ad ad

छापा खबर


राजेन्द्र महतोले छाडे महन्थ ठाकुरको साथ, जसपामा ओलीलाई विश्वासको मत नदिने लाइन बहुमतमा

राजेन्द्र महतोले छाडे महन्थ ठाकुरको साथ, जसपामा ओलीलाई विश्वासको मत नदिने लाइन बहुमतमा

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १:२८,

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् ।

पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् ।

ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् । उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन् । जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् ।

पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन् । यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए।

महतो निकट एक नेताका अनुसार ओली सरकारलाई विश्वासको मत दिन कि नदिने भन्ने विषयमा मतदान हुँदा तटस्थ बस्नुपर्ने लाइनमा महतो छन् । पार्टी फुट्नबाट जोगाउन तटस्थ बस्नुपर्ने महतोको धारणा रहेको ती नेताको भनाइ छ ।

ओली सरकारले जसपाका सबै माग पूरा नगरेकाले सरकारलाई साथ दिनै पर्ने बाध्यता नभएको महतो पक्षधर नेताहरूको भनाइ छ । ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउन पहल नगरेपछि उनी टाढिएको महतो पक्षधर नेताहरूको भनाइ छ ।

पूर्व राजपा र पूर्व समाजवादीबीच एकीकरण हुँदा महतोलाई संसदीय दलको नेता बनाउने मौखिक सहमति भएको उनीहरूको दाबी छ । तर अहिले महतोलाई दलको नेता बनाउन ठाकुरले चासो नदिएको, बरु उल्टै आफैं दलको नेता हुन चाहेको महतो पक्षधर नेताहरूको भनाइ छ।

जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार र रेसम चौधरी निलम्वित अवस्थामा छन् । बाँकी ३२ सांसदमा १६ जना पूर्व राजपा र १६ जना पूर्व समाजवादीका हुन् । पूर्व राजपाका सांसद महेन्द्र यादव सरकार ढाल्नुपर्ने लाइनमा उभिएका छन । महतो, भण्डारी र राउत तटस्थ बस्ने सम्भावना रहेको जसपा स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘यो दुई दिनमा परिस्थिति फेरिएर ओलीलाई श्विासको मत नदिने लाइनमा ३ सांसद उभिन सक्छन् ।’ जसपा कार्यकारिणी समिति सदस्य रमेश यादवले ओली सरकार ढाल्नुपर्छ भन्ने लाइनमा पार्टीका बहमुत सांसद र कार्यकारिणी समितिका बहुमत सदस्य रहेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .