ad ad

छापा खबर


सधैं मारमा उखु किसान

सधैं मारमा उखु किसान

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०७८ आइतबार ८:५०, काठमाडौँ

विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।  

यादवले अन्नपूर्ण सुगर मिल धनकौलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो। उखु बेचेको भुक्तानी माग गर्दै उनी गत वर्षको मंसिर ३० गते काठमाडौं पुगेका थिए। आन्दोलन मंसिर २८ गतेबाट सुरु भएको थियो। 

सधैं आन्दोलनमा सक्रिय सहभागिता जनाउने उनी कृष्णभक्त थिए। बैंकको ऋणले अत्तालिएका उनी मिलबाट उखुको रुपैयाँ नपाउँदा चिन्तित थिए। बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो। उखुको बक्यौता रकम मिलबाट भुक्तानी पाउने आशामा काठमाडौं पुगेका यादवसँग सरकारले पहिलाजस्तै कागजमा उधारो सम्झौता गर्‍यो। उनले रुपैयाँ पाएनन्। त्यही उधारो सम्झौता यादवको मृत्युको एउटा कारण बन्न पुग्यो।  

यो खबर आजको नागरिक दैनिकमा मदन ठाकुर र मिथिलेश यादवले लेखेका छन्। 

यादवका जेठा छोरा सियारामले भने, ‘बुवाको मृत्युको कारक मिल मालिक र सरकार हुन्।’ १९ जनाको परिवारमा नारायण ‘खम्बा’ थिए। परिवारको खम्बा नै ढलिसकेपछि घरव्यवहार पनि अस्तव्यस्त बनेको छ। जसोतसो परिवारको गुजारा भने चलिरहेको छ।  

तर, अन्याय गर्नेहरू मोजमस्ती गरिरहेका छन्। रकम भुक्तानीका लागि सरकार पुकार्नुपर्ने उखु किसानको नियति बनेको छ।

 ‘किसानले ऋण लिए उखु उत्पादन गरी धनाढ्यका मिल चलाइदिनुपर्ने कस्तो देश हो यो? मिल मालिकले किसानसँग उधारोमा उखु लिन्छन् अनि नगदमा चिनी बेच्छन्। हाम्रो पैसा दिन भने वर्षौं लगाउँछन्। ऋणको भारीले थिचिँदै गएपछि हामीसँग मर्नुबाहेक विकल्प रहन्छ र?’ उनले बुवाको मृत्युको मुख्य कारक मिल मालिक र सरकार रहेको दोहो¥याए।  

उखुको रकम भुक्तानीका लागि पुसको ठिहीसमेत पर्वाह नगरी काठमाडौं गएर पनि रित्तो हात फर्किनुपर्दाको पीडा खप्न नसकेर प्राण त्यागेका नारायण उदाहरण मात्र हुन्। उनी जस्ता कैयन् उखु किसान बाँचेर पनि मरेतुल्य छन्। 

उखु किसानले न व्यापारीसँग पेस्की खोजेका हुन् न सरकारसँग अतिरिक्त अनुदान मागेका हुन्। उखुको बेचेको रकम समयमै भुक्तानी होस् भन्ने उनीहरूको माग हो। उखुको समर्थन मूल्य समयमै निर्धारण गरियोस् भन्दै सरकार पुकार्न उखु किसान बर्सेनि काठमाडौं पुग्छन्।  

आफ्नै बाली बेचेको रकम भुक्तानीको माग राखेर उखु किसानहरू पटकपटक संघीय राजधानी धाउन बाध्य हुँदै आएको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन्। स्थानीय स्तरमै व्यापारीलाई अनुरोध गर्दा, प्रमुख जिल्ला अधिकारी र दलका नेताहरूलाई गुहार्दा सुनुवाइ नभएपछि काठमाडौं पुगेर देशका कार्यकारी प्रमुख पुकार्दा पनि समस्या बीसको उन्नाइस नभएपछि उखु किसान पिरोलिएका छन्।  

सुन्दा पनि अनौठो लाग्ने, कृषिप्रधान देशमा नगदे बालीमध्येको एक उखु उत्पादन गरी बेचेकै पैसा उठाउन पनि किसान निरन्तर आन्दोलित हुनुपरेको छ। किसान आन्दोलित भए पनि समस्या जस्ताको तस्तै छ। 

पेसाको स्तरोन्नति, बजार प्रवर्धन, सहज अनुदान र रकम भुक्तानीको स्वचालित चक्र स्थापना हुनु त परको कुरा हो, किसानले ऋण गरेर लगाएको उखु बेचेको रकम पनि बेलामा पाउन सकेका छैनन्। 

स्वदेशका उखु किसानलाई रकम भुक्तानीका लागि झुलाउने चिनी मिल सञ्चालकहरू भारतीय किसानबाट अवैध रूपमा उखु किनेर हाकाहाकी भित्र्याइरहेका छन्। प्रशासनका कर्मचारीसमेतको मिलेमतोमा भारतबाट दैनिक हजारौं क्विन्टल उखु नेपालतर्फ तस्करी भइरहेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .