हङकङका विमान कम्पनीहरुले सरकारविरोधी प्रदर्शनले धेरै घाटा व्यहोर्नुपरेको भन्दै सरकारसँग विमानस्थल सेवाशुल्क हटाउन माग गरेका छन्। कम्पनीहरुले उडान र अवतरण शुल्क हटाई हवाइ सेवा प्रदायकहरुलाई सहुलियत दिन माग गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
हङकङको एयरलाइन प्रतिनिधिहरुको बोर्ड (बीएआर)ले सरकारलाई पत्र नै लेखी आफ्ना कम्पनीको कार्यालय र लाउन्जको भाडालगायतका अन्य एयरपोर्ट सञ्चालन खर्च समेत छुट दिन माग गरेका हुन्। यस बोर्डमा ७० भन्दा बढी एयरलाइन कम्पनीहरुको प्रतिनिधित्व रहेको छ। ट्रान्सपोर्ट एण्ड हाउजिङ ब्युरोलाई बारका प्रमुख रोनाल्ड लाम सिउपोरले पत्र पठाउँदै एयरलाइन कम्पनीहरुको आम्दानीमा धक्का पुगेकोले हङकङ आउने उडान आर्थिक रुपले कठिन बनाएको उल्लेख गरेका छन्। रोनाल्ड आफैँ क्याथे प्यासिफिकका प्रमुख कार्यकारी हुन्।
विमान सेवा दिने कम्पनीहरुले छोटो समयका लागि एयरलाइन कम्पनीलाई सहयोग गर्न आग्रह गरेका छन्। तर कति समयसम्मका लागि सहुलियत दिने भन्ने उनीहरुले खुलाएका छैनन्। रोनाल्डले यात्रुको संख्या समेत दोहोरो अंकले घटेको र यो वर्षको बाँकी महिनामा अझै स्थिति नाजुक रहने बताएको एससीएमपीले समाचारमा जनाएको छ। क्याथे प्यासिफिक ग्रुपले सरकारले सहयोग गरे ठूलो राहत पुग्ने जनाएको छ। यात्रुहरुको संख्या घटेसँगै कम्पनीहरुमा ‘क्याश फ्लो’ नभएको जस्ता समस्या देखिएको बताइएको छ।
हङकङ विमानस्थलकाे दृश्य। तस्बिरः चाइना डेली
हवाइ क्षेत्रले हङकङमा ३ लाख ३० हजार रोजगारी सृजना गरेको जनाउँदै बारले सहरको कुल गार्हस्थ्य उत्पादनमा समेत यस क्षेत्रले १०.२ प्रतिशत योगदान गरेको स्मरण गराएको छ। हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा दशकयताकै ठूलो संख्यामा यात्रुको संख्यामा कमी आएको थियो।
१२.४ प्रतिशतले कमी आउँदा अगष्टमा थोरै ८ लाख ५० हजारले मात्रै विमानस्थल टेकेका बताइएको छ। उक्त विमानस्थलले विश्वकै व्यस्तमध्ये मानिन्छ। विमानस्थलमा एउटा बोइङ ७७७–३००आरले हङकङ डलर १ लाख १० हजार ७ सय ३२ हरेक पटक उड्दा शुल्क तिर्नुपर्छ। यसमा अवतरण र पार्किङ, तथा अन्य शुल्कसमेत समावेश हुन्छ।
त्यसको तुलनामा सिंगापुरको चांगी एयरपोर्टले ९९ हजार ७ सय २२ हङकङ डलर र शांघाई पुडोंग तथा ग्वान्झाउ एयरपोर्टले ९० हजार ८ सय ८५ हङकङ डलर शुल्क लिने गरेका छन्। यिनमा पनि टोक्यो हानेडा एयरपोर्टलाई महंगो मानिन्छ। टोक्योले १ लाख ६३ हजार ३ सय ८३ हङकङ डलर लिने गरेको छ। हङकङ एयरपोर्टको सन् २०१८/०१९ आर्थिक वर्षमा आम्दानी २७ प्रतिशतले बढेर १९ अर्ब ४७ करोड हङकङ डलर पुगेको थियो। उसको नेट नाफा मात्रै ८ अर्ब ४० करोड डलर पुगेको थियो।
यात्रु तथा विमानका चालक दलका सदस्यहरु सेप्टेम्बर १ तारिखमा प्रदर्शनकारीले अवरोध गरेपछि विमानस्थलसम्म पैदल नै पुग्नुपरेको थियो। तस्बिरः एससीएमपी
विगत तीन वर्षमा अवतरण शुल्कमा २७ प्रतिशतले वृद्धि भएको छ। तेस्रो रनवे विस्तारका लागि भन्दै अवतरण शुल्क वृद्धि गरिएको थियो। त्यस्तै विमान सेवा प्रदायक कम्पनीले सन् २००० र २००४ तथा सन् २००९ मा दुई पटक सरकारबाट सहयोग पाएका थिए।
उक्त समयमा अवतरण र पार्किङ शुल्कमा १५ प्रतिशत कटौती गरिएको थियो। खासगरी एसियन फाइनान्सियल क्राइसिसका कारण उक्त कटौती गरिएको थियो। त्यस्तै सन् २००९ मा पनि विश्वव्यापी रुपमा देखापरेको वित्तीय संकट र तेलको मूल्य बढेपछि ल्यान्डिङ र पार्किङ शुल्कमा १० प्रतिशतले कटौती गरिएको थियो। त्यतिबेला ४५ करोड हङकङ डलरको राहत प्याकेज नै दिइएको थियो।
तर हङकङको वित्तीय सेवा र ट्रेजरी ब्युरोले भने तत्कालै विगतका जस्तो कुनै पनि सरकारी योजना नरहेको बताइसकेको छ। यो ब्युरोले हङकङको कर नीति पनि हेर्ने गर्छ। अहिले हङकङमा पर्यटकले १ सय २० हङकङ डलर कर तिर्ने गरेका छन्।

प्रतिक्रिया