छापा खबर


उच्च अदालतबाट आदेश आउनुअघि नै सिद्धबाबा यसरी सुटुक्क भागे भारत

उच्च अदालतबाट आदेश आउनुअघि नै सिद्धबाबा यसरी सुटुक्क भागे भारत

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ०:३५,

उच्च अदालत विराटनगरमा आफूविरुद्धको जबर्जस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला बलात्कार आरोपित सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी भारत भागेका छन्।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी बिहीबार दिउँसो भारततर्फ हिँडेका हुन्।

सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन्। उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो।

स्रोतकाअनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा परेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा किशोर बुढाथोकीले लेखेका छन्।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए। अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन्। जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाइ अदालतमा जारी थियो।

‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन।’

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए। त्यसकै फलोअपका लागि फेरि गएको उनी निकट स्रोतले बतायो।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाइ बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। सुनुवाइपछि आउने अदालतको आदेशको पर्खाइमा उनी रहेको स्रोतको दाबी छ।

आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ। आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको स्रोतको भनाइ छ ।

मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाइ उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाइ बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो। जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो।

मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यस अघि नै लगाउमा राखिसकेको छ। जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरिएको छ।

यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन्। एउटै मुद्दाका पक्ष र विपक्षबाट अलगअलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाइका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो।

‘मुद्दा एउटा र पक्ष विपक्ष दुईवटा भएकाले अन्तरसम्बन्धित मुद्दामा भिन्दा भिन्दै सुनुवाइ हुँदैन,’ अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले भने, ‘सँगै राखेर सुनुवाइ गर्नु पर्ने भएकाले नै मुद्दा लगाउमा राखिएको हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad