ad ad

छापा खबर


गौर नरसंहार दोहोर्‍याउने धम्कीले रेणु यादवको मन्त्री पद संकटमा

गौर नरसंहार दोहोर्‍याउने धम्कीले रेणु यादवको मन्त्री पद संकटमा

नेपालखबर
माघ ८, २०७८ शनिबार ७:२९, काठमाडौँ

सार्वजनिक मञ्चबाटै ‘नरसंहार’को धम्की दिन मिल्छ? त्यो पनि बहालवाला मन्त्रीले? कानुनी, नैतिकता कुनै पनि हिसाबले मिल्दैन। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा मोनिका झाले लेखेकी छन्।

रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको ज्यान लिने धम्की दिएकी थिइन्। त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन्। 

मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ। यसले कानुनी राज्यको उपहास गरेको, हत्या–हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरूको ठम्याइँ छ। नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूले मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन्। 

विभिन्न राजनीतिक दलका नेताहरूले पनि मन्त्री यादवको भनाइमा घोर आपत्ति जनाएका छन्। ‘हामी संसदीय पार्टीको पद्धतिमा छौं। यसमा कुनै नेता वा कार्यकर्तालाई यो छुट छैन कि कुनै पनि मञ्चको प्रयोग गरि कसैलाई ज्यान मार्नेसम्मको धम्की देओस्,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल भन्छन्, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिले आत्मालोचित भई माफी माग्नुपर्छ।’

‘यस्तो आपराधिक र आतंकी शैलीको भाषण बहालबाला मन्त्रीबाट आउनु निकै आश्चर्यजनक हो,’ मधेसी नागरिक समाजका संयोजक गणेश मण्डल भन्छन्, ‘यदि कुनै सर्वसाधारण नागरिकले पनि अर्को नागरिकलाई ज्यान मार्ने धम्की दियो भने त्यसमाथि कानुनी मुद्दा चलाइन्छ। तर, कानुनको पालना गर्ने सर्वोच्च पदमा बसेर कुनै पार्टीको नेतालाई लक्षित गरी नामै तोकी हत्या गराउने खालको अभिव्यक्ति दिँदा त्यस्तो व्यक्तिलाई अझ सशक्त कार्वाही हुनुपर्छ।’

उनले थपे, ‘सभ्य, शिक्षित र बौद्धिक समाजमा एउटा मन्त्रीले बोल्ने भाषा मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने हो। तर, मन्त्री यादवले नरसंहारजस्तो विषयलाई प्रोत्साहन गर्ने खालको भाषण दिनु निन्दनीय हो।’ उनले मन्त्री यादवलाई यथाशीघ्र बर्खास्त गर्न आफूहरूले सरकारलाई अपिल गरेको र यदि यसो गरिएन भने जनतालाई सडकमा आउन आह्वान गर्ने बताए।

जनमत पार्टीका अध्यक्ष राउतले सार्वजनिक पद धारण गरेका नेताबाट यस्तो खालको आपराधिक अभिव्यक्ति आउनु निन्दनीय रहेको बताए। ‘गौर नरसंहार फोरमले नै गराएको स्वीकारोक्ति मन्त्री यादवको भनाइबाट स्पष्ट भएको छ,’ डा.राउत भन्छन्, ‘मन्त्रीज्यूलाई अविलम्ब बर्खास्त गरी गौर नरसंघारमा संलग्न रहेका व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गरे कार्बाही प्रक्रिया अगाडि बढाउनु पर्छ। र, मधेसमा अपराधको राजनीति बन्द गर्नुपर्छ।’

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरत साहले पनि मन्त्री यादवको अभिव्यक्तिलाई आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .