ad ad

छापा खबर


बिक्री नभएपछि जिउँदा कुखुरा र चल्ला नष्ट गरिँदै

बिक्री नभएपछि जिउँदा कुखुरा र चल्ला नष्ट गरिँदै

नेपालखबर
चैत २५, २०७६ मंगलबार ०:२०,

कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन्।

नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताएका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उनले बताए।

बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ।

नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन्। कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन्।

बन्दाबन्दीका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग भने बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन्।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । ‘पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो,’ केसीले भने, ‘अहिले पाँच लाख अण्डा उत्पादन घटेको छ । कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .