ad ad

छापा खबर


यी हुन् कोरोनाविरुद्ध आशा जगाउने ७ भ्याक्सिन

यी हुन् कोरोनाविरुद्ध आशा जगाउने ७ भ्याक्सिन

नेपालखबर
असोज १, २०७७ बिहिबार ३:३३,

कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रूपमा फैलिएको ६ महिना पुगिसकेको छ । नेपालसहित धेरै देशमा संक्रमण अझै फैलँदो अवस्थामा छ।

संक्रमण घटेको देशमा पनि भाइरस पूर्णरूपमा हटिसकेको छैन । कोरोना भाइरस संक्रमण फैलावट रोक्न भ्याक्सिन नै अन्तिम उपाय देखिएको छ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणका लागि विभिन्न देशले औषधि कम्पनीसँगको सहकार्यमा काम पनि गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हाल एक सय ६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा छन्।

जसमध्ये २६ वटा भ्याक्सिन मानव शरीरमाथिको परीक्षणमा छन् । न्युयोर्क टाइम्सले भने ३८ वटा भ्याक्सिन मानव शरीरमाथिको क्लिनिकल परीक्षणमा रहेको दाबी गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र गुरुङले लेखेका छन्।

माडोना, अमेरिका तेस्रो चरणको परीक्षणमा
अमेरिकाको म्यासाचुट्सस्थित माडोना कम्पनीले गत जनवरीबाटै कोरोनाविरुद्धको भ्याक्सिन निर्माण थालेको हो । माडोनाको प्रयासलाई त्यहाँको राज्य सरकारले आर्थिक सहयोग गरेको छ। सरकारबाट भ्याक्सिन निर्माणका लागि माडोनाले सुरुवातमै एक अर्ब डलर सहयोग प्राप्त गरिसकेको छ। राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा माडोनाले भ्याक्सिन निर्माण गरिरहेको हो । सुरुवाती परीक्षणमा माडोनाले निर्माण गरिरहेको भ्याक्सिनले बाँदरलाई कोरोना भाइरसबाट बचाएको थियो।

गमलेया रिसर्च इन्स्टिच्युट, रुस
तेस्रो चरणको परीक्षणसँगै प्रयोगका लागि रुसी सरकारबाट अनुमति प्राप्त रुसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको गमलेया रिसर्च इन्स्टिच्युटले उत्पादन गरेको यो भ्याक्सिन अन्तिम चरणमा पुगेको छ । दुई एडिनोभाइरस (एडी–५ र एडी–२६) मिलाएर बनाइएको ‘स्पुतनिक फाइभ’ नाम दिइएको भ्याक्सिनलाई रुस सरकारले प्रयोगका लागि अनुमतिसमेत दिइसकेको छ। गत ११ अगस्टमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन प्रयोगका लागि अनुमति दिइएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण अझै जारी छ ।

क्यान्सिनो, चीन
चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले एडिनो भाइरस (एडी–५) मा आधारित भ्याक्सिन निर्माण गरिरहेको छ । चीनको मिलिटरी मेडिकल साइन्स एकेडेमीसँगको सहकार्यमा क्यान्सिनोले निर्माण गरिरहेको यो भाइरस तेस्रो चरणको परीक्षणमा छ । तेस्रो चरणको परीक्षण पूरा नहुँदै चीनको सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ।

कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन
चीनको निजी कम्पनी सिनोभाक बायोटेकले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । उसले निर्माण गरिरहेको भ्याक्सिनलाई कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन नाम दिइएको छ। यो भ्याक्सिन केही ठाउँमा तेस्रो चरणको परीक्षणसमेत सकिएको छ र चीन सरकारले सीमित क्षेत्रमा प्रयोगका लागि अनुमति दिएको छ।

न्यु क्राउन कोभिड–१९ भ्याक्सिन
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरेको यो भ्याक्सिन परीक्षणको जिम्मा चीनको सरकारी कम्पनी सिनोफार्मले लिएको छ । यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणले राम्रो संकेत देखाएको छ । भ्याक्सिनले शरीरमा ‘एन्टिबडी’ निर्माण गरेको पाइएको छ।

सिनोफार्म, चीन
चीनको सरकारी निकाय सिनोफार्मले अर्को भ्याक्सिनको पनि परीक्षण गरिरहेको छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निष्क्रिय पारिएको भाइरसलाई प्रयोग गरी निर्माण गरिएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ।

बिसिजी लाइभ एटिनउटेड भ्याक्सिन
अस्ट्रेलियाको मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटले यसअघि नै बनेको पुरानो भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने उद्देश्यका लागि परीक्षण गरिरहेको छ। बेसिलस कल्मेटी गुइरिन नामक भ्याक्सिन सन् १९०० को सुरुवाततिर निर्माण भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .