ad ad

छापा खबर


सबै सांसदले महिनैपिच्छे पार्टीलाई बुझाउछन् चर्को लेबी, बामदेव गौतमले भने बुझाउन छाडे

सबै सांसदले महिनैपिच्छे पार्टीलाई बुझाउछन् चर्को लेबी, बामदेव गौतमले भने बुझाउन छाडे

नेपालखबर
पुस १९, २०७८ सोमबार ७:५९, काठमाडौँ

संसद्मा सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। 

प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ।

नेपाली कांग्रेसले पनि २०७० सालदेखि सांसदसँग लेबी लिन थालेको छ। प्रतिसांसद १० हजार रूपैयाँ लेबी लिँदै आएको कांग्रेसले प्रतिधिधिसभामा ६१ सांसद र राष्ट्रियसभाका ७ गरी ६८ सांसदबाट प्रतिमहिना ६ लाख ८० हजार रूपैयाँ लिने गर्छ। 

कांग्रेसका प्रतिनिधिसभाका २ सांसद निलम्बनमा रहेकाले ६१ सांसदबाट मात्रै लेबी लिने गरेको हो।  

नेकपा माओवादी केन्द्रले १२ हजार रूपैयाँका दरले लेबी लिने गर्छ। प्रतिनिधिसभाका ४९ र राष्ट्रियसभाका १३ गरी ६२ सांसदको प्रतिमहिना ७ लाख ४४ हजार रूपैयाँ लेबी काटिने गर्दछ।  

नेकपा एकीकृत समाजवादीले पनि १२ हजार रूपैयाँका दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभातर्फ २३ र राष्ट्रियसभातर्फ ४ जना गरी २७ सांसदबाट नेकपा एकीकृत समाजवादीले ३ लाख २४ हजार रूपैयाँ लेबी उठाउने गर्छ।  

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले भने १५–१५ हजार रूपैयाँ लेबी तिर्ने गरेका छन्। 

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका २१ र राष्ट्रियसभाका २ गरी २३ जना सांसदबाट ३ लाख ४५ हजार लेबी लिने गर्दछ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ १३ र राष्ट्रियसभातर्फ १ गरी १४ सांसदको २ लाख १० हजार रूपैयाँ लेबी उठाउने गर्छ।  

राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने आफूले पाउने पूरै रकम पार्टीको खातामा पठाउने गर्छन्। सांसदले पारिश्रमिकवापत ५५ हजार २ सय ३० रूपैयाँ पाउने गरेका छन्।  

यसरी संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आफ्ना सांसदले पाउने पारिश्रमिकबाट पार्टीका लागि लेबी लिँदै आएका खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन्। 

एमाले र माओवादी केन्द्रबीच एकता भए पनि एमालेका सांसदको लेबी रकम एमाले पार्टीको खातामा र माओवादी केन्द्रका सांसदको लेबी रकम माओवादी पार्टीको खातामा पठाउने गरिएको थियो। 

नेकपा विभाजन भई एमाले र माओवादी साविकमै फर्किएपछि पनि पार्टीका आ–आफनै खातामा पठाउने गरेको हो। एमालेभित्र राष्ट्रियसभाका मनोनित सांसद वामदेव गौतमको लेबी रकम भने दुई महिनादेखि कतै पनि पठाइएको छैन। असोजसम्म उनले एमाले पार्टीलाई लेबी बुझाएको देखिन्छ भने कात्तिकदेखि कुनै पार्टीलाई पनि लेबी बुझाएका छैनन्। स्रोतका अनुसार, गौतमले आफू एमालेमा नरहेको जानकारी गराएपछि उनको लेबी रकम कतै पठाइएको छैन।  

संसद् विघटनदेखि पुनःस्थापनासम्मको समयमा सांसदलाई एकमुष्ट रकम प्राप्त भएको थियो। त्यसवेला केही समय कुनै सांसदबाट पनि लेबी नलिएको नेकपा माओवादी केन्द्रलेपछि त्यसको क्षतिपूर्तिस्वरूप प्रत्येक सांसदबाट १८ हजारका दरले लेबी लिएको थियो। अहिले भने सो रकममध्ये ६ हजार घटाएर प्रतिमहिना १२ हजार रूपैयाँ मात्रै लिने गरेको छ।  

राजनीतिक दलहरूले लेबी रकम धेरै लिने गरेको कतिपय सांसदको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .