ad ad

छापा खबर


हेलिकोप्टर कम्पनीको अत्याचार, आफैँले तोकेको भाडाभन्दा दुई-तीन लाख बढी असुली

हेलिकोप्टर कम्पनीको अत्याचार, आफैँले तोकेको भाडाभन्दा दुई-तीन लाख बढी असुली

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार २३:४१,

महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई कोभिड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौंबाट हेलिकोप्टर मगाइयो ।

उनलाई राजधानी पु¥याउन हेलिकोप्टर भाडा मात्र नौ लाख लाग्यो । काठमाडौंको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहेका छन् ।

न्यायाधीश भएकाले हेलिकोप्टरमा लागेको नौ लाख भाडा सरकारले तिरेको छ । तर, विपन्न जनताले यत्रो पैसा कहाँबाट तिर्ने? यसै पनि कञ्चनपुरबाट काठमाडौँ सम्मको हेलिकोप्टर भाडा ६ हजार पाँच सय डलर (सात लाख ६७ हजार) तोकिएको छ ।

तर, विमानसेवा सञ्चालक संघ आफैँले तोकेकोभन्दा डेढ बढी लाख भाडा असुल गरेर हेलिकोप्टर कम्पनीहरूले जनतामाथि अत्याचार गरिरहेका छन् । उपचारबाट हात झिकेको सरकार हेलिकोप्टर कम्पनीले उद्धारका नाममा अत्याचार गर्दा मूकदर्शक बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

कञ्चनपुरकै भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरका स्थानीय एवं कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डा. राजकुमार साउदलाई पनि कोरोना संक्रमण भयो । होम आइसोलेसनमा बसेका उनी गम्भीर भएपछि गत सोमबार मात्र उनलाई लिन काठमाडौंबाट हेलिकोप्टर मगाइयो, भाडा उठाइएको छ– ९ लाख १५ हजार ।

यस्तै वैशाख तेस्रो साता भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका स्थानीय एवं एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोकविक्रम जैरूलाई समेत नेपालगन्जबाट काठमाडौं लग्न श्री एयरले साढे ६ लाख भाडा लियो । जब कि संघले नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार हजार डलर (चार लाख ७२ हजार रुपैयाँ( तोकेको छ ।

पूर्वखानेपानी राज्यमन्त्री दिनेशचन्द्र यादवलाई गत पुसमा कोरोना संक्रमण भयो । उपचारका लागि उनलाई भेरी अस्पतालमा भर्ना गरियो, तर निको भएनन् । राष्ट्रिय भूमि समस्या समाधान आयोगका सदस्यसमेत रहेका उनलाई पनि हेलिकोप्टरमा काठमाडौंस्थित ग्रान्डी अस्पताल लगियो । १ माघमा अस्पतालमै उनको निधन भयो।

हेलिकोप्टरले भाडाबापत मात्र आठ लाख लिएको पूर्वराज्यमन्त्रीका आफन्त कैलाश यादवले बताए । नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार लाख तोकिएकोमा कसैसँग ६ लाख र कसैसँग आठ लाखसम्म असुल गरिएको छ । ‘हामीसँग आठ लाख मागिएको थियो, तर हेलिकोप्टर भाडा र सम्पूर्ण औषधि–उपचार खर्च सरकारले व्यहो¥यो,’ कैलाशले भने।

पूर्वराज्यमन्त्री र अहिले भूमि समस्या समाधान आयोगका सदस्य भएकाले यादवको उद्धारमा भएको हेलिकोप्टरको भाडा पनि सरकारले ति¥यो । तर, सबै जनता यति भाग्यमानी हुँदैनन् । सर्वसाधारण त घरमा बसे ज्यान जाने, उपचार गर्न गए घरबार जाने अवस्थामा छन्।

सुर्खेतका जीवराज गिरीलाई केही समयअघि कोरोना संक्रमण पुष्टि भयो । स्वास्थ्य प्रतिकूल भएपछि आफन्तले नेपालगन्ज लगे । त्यहाँ पनि उपचार हुन नसकेपछि परिवारका सदस्यले हेलिकोप्टरमार्फत काठमाडौं पु¥याए । तर, उपचारको क्रममा ग्रान्डी अस्पतालमा उनको मृत्यु भयो ।

जीवराजको जीवन जोगाउने प्रयासमा हेलिकोप्टर र अस्पतालको बिल गरेर ५० लाख खर्च भएको परिवारजनले बताए । तैपनि उनको जीवन रक्षा भएन । आफन्त राजेन्द्र गिरीको उपचारमा लागेको ऋण तिर्न उनीहरूले जग्गा बेचेका छन् ।

सल्यानको शारदा नगरपालिका घर भएका संक्रमित इन्द्रबहादुर खड्कालाई सास फेर्न गाह्रो भएपछि परिवारले पाँच दिनअघि दाङस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याएका थिए । तर, त्यहाँ पनि उपचार हुन नसकेपछि गत मंगलबार थप उपचारका लागि काठमाडौं पु¥याउनुपर्ने भयो । खड्काका आफन्तले श्री एयरमा सम्पर्क गरे । श्रीले सुरुमा सात लाख ५० हजार भाडा भन्यो । जब कि भाडादर तोकिएको छ– चार लाख १३ हजार ।

विपन्न परिवारले भाडा निकै महँगो भएको भन्दै ‘अत्याचार नगर्न’ बिन्ती ग¥यो । ‘बार्गेनिङ’पछि श्रीले ६ लाखभन्दा एक रुपैयाँ पनि नघट्ने अडान राख्यो । यो रकम पनि चल्तीको भाडाभन्दा करिब दुई लाख महँगो हो । तर, पीडित परिवारसँग कुनै विकल्प थिएन, ६ लाख तिर्ने गरी जीवनमरणको दोसाँधमा रहेका खड्कालाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नहुँदै उनको प्राण उड्यो ।

‘भाडा अत्यन्तै महँगो हो भन्ने थाहा थियो, तर हेलिकोप्टर चढ्नुको विकल्प पनि थिएन । यति गरेर पनि हाम्रो बिरामीलाई बचाउन सकिएन,’ मृृतक खड्काका आफन्त मनोज सिंहले भने, ‘जनतालाई महामारीबाट ज्यान जोगाउनै मुस्किल भएको छ, तर यस्तो वेला पनि हेलिकोप्टर कम्पनीहरूले सर्वसाधारणको ढाड सेकिरहेका छन् । यो त कालोबजारी हो । सरकारले के हेरिरहेको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .