममा आएर घन्टौँ बोल्थे गाउँका नेता। हामीले प्रमुख समाचारमा उनै पीडितका विचार राखिदिन्थ्यौँ। चिढिन्थे, रेडियोको टावर उडाउने धम्की दिन्थे। नाना पाटेकरको क्रान्ति फिल्मवाला डाइलग दिमागमा नाच्थ्यो, भन्दिन्थ्यौँ हामी पनि, तिम्ले एउटा टावर उडाए हामी तीनवटा अरु बनाउछौँ। अलि संकोच मानेका सहकर्मीहरुसँग सल्लाह गर्दथ्यौँ, ‘राजाले रिबन काटेका समाचारका दिन गए। अब शीर्ष नेताले भाषण छाँटेका वाक्य प्रमुख समाचार बन्ने दिन पनि जान्छन्। व्यक्ति होइन, मुद्दा केन्द्रमा ल्याउने दिन आउनु पर्छ।’

सर्लाहीमा रिपोर्टिङको क्रममा काम सकिएपछि स्थानीय सहकर्मी साथी औंला भाँच्न थाल्थे र भन्थे, ‘एक मुसहर, अर्को खान, तीन जना महिला, दुई पुरुष । रिपोर्ट त यसरी थाहा नपाइ समावेशी हुने रै’छ। म त सोच्थेँ, समावेशी भनेको यही शीर्षकमा कुनै छुट्टै निबन्ध लेख्ने होला। नत्र उही साथिभाइ र चियापसलमा राजनीति छाँटिरहेका मानिसहरुबीच गयो। खै ल भनम त भन्यो, दुईचार कुरा बोलिहाल्छन्, बनिहाल्यो रिपोर्ट। देशको नम्बर वन पत्रिकामा छापिन्छ, खेल खत्तम। सर्वसाधारणको बोली त उस्तै केही घटनामा उनीहरु पीडित भए आउने न हो।’

उस्तै टिप्पणी थियो वीरगञ्जका साथीको पनि। यी मानिस जो दिनदिनै आफ्नो काममा व्यस्त छन्। उनीहरु देशका मूल राजनीतिमा यस्तो प्रष्ट विचार राख्न सक्छन् भन्ने त सोचिएकै थिएन। अझ महिलाको त परको कुरा भयो। मैले पनि उनलाई व्यंग्य गरेँ, ‘वीरगञ्जको स्वर त सँधै एउटै मान्छेबाट सुनिन्छ। खोइ यहाँ अरु आवाज छैनन्?’ सहकर्मी मित्र वीरगन्जको विविध स्वर राष्ट्रिय सञ्चारमाध्यममा ल्याउन कटिबद्ध हुनुहुन्छ।

समावेशी सिद्धान्तले पछाडि परेका मानिस कुनै केसको उदाहरण मात्र होइनन्, आफैँ विचारका प्रतिनिधि पनि हुन् भन्छ। एउटा गोरे आएर गाउँमा गएर कृषिबारे बोले ऊ विशेषज्ञ, सत्र घन्टासम्म खेतबारीमा खट्ने, खेतीका अनेक काइदा जानेका हाम्रा आमा दिदीबहिनीहरु फगत निरीह पात्र। उनीहरु किसान बनेर विचार कहिले दिने?

लोकतन्त्र आएलगत्तै काठमाडौँमा पछाडि पारिएका जात, समूह र क्षेत्रको आवाज टड्कारो हुँदै गयो। एउटा बेग्लै जोश थियो। विविध आवाजहरुले अर्कै भाइब्रेसन दिएको थियो सहरलाई। म एउटा कार्यक्रममा गएँ। पछाडि पारिएको भौगोलिक क्षेत्रका मानिसहरुको कार्यक्रम। हल खचाखच थियो। दुर्गम जिल्लाका प्रतिनिधिहरु बोलिरहेका थिए।

एकजना महिला दर्शकदीर्घाबाट हात उठाएको उठायै थिइन्। उनको पालो आएन। कार्यक्रम सकियो। मैले उनलाई भेटेँ। एउटा कुना च्यापेर उनका सबै कुरा रेकर्ड गरेँ। कार्यक्रममा बोल्न नपाए पनि रेडियोमा उनको आवाज आँउछ भनेपछि धेरै खुसी भइन्।

काठमाडौँमा लगातार उही मानिसका उस्तै विचार दशकौँसम्म विभिन्न फोरम र मिडियामा देखिन थाल्यो। जिल्लाबाट आएर काठमाडौँका गल्लीगल्लीमा संघर्ष गर्दै भौँतारिएका मानिसहरु काठमाडौँका एलिटमा दर्ज भए। आफ्नो जिल्लामा मुखियागिरी गर्ने तप्का संधै पछाडि परेका मानिसको प्रतिनिधि बनेर उभिन थाले। जिल्लाको रेडियो, काठमाडौँको पत्रिकाको संवाददाता, जिल्लाका स्कुलको पदाधिकारी, सर्वदलीय संयन्त्रको सदस्य लगायतका मञ्चमा उही एक अनुहार उभिने रहेछ। काठमाडौँमा पनि उनै बोलेका छन्। जिल्लामा उनकै रवाफ। कोही रिपोर्टर जान्छ, उही वर्षौँदेखि बोलिरहेकै मानिसको स्वर लिएर आँउछ। जिल्लामै बस्नेको त यो ताल छ। आफ्नो जिल्ला दशकौँ नटेक्ने पनि लगातार प्रतिनिधि स्वर। समावेशिताको आडमा समावेशी स्वरहरु माथि नै अन्याय हो यो।

चिनेका मानिसहरुकै यो रवाफ प्रत्यक्ष देखेपछि जिल्ला जिल्लामा अरु मानिसका विचार खोज्ने प्रयत्नमा लागेँ। हामीले यहाँबाट हेरेको, पत्रिकामा पढेको र सुनिरहेको विश्लेषणभन्दा तरोताजा हुँदोरै’छ। यस्ता स्वर टिपेर आउने र पत्रिकामा पेस गर्न थालेपछि काठमाडौँका कार्यक्रममा निम्तो पातलियो। जब उनीहरुका आवाज हाम्रा कार्यक्रमको लागि सामग्री बन्थ्यो, त्यो बेला भन्थे, ‘सञ्चो नभए सिटामोल खाएर भए पनि आउनुस्।’ जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका बिचौलियाहरुलाई अब रिस उठाउने बेला भएको छ।

‘जिल्ला गएर मान्छेहरुसँग गफ गर्न अल्छी लाग्दैन? मलाई त झर्को लाग्छ।’ एक टिप्पणी। ‘दार्चुला जान आँटेको, उडुसको डर लाग्दैन?’ अर्को टिप्पणी। यी दुवै मैले प्रत्यक्ष सुनेका कुरा हुन्। सामाजिक संजालमा यिनै दुई टिप्पणीकर्ता खरो अभियन्ता। म त जिल खाँदै गएँ। र मोहभंग हुँदै पनि गयो।

कर्णालीका जिल्लामा काम गरेर फर्केपछि र अरु पनि जिल्ला घुमेर लेख्न थालेपछि मलाई केहि फोरमहरुमा बोल्ने प्रस्ताव आउन थाल्यो। विषय के भनेर म सोध्थेँ। उत्तर, ‘महिला पत्रकारका दुःखपीडा।’ मसँग दुःख, पीडा, रमाइला, अनौठा सबै अनुभूति छन्। यस्तो प्रस्तावप्रति कृतज्ञ छु। दशौँ वर्ष पटकपटक मेरा पाइतालाले टेकेको, देखेको, सुनेको समाजबारे विचार पनि छ। पीडाको कथा मेरो हुने, त्यही विषयमा समाजशास्त्रीय चिन्तनवाला विचार चाहिँ अरु कसैले दिने?

वैचारिक इतिहासको हिस्सा हाम्रा जिजुआमाहरु बनेनन्, जति बन्नु पर्दथ्यो। हामी पनि फड्के किनाराका साक्षी मात्र। भगवान गौतम बुद्ध र अर्को निर्वाण प्राप्त गरेको व्यक्तिको त निर्वाणबारे फरक अनुभूति हुन सक्छ भने हामीले चाहिँ आफू र आफ्नो समाजबारे बताउन सँधै अर्काको अवधारणा सापटी लिनु पर्ने? हामीले बोल्यो कि कसैले सिकाएकै हुने? हाम्रो निजी राजनीतिक विचार पनि सँधै अर्काको ‘इशारामा’ नै हुने? यो त भएन नि!

हाम्रो मौलिक अवधारणामा विश्वास गर्न ढिला भयो। विचार जमे समाज अशुद्ध पोखरी बन्ला। विचार बगे स्वच्छ नदी।

प्रकाशित १० असार २०७४, शनिबार | 2017-06-24 10:23:10
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...