छापा खबर


को आदिवासी ? को खस-आर्य ?

को आदिवासी ? को खस-आर्य ?

नेपालखबर
काठमाडौं, साउन १

जाति/राष्ट्रियताको कुरा गर्दा अक्सर ‘आदिवासी’ भन्ने शब्दले सबैलाई झस्काउँछ।

कुनै पनि देशमा बस्ने को आदिवासी हो र होइन भन्ने विवाद संवेदनशील छ। आजको नयाँ पत्रिकामा समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लेख्छन्-

सामान्यतया आदिवासी भनेको त्यो भूगोलमा सबभन्दा पहिले बसोवास गर्ने जाति, समुदाय अथवा त्यो राज्य निर्माण हुँदाका बखत त्यहाँ बसोवास गर्ने जाति या राष्ट्रियता भन्ने बुझिन्छ । त्यस हिसाबले नेपालका प्रमुख जातिहरू देशका तीन फरक क्षेत्रका आदिवासी हुन् ।

सम्भवतः सबभन्दा पुरानो आदिवासी तराईरमधेसको चुरेभावर क्षेत्रमा बसोवास गर्ने थारूलगायत अस्ट्रो द्रबिड मूलका जाति, भाषिक समुदाय हुन् । त्यसरी नै गण्डक पूर्वको पहाडमा बसोवास गर्ने आदिवासी जनजाति भनिने किराँत समुदाय त्यस क्षेत्रका आदिवासी हुन् ।

त्यस्तै कालीगण्डकीदेखि पश्चिममा बसोवास गर्ने खसहरू त्यो क्षेत्रका आदिवासी हुन् । उनीहरू सबैको इतिहास करिब पाँच हजार वर्षभन्दा पुरानो मान्न सकिन्छ ।

अहिलेको तराईरमधेसमा रहने मधेसी रामायणकालदेखि अथवा बुद्धको कालदेखि त्यहाँ बसोवास गर्दै आएको प्रस्ट हुन्छ । रामायण र बुद्धकाल भनेको आजभन्दा २५ सय वर्षपहिलेको अर्थात् इसापूर्व पाँच सय वर्ष पुरानो कालखण्ड हो । त्यतिवेलादेखि मधेसी त्यस क्षेत्रमा बसोवास गर्छन् भन्ने प्रामाणिक रूपमा स्थापित छ ।

त्यसरी नै जसलाई हामी ‘आर्य’ भन्छौँ, उनीहरू भारतमा मुस्लिमको आक्रमणपछि त्यहाँबाट विस्थापित भएर ११औँ देखि १४औँ शताब्दीसम्म नेपालको पश्चिम पहाडमा प्रवेश गरेको पाइन्छ । यस हिसाबले हेर्दा कालीगण्डकी पश्चिमका जुन आदिवासी खस हुन् तिनीहरूसँग पछि मैदानबाट प्रवेश गरेका मैदानी आर्यको संसर्गबाट खस–आर्य समुदाय विकसित भएको मान्न सकिन्छ ।

सुरुका खसमा कुनै जात प्रथा थिएन । उनीहरू पनि मध्य एसियाको ककेससबाटै आएका भारोपेली भाषा परिवारका सदस्य थिए । पछि ककेससबाट सिन्धु–गंगा मैदान हुँदै हिमाली क्षेत्रमा आएका आर्यको भाषा संस्कृति र सुरुमा हिन्दू कुश पहाड हुँदै आएका खसको भाषा संस्कृति समान हुनुको कारणले पछि आएका आर्य खससँग मिसिएर नेपालमा खस–आर्य समुदाय बन्न पुग्यो।

इतिहासले भन्छ कि पछि आएका आर्य पढाइ–लेखाइमा, राज्य सञ्चालनमा अगुवा चेतना बोकेका थिए र उनीहरूले नै पश्चिमका खसमा जाति प्रथा सुरु गरे । खसका मुखियालाई आर्यले आफ्नै वर्णाश्रम व्यवस्थाअन्तर्गत कथित उच्च जातमा राखेर क्षेत्रीयका रूपमा वर्गीकरण गरे । तर, जो मुख्य खस आमसमुदाय थियो, उनीहरूमा लामो समयसम्म जात प्रथा थिएन । त्यस हिसाबले नेपालमा अहिले संविधानमै ‘खस–आर्य’ भन्ने जुन शब्द हामीले प्रयोग गरेका छौँ, त्यो भनेको नेपालका आदिवासी खस र ११औँ देखि १४औँ शताब्दीसम्म प्रवेश गरेका आर्यको सम्मिश्रणबाट बनेको जातीय, भाषिक समुदाय भनेर हामीले बुझ्नुपर्छ ।

ऐतिहासिक रूपमा नेपालको पश्चिम भागमा ११औँदेखि १४औँ शताब्दीसम्म हिमाली भेगकै सबभन्दा ठूलो साम्राज्यका रूपमा खस साम्राज्य कास्मिरदेखि गण्डक क्षेत्रसम्म फैलिएको थियो । त्यो साम्राज्यको विघटनपछि नेपालमा बाइसी–चौबीसी राज्य बन्न पुगे । काठमाडौं उपत्यका र सेन राज्य पनि विभाजित भएर नेपालमा ५० भन्दा बढी राज्य बने । त्यस क्रममा खस–आर्यका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल राज्यको एकीकरण हुन पुग्यो ।

त्यसपछि गत अढाई सय वर्षमा नेपाल राज्य सुरुमा टिस्टादेखि काँगडासम्म र पछि मेचीदेखि महाकालीसम्म जुन बन्यो, त्यो सम्पूर्ण भू–भागमा खस–आर्य फैलँदै गए । राज्यको नेतृत्व गरेको नाताले उनीहरूको भाषा संस्कृति यो भूखण्डको आधिकारिक भाषा संस्कृति बन्यो । राज्यसत्तामा हुनुको नाताले स्वतः नै राज्यसत्तामा उनीहरूको एकाधिकार रह्यो ।

जसको राज्यसत्तामा एकाधिकार रहन्छ, उसको त्यतिवेलाको कृषिप्रधान अर्थतन्त्रमा जमिनमाथिको एकाधिकार पनि हुन्छ । यस हिसाबले नेपालमा बनेको एकल जातीय केन्द्रीकृत राज्यसत्तामा एकतिहाइको जनसंख्यामा रहेका खस–आर्यको ७५ प्रतिशतभन्दा बढी वर्चस्व कायम रहन पुग्यो । जुन नेपालको यथार्थ हो । यसैलाई समावेशी ढा“चामा बदल्नका लागि नेपालमा भएका लोकतान्त्रिक आन्दोलनको परिणामस्वरूप नै अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ ।

साउन १, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .