ad ad

छापा खबर


वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु

वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु

नेपालखबर
असार २, २०७६ सोमबार २३:२९,

वैदेशिक रोजगारमा गएकाहरुमा ज्यान गुमाउनेको संख्या उच्च रहेको छ।

मलेसिया, साउदी अरेबिया, कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ।

मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुविना आचार्यले लेखेकी छन्।

वैदेशिक रोजगारका लागि विदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् । तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन्।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर करार अवधिभित्र ज्यान गुमाउनेको संख्या ६ सय ६६ रहेको छ।

गत साउनदेखि जेठ महिनासम्म सबैभन्दा धेरै मलेसियामा २ सय ६ जना कामदारले ज्यान गुमाएको बोर्डले जनाएको छ । यस्तै साउदी अरेबियामा १ सय ७७ र कतारमा १ सय १९ कामदारले ज्यान गुमाएको तथ्यांक बोर्डसँग छ । पछिल्ला वर्षहरूमा यो दर बढदो रहेको सुवेदीले बताए।

पछिल्ला तीन वर्षको तथ्यांक केलाउने हो भने विदेशी भूमिमा ज्यान गुमाउने कामदार आर्थिक वर्ष २०७२–७३ मा ८ सय १६ छन् । आर्थिक वर्ष २०७३–७४ मा यो संख्या थोरै घटेर ७ सय ५६ पुगेको भए पनि आर्थिक वर्ष २०७४–७५ मा यो संख्या बढेर पुनः ८ सय २१ पुगेको छ।

यी मुलुकमा जाने अधिकांश जनशक्ति अदक्ष हुने हुँदा अरूको तुलनामा यी मुलुकमा मृत्यु हुनेको संख्या बढी रहेको सुवेदीले बताए । ‘नेपाली श्रमिक विदेशमा जोखिमयुक्त काम गर्न बाध्य हुन्छन्, तर त्यो अनुसारको सावधानी अपनाउन प्रशिक्षण दिने काम भएको छैन,’ उनले बताए ।

नेपालले अहिले १ सय ७२ मुलुकसँग श्रम स्वीकृति लिई संस्थागत एवं व्यक्तिगत रूपमा कामदार पठाइरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा ३ लाख १२ हजार ७ सय ४९ नेपाली श्रम स्वीकृति लिएर बिदेसिएको रोजगार विभागको तथ्यांक छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७४–७५ मा कतारमा १ लाख ८३ हजार ५ सय ४२, साउदी अरबमा १ लाख ८ हजार ४ सय १४, मलेसियामा १ लाख ३७ हजार ३ सय ११ छन् भने यूएईमा १ लाख १४ हजार ९ सय ४१ रोजगारीका लागि गएका छन् ।

‘वैदेशिक रोजगारीको क्षेत्रमा यो गम्भीर चुनौती हो,’ सुवेदीले बताए । तर के कारणले कामदारले ज्यान गुमाइरहेका छन् त्यसको भने अध्ययनै नभएको सुवेदी बताउँछन् । ‘मृत्युदर घटाउन अनुसन्धानमार्फत यसको प्रमुख कारक पत्ता लगाउनुपर्छ तर त्यसका लागि अध्ययन नै सुरु भएको छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .