हङकङमा एयरपोर्टका कर्मचारीको कोरोना भाइरस परीक्षण बढाइने, खोप नलगाएकाको दैनिक परीक्षण

हङकङमा एयरपोर्टका कर्मचारीको कोरोना भाइरस परीक्षण बढाइने, खोप नलगाएकाको दैनिक परीक्षण

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १४:१३, काठमाडौँ

हङकङको एयरपोर्टका कर्मचारी, होटल क्वारेन्टिनका कामदार र आगन्तुकलाई गन्तव्यमा पुर्याउने चालकको छोटो अवधिमा निरन्तर कोरोना परीक्षण हुने भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुमध्ये कोरोना भाइरसविरुद्धको खोप नलगाएकाको दैनिक परीक्षण हुनेछ। अबको एक साताभित्र हङकङमा यो नियम कार्यान्वयनमा आउनेछ।

मेनल्याण्ड चीनसँग हङकङको सीमा खोल्न चीनले राखेको शर्त पूरा गर्न यस्तो नियम ल्याइएको हो। पछिल्लो दुई महिनामा एयरपोर्टमा संक्रमणको स्रोत नखुलेका एक स्थानीय संक्रमित फेला परेसँगै हङकङले यस्तो निर्णय गरेको हो। 

पत्रिकाका अनुसार कोरोनाको सबैभन्दा धेरै जोखिममा रहेका मानिसको परीक्षण गर्ने उद्देश्यका साथ अहिले परीक्षण बढाउन लागिएको हो। जसअनुसार एयरपोर्टका कर्मचारी, कार्गो व्यवस्थापनका कर्मचारी, यात्रुसँग निरन्तर सम्पर्कमा आउने कर्मचारी तथा विमानको सफाइ गर्ने कर्मचारीले अब प्रत्येक तीन दिनमा कोरोना परीक्षण गराउनुपर्नेछ।

अहिले पूरा खोप लगाएकालाई मात्र काममा आउने अनुमति दिइएको छ भने प्रत्येक सात दिनमा कोरोना परीक्षण गराउनुपर्छ। खोप नलगाएकालाई काममा आउने अनुमति दिइएको छैन।

तर, नयाँ नियम लागू भएसँगै पूरा डोज खोप लगाएका कर्मचारीले पनि प्रत्येक तीन दिनमा कोरोना परीक्षण गराउनुपर्ने हुन्छ। अहिलेसम्म कोरोना खोप नलगाएका कर्मचारीले भने अब दैनिक कोरोना परीक्षण गराउनुपर्ने हुन्छ।

नयाँ स्थानीय संक्रमित फेला परेसँगै चीनले शीर्षस्तरको संसदीय बैठकमा हङकङका प्रतिनिधिलाई भाग लिन रोक लगाएको थियो। सोमबार हङकङमा कोरोनाका पाँच नयाँ संक्रमित थपिएका छन्। यद्यपि उनीहरु सबै बाहिरबाट आएका नागरिक थिए।

अहिलेसम्म हङकङमा करिब १३ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने २१३ जनाको संक्रमणको कारण मृत्यु भएको छ। 

यसैबीच, कतार एयरवेजले कतारको दोहादेखि हङकङको उडान सोमबारदेखि अक्टोबर ३१ सम्मको लागि स्थगित गरेको छ।

एयरवेजको अक्टोबर १३  र १६ को प्रत्येक उडानमा आएका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .