‘जीवन एक रोमाञ्चक साहसिक यात्रा हो। जिन्दगीलाई ‘कम्फर्ट जोन’मा मात्र सीमित राखेर सहजता मात्रै खोज्न थालियो भने त्यो जीवन निरस र शून्य हुन्छ। जीवन त एक चुनौतीपूर्ण असाधारण यात्रा हो, जसले बाँच्नुको अनुभूति दिलाउँछ।’
हो, यही कुरामा विश्वास गर्छन्- हङकङ निवासी ४५ वर्षीय अल्ट्रा ट्रेल रनर दिनानाथ बगाले।
दौडेरै हङकङका डाँडाकाँडा छिचोलेका उनी सहज र छोटो दूरीभन्दा कष्टकर र लामो दूरीको दौडमा भाग लिई आफैँलाई ‘अल्टिमेट च्यालेन्ज’ गर्न मन पराउँछन्।
यस्तै चुनौतीहरूको सामना गर्ने क्रममा उनी विश्वका दर्जन देशमा पुगिसके। झन्डै २ दशक लामो उनको दौड करिअरमा उनले हालसम्म पार गरेको दूरी जोड्ने हो भने पृथ्वीलाई ५ फन्का मार्न पुग्छ।
उनी हङकङका नेपाली समुदायबीच हाइक र रनका अन्वेषक तथा विशेषज्ञका रूपमा परिचित छन्। हिजोआज कुनै पनि संस्था वा व्यक्तिले हाइक गर्न परे, ट्रेल जान परे, दिनासँग सल्लाह लिन्छन्। त्यति मात्र हैन, नेपाली ट्रेल रनरहरूलाई हङकङ ल्याउन समन्वयसमेत गर्छन् उनी। उनको समन्वयमा नेपालबाट हालसम्म झन्डै दर्जन रनर हङकङ आइसकेको उनी बताउँछन्।
यसरी सुरु भयो दिनाको ट्रेल रनिङ यात्रा
भाग्यको खोजी गर्दै मोफसलबाट राजधानी काठमाडौँ पसेका दिनाका सुरुवाती दिन संघर्षमा बिते। उनले कलेज पढ्दै टुर गाइडको पेसा अँगाले। त्यही बेलादेखि उनी प्रकृतिसँगको प्रेममा परे। उनी अवसरको खोजी गर्दै सन २००५ मा हङकङ हानिए। हङकङको कोलाहल र भीडबाट आफूलाई अलग गरी प्रकृतिसँग रमाउन उनी छुट्टीका दिन एक्लै ट्रेल चाहर्थे।
सन् २००६ मा आफू कार्यरत कम्पनीले अक्सफाम १०० किमि ट्रेल वाकमा भाग लिन अफर गरेपछि उनको ट्रेल यात्रा सुरु भएको हो। बिनातयारी १०० किलोमिटरको दूरी दिनाको टिमले ३३ घन्टामा छिचोल्यो।
सन् २००७ मा केही तयारीका साथ उनले फेरि उक्त प्रतियोगितामा भाग लिए। त्यतिबेला उनी उक्त दूरी १६ घन्टामा छिचोल्न सफल भए। त्यसपछि भने आफूभित्र दौड्नसक्ने खुबी भएको थाहा पाए। यसबाट उनको हौसला मात्र बढेन, ट्रेल रनको नशा नै लाग्यो उनलाई। यसपछि त उनी वर्षमा १५-२० वटासम्म वटा दौडमा भाग लिन थाले।
विदेशमा दौडिँदै, नेपाल चिनाउँदै
दिनाले हालसम्म डेढ सयभन्दा बढी दौड प्रतियोगितामा भाग लिइसकेका छन्। जसअन्तर्गत उनी फ्रान्स, इटली, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, थाइल्यान्ड, चीन, हङकङलगायत देशमा आयोजित दाैड प्रतियोगितामा सहभागी भइसकेका छन्। उनी जहाँ-जहाँ जान्छन्, त्यहाँ नेपाली झन्डा बोक्न बिर्सिदैनन्। यस क्रममा उनले महावाणिज्यदूत हङकङसँगको सहकार्यमा युरोपेली मुलुकहरूमा ‘भिजिट २०२०’ को प्रवर्द्धन गर्नसमेत भ्याएका छन्।
अल्ट्रा रन पुरुषलाई ‘प्रसव वेदना’
दिनाले धेरैजसो १०० किमिभन्दा माथिका प्रतियोगितामा भाग लिने गरेका छन्। यो निकै कष्टकर र चुनौतीपूर्ण छनोट हो। अँध्यारो रात, चिसो हावा, मुटु काँप्ने जाडो, वर्षा, हिउँ, उकालो, ओरालोमा भोक, तिर्खा, निद्रा केहीको पनि पर्वाह नगरी लगातार दौडिन सक्नुपर्छ, जसका लागि शारीरिक र मानसिक दुवै रूपमा सशक्त हुनुपर्छ। कुनै पनि बेला चोटपटक लाग्नसक्छ, घाइते हुने सम्भावना हुन्छ।
दिना भन्छन्, ‘शरीर भोक, प्यास, निद्रा र थकानले लखतरान हुन्छ , तर जब फाइनल ल्यापमा फिनिसिङ प्वाइन्ट चुमिन्छ, तब सब पीडा बिर्साएर स्वर्गीय आनन्द प्राप्त हुन्छ। जसरी एक महिला प्रसव वेदनापछि शिशु जन्माउँछिन् र खुसी हुन्छिन्।’
उनी थप्छन्, ‘वास्तवमा अल्ट्रा रन जीवनको उत्सव र मृत्युको पूर्वाभ्यासको एक गहन अनुभव पनि हो।’
खर्चिलो भए पनि परिवारको साथ
पछिल्लो समय ट्रेल रनिङको लोकप्रियताले आकाश छोएको छ। विश्वभर वार्षिक दसाैँ हजारवटा साना-ठूला प्रतियोगिता आयोजना हुन्छन्। तथापि यो खेल सस्तो छैन। प्रतियोगिता तयारीको लागि लामो समयदेखि अभ्यास, पोषिला खानेकुरा सेवन, महँगो गियर, प्रवेश शुल्क, यात्रा आदिका लागि धेरै खर्च गर्नुपर्ने दिना बताउँछन्। यसका लागि उनले अहिलेसम्म गरेका खर्चले करोडौँ काटिसकेको छ। उनका अनुसार यी सबै कुराको प्रबन्ध गर्न परिवारको साथबिना सम्भवै छैन। दिनाले परिवारबाट भरपूर साथ पाइरहेका छन्। यसैकारण उनले दाैडलाई निरन्तरता दिन सकिरहेका हुन्।
एकपछि अर्को, गन्तव्य अमेरिकासम्मको
यो वर्ष दिना दौडन फ्रान्स र अस्ट्रेलियासम्म पुगे। दुई हप्ताअगाडि मात्र उनी हङकङमै भएको १३० किमि ट्रान्स लान्ताउ प्रतियोगितामा सहभागी भए। जहाँ उनी आफ्नो क्याटेगोरीमा पाचौँ स्थानमा आए। लगत्तै उनी यही नोभेम्बर २४ मा हुने अक्सफाम ट्रेलवाकर १०० किमि दाैडमा सहभागी हुँदै छन्।
यस्तै उनी अर्को वर्ष इन्डोनेसियामा हुने प्रतियोगितामा भाग लिन तयारी गरिरहेका छन् भने अमेरिकामा आयोजना गरिने १६१ किमि लामो ‘हार्ड रक ट्रेल रन’ प्रतियोगितामा सहभागी हुने लक्ष्यसमेत उनले राखेका छन्।
अझै ५ वर्ष दौडिने, नेपाली खेलाडीलाई सहयोग गर्ने
उमेर ४५ वर्ष भइसके पनि अझै ५/६ वर्षसम्म दौडने योजना दिनाको छ। दौडबाट गुमाउनुभन्दा धेरै कुरा पाएको उनको अनुभव छ। विशेषगरी मित्रता कमाएको र प्रकृतिको अद्भूत र अनुपन सौन्दर्यपान गर्न पाएको उनी सुनाउँछन्। यो उमेर त रिटायर्ड हुने समय हैन र भन्ने नेपालखबरको प्रश्नमा दिना भन्छन्, ‘यो एकदमै गलत धारणा हो, हामी नेपालीहरू ४० कटेपछि जिन्दगी सकिएको कुरा गर्छौं, तर पश्चिमाहरूको जिन्दगी ४० पुगेपछि बल्ल सुरु हुन्छ, यसमा उमेरको कुनै छेकबार हुँदैन, ६० वर्ष वा त्योभन्दा माथिकासमेत यो दौडमा सहभागी हुनसक्छन्। बस् हिम्मत मात्र गर्नुपर्छ।’
त्यसो त साँच्चै रिटायर्ड भएका दिन पनि नेपालका ट्रेल रनरहरूलाई हङकङ ल्याउन समन्वयकर्ताको भूमिकालाई निरन्तरता दिने सोचमा छन् दिना। हङकङ ट्रेल रनका लागि आकर्षक गन्तव्य हो। समुद्रदेखि डाँडाकाँडाले सजिएको हङकङ सहरबाट ५ मिनटभित्र ट्रेलमा पुग्न सकिन्छ। यस्तो रमणीय र सुविधायुक्त भूगोल पाउन यो दुनियाँमा दुर्लभ मानिन्छ।
दिनालाई सफलताको शुभकामना!!
प्रतिक्रिया