ब्लग

गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

सीमान्तका पक्षमा लेखेर लामो समय बिताएका संग्रौलालाई गाली गर्नेहरू छोटो उमेरका युवा धेरै छन्



खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

संग्रौलाले ‘भतिज दीपेन्द्र’सँग माफ मागिरहँदा, ज्ञानेन्द्रका खोपी डायरी लेखिरहँदा मदिराविरोधी मिष्टभाषीहरू कता थिए?

खगेन्द्र संग्रौलाको निबन्ध सङ्ग्रह ‘सम्झनाका कुइनेटाहरू’को पाँचौं संस्करणको बाहिरी पातोमा ‘युवा नेता’ गगन थापाको भनाइ छ (अघिल्ला संस्करणमा पनि हुनसक्छ, तर मसँग उपलब्ध छैन), जहाँ उनले भनेका छन्–

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदोरहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ।

जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए। उहाँको लेखले मलाई कहिले संरचनाको पिँधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसंख्यक भाषी बन्न सिकायो। मेरा निम्ति मेरो परिवारले, मेरा गुरूकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र बिलिन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थालेँ।
...
‘खगेन्द्र संग्रौलाको काँध’ शीर्षकको कवितामा विनोदविक्रम केसीको एक अंश यस्तो छः

तिमीसँग एक झिल्को मात्र भए पनि
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र संग्रौलको एक थान काँध।
...
खासमा खगेन्द्र संग्रौला को हुन् भनेर बुझ्न यी दुई उद्धरण उपयोगी छन्। यद्यपि, उनको लेखनलाई सकारात्मक मूल्याङ्कन मात्रै गरिनुपर्छ भन्ने होइन, तर उनको लेखन क्षमतालाई थापाको प्रतिक्रिया र उनको विचारको निरन्तरतालाई केसीको कविताले धेरै हदसम्म पुष्टि गर्छ।

उनै संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। विशेषतः गरिब, दलित, मजदुर, मधेसी, महिलालगायत सीमान्तकृतका पक्षमा लेखेर जीवनको लामो समय बिताएका संग्रौलालाई गाली गर्नेहरू भने अधिकांश छोटो उमेरका युवा हुने गर्छन्। तिनीहरूमा प्रायः एकैथरि भाषा र शब्द पाइन्छन्। हिंसाको पक्षपोषण गरेको, भारतीय दूतावासको भाषा बोलेको, रक्सी खाएर लेखेको जस्ता आरोप उनलाई लगाइन्छ। तर, उनको लेखनको अन्तर्य र क्षमता बुझेर धेरै कमले मात्रै प्रतिक्रिया दिन्छन्।

संग्रौलामात्रै होइन, गाली खाने त अरू धेरै छन्। उनी गाली खानेमध्येका एक उत्कर्ष मात्रै हुन्।

केही समयअघिसम्म लेखकलाई गाली गर्ने सहज उपलब्धता थिएन। उनीहरूलाई पत्रिका वा पुस्तकका पानाहरूमा मात्रै पढ्न पाइन्थ्यो। बढीमा हस्तलिखित पाठकपत्र पठाउने चलन थियो, तर छापिने–नछापिने ग्यारेन्टी हुन्थेन। आजकाल सामाजिक सञ्जालले लेखकसँग पाठकको पहुँच सहज बनाइदिएको छ। पहुँच मात्रै होइन, उनीहरूप्रति प्रतिक्रिया जनाउन पनि सहज छ। सामाजिक सञ्जाल गाली–मञ्च भएको छ, जसले गर्दा आफूलाई मन नपर्ने वा रिस पोख्नुपर्ने जोसुकैलाई गाली गरिदिन र आफ्ना केही सर्कलमाझ त्यही गालीको रवाफ देखाउने सुविधा छ।

एउटा म्यागेजिनसँग लेखक युग पाठकले भनेका थिए, ‘मैले लेखेको कुरा चित्त नबुझ्नेमध्ये केहीले मलाई अनर्गल गाली पनि गर्ने गरेका छन्। तिनै मान्छे मेरा अघिल्तिर परे भने त्यसो गर्न सक्दैनन्।’ सामाजिक सञ्जालमा कमै सक्रिय पाठक गाली खानेमा भने अग्रस्थानमा छन्। भारतीय स्वार्थसँग जोडिएको भनिने तत्कालीन मधेसी मोर्चाले गरेको नाकाबन्दीलाई समर्थन नगरेका यी लेखक (युग पाठक)लाई गाली गर्नेहरू चाहिँ नाकाबन्दीकै मतियार भन्ठान्छन्। यसमा व्यक्तिप्रति रहेको पुरानै धारणा व्यक्त भएको पुष्टि हुन्छ।

पछिल्लो समय देशले नयाँ गतिको अभ्यास गर्दैछ। यो गतिमा धेरै खुसी देखिँदैन। देश पहिले नै ठीक थियो भन्नेहरू पनि छन्। कतिलाई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता मन परेको छैन, समानुपातिक समावेशी र सीमान्तकृतको प्रतिनिधित्वको बाध्यकारी व्यवस्था मन परेको छैन। महिला, दलित वा सीमान्तकृतका लागि भइरहेको सशक्तिकरणका नयाँ बहस र प्रयास मन परिरहेको छैन। त्यसैले त उनीहरूको निरन्तरको असन्तुष्टि सामाजिक सञ्जालमा प्रस्फुटित भइरहेको पाइन्छ। निश्चय पनि यसमा उच्च र मध्यमवर्गीय मानिस धेरै छन्। र, मुख्यतः देशको नयाँ गतिमा सबैभन्दा बढी गुमाउनुपर्ने, अर्कोलाई अवसर छाड्नुपर्ने र सबैभन्दा बढी सम्झौता गर्नुपर्ने वर्ग त्यहाँ छ। त्यसकारण सामाजिक सञ्जालमा उनीहरूको छटपटाहट देख्न पाइन्छ।

परिवर्तनका मुद्दा निरन्तर बोकिरहने, बहसको केन्द्रमा ल्याएर झक्झकाइरहने व्यक्तिहरू कम छन्। उनीहरू पुस्तकमा, लेखमा, फेसबुक वा ट्वीटरमा आफ्ना मत राखिरहेका छन्। सँगसँगै असन्तुष्ट वर्ग पनि निरन्तर गाली गरिरहेकै छ, आफ्नो छटपटाहट पोखिरहेको छ। लेखकले के भनिरहेछन्, के लेखिरहेछन् भनेर विषयवस्तुमा ध्यान दिनेभन्दा पनि उनीहरूप्रति रहेको आग्रह छरपष्ट पार्न उद्यत छन्। यसका लागि एक–एकवटा आरोपका शब्दावली सुरक्षित राखिरहेका छन् र त्यस्ता लेखक बोले वा लेखे भने त्यस्ता आग्रहहरू कपी–पेस्ट गरिहाल्छन्।

खगेन्द्र संग्रौलाहरू बोले भने भनिन्छः उनी मदिराको तालमा बोले। उज्ज्वल प्रसाईं, युग पाठक र सीके लालहरू बोले भने भनिन्छः भारतीइ दूतावासको पैसा खाएर बोले। को बोल्यो भने के आरोप लगाइदिने फाइल पहिल्यै तयार छ। कतिपय लेखकका बानी, आबद्धता र मानवीय कमजोरीको समेत लगत सुरक्षित छ।

यस्ता गालीबाजहरू तथ्यलाई तथ्यकै आधारमा काट्ने हिम्मत गर्दैनन्। नयाँ मुद्दालाई अध्यनन आधारमा जाँच्ने कष्ट पनि ती गर्दैनन्। तिनलाई थाहा छ, त्यसको लागि निरन्तरको अध्ययन र ठूलो छाती चाहिन्छ। यो काम कुनै नेताले सिकाएको र भाषणमा प्रयोग गरिदिएको छुद्र बोलीलाई दोहो¥याउनु जति सजिलो छैन। अरूलाई आरोपित गरेर आफूलाई जान्नेसुन्ने ठानेजस्तो सजिलो पनि छैन।

उनीहरू स्वीकार्ने प्रयत्न गर्दैनन्, तर गाली खाईखाई कैयौं मुद्दाहरू राज्यकै मूल कार्यान्वयनमा गइसकेका छन्। गालीकै बीचमा कैयौं नयाँ पीपल उम्रिरहेका छन्।

कहिलेकाहीँ सोध्न मन लाग्छ, ०५८ सालमा देशमा मूर्दा शान्ति छाउँदा रक्सी नखानेहरू कता लुकेका थिए? अहिलेका भजनशिरोमणी कुन दुलामा निदाइरहेका थिए? वृद्ध संग्रौलाले ‘भतिज दीपेन्द्र’सँग माफ मागिरहँदा, ज्ञानेन्द्रका खोपी डायरी लेखिरहँदा मदिराविरोधी मिष्टभाषीहरू कता थिए?

सडकमा सम्बोधन गर्दै खगेन्द्र संग्रौला

सडकमा सम्बोधन गर्दै खगेन्द्र संग्रौला

मधेसका चिच्याहट र सीमान्तकृतका आर्तनादहरू अहिले आलोचित र किनारीकृत नै छन्। कुनैबेला जब ती नयाँ आवाज राज्यका मूल मुद्दा बन्छन्, अहिलेका कैयौं गालीबाजहरू फेरि साखुल्ले पल्टन थाल्नेछन्। मधेस मूलधारमा रूपान्तर भइसकेपछि नक्कली योगदान र गाथा लेखनमा ती लाग्नेछन्। जसरी नवगणतन्त्रवादीहरू अहिले चमचमाइरहेका छन्, उसैगरी त्यतिबेला चमचमाउनेछन्।

अहिलेको गाली खेती हेर्न लायक छ। सीमान्तकृत र आवाजविहीनको पक्षमा निरन्तर बोल्नेहरूलाई आरोपित गरेको दृश्य हेर्न लायकै छ। संग्रौलादेखि सिके लालहरू आज पनि अल्पसङ्ख्यक र काम गरिखाने वर्गको प्रश्न तथ्यसहित शासकलाई सुनाइरहेका छन्। उनीहरू मुद्दाका वाहक बनिरहेका छन्, जटिल मुद्दालाई सबैले बुझ्ने भाषामा अभिव्यक्त गरिहेका छन्। हो, शासकलाई प्रश्न मन पर्दैन। के सामाजिक सञ्जालमा उनीहरूलाई गाली गर्नेहरू पनि शासक नै हुन्?
...
गाई–निबन्धको एउटा सन्दर्भ छः कुनै विद्यार्थीले परीक्षाको तयारीस्वरूप गाईबारे निबन्ध घोकेर गएछ। गाईका चार खुट्टा हुन्छन्, दुई कान र दुई आँखा हुन्छन्, यसले दुध दिन्छ, दुध पोषिलो हुन्छ...।

तर, परीक्षामा आएछ, घरबारे निबन्ध लेख्न। उसले यसरी निबन्ध लेख्न सुरू गर्‍योः हाम्रो घर काठ र माटोले बनेको छु। घर दुईतले छ। माथिल्लो तलामा जान बाहिर भर्‍याङ छ। भर्‍याङबाट गोठ देखिन्छ। गोठमा गाई छ। गाईका चार खुट्टा हुन्छन्, दुई कान र दुई आँखा हुन्छन्, यसले दुध दिन्छ, दुध पोषिलो हुन्छ...।

अहिलेको सामाजिक सञ्जालमा हुने गाली चलन पनि गाई निबन्धकै पाराको छ। अर्थात्, बहसको मुद्दा नबुझी वा बुझ्ने प्रयत्नै नगरी पुराना धारणा र ज्ञानका आधारमा आफ्ना पूर्वाग्रह छताछुल्ल पार्ने उपक्रम सामाजिक सञ्जालमा निरन्तर चलिरहेको छ। बहसको विषय जेसुकै होस्, नयाँ तथ्य जेसुकै पत्ता लागुन् धेरैलाई मतलब छैन। तर, कसका बारेमा के भन्नुपर्छ, त्यो चाहिँ तयार छ।
...
गाई–निबन्धे पाराबाहेकको अर्को धारामा हिँड्नेहरू पनि यहाँ छन्। त्यस्ता प्रयोगकर्ताहरू भने मुद्दा बुझेर स्वस्थ बहस गर्छन्। लेखकलाई स्वस्थ प्रतिक्रिया दिन्छन्, भद्र असहमति पनि राख्छन्। हाम्रो समाजका सौन्दर्य तिनै हुन्, बदलिँदो समयका वाहक तिनै हुन्। तिनीहरूप्रति चाहिँ नमन!

प्रकाशित २ असार २०७४, शुक्रबार | 2017-06-16 11:34:04
author photo

किशोर दहाल 'जिउँदो मान्छे' ब्लग चलाउँछन्

@kishu_gb123 ‏


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...