हङकङमा भइरहेको सरकार विरोधी आन्दोलनको असर नेपाली ‘नेशलन डे’ समारोहमा परेको छ।
आन्दोलनका कारण सुरक्षा र आवागमनमा चुनौती हुन सक्ने भन्दै पाँच तारे होटलमा आयोजना गर्नु पर्ने समारोह महावाणिज्यदूतको निवासमा रहेको क्लव हाउसमा सिमित गरियो भने हङकङ सरकारका प्रतिनिधिलाई पनि निम्त्याइएन।
हङकङमा स्थानीय सरकारका चिनियाँ अधिकारीलाई आमन्त्रण नगरी पहिलो पटक ‘नेशनल डे’ आयोजना गरिएको महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए।
राष्ट्रिय दिवस तथा संविधान दिवसका दिन शुक्रबार हङकङस्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको समारोहमा स्थानीय चिनियाँ अधिकारी सहभागी भएका थिएनन्।
‘पहिले वृहत् रुपमा मनाउँदै आएको राष्ट्रिय दिवस हामीले यसपाली हङकङको अहिलेको अवस्थालाई समेत ख्याल गरेर नेपालीबीच मात्रै आयोजना गरेका हौं’, महावाणिज्यदूत भट्टराईले समारोहमा भने, ‘कुटनीतिक र सुरक्षा जोखिम आउन सक्ने ठानेर हामी यसपाली सार्वजनिक मञ्च वा पाँच तारे होटलमा नगएका हौं।’
यसअघि हङकङमा पहिलो राष्ट्रिय दिवस महावाणिज्य दूतावास, दोस्रो वर्ष फरेन करेस्पन्डेन्स क्लव र तेस्रो वर्ष हार्बर ग्राण्ड पाँच तारे होटलमा आयोजना गरिएको थियो।
करिब एक सय २० जना नेपाली सहभागी भएको शुक्रबारको समारोहमा फरक के देखियो भने यसअघि स्थानीय अतिथि र महावाणिज्यदूतले मात्रै मन्तव्यसहित शुभकामना दिने प्रचलन तोडेर केही नेपाली अगुवालाई त्यस्तो अवसर दिइयो।
नेपालको राष्ट्रिय गानबाट सुरु भएको समारोहमा महावाणिज्यदूत भट्टराईले सबै सहभागीलाई शुभकामना दिँदै भने, ‘हामी यहाँबाट मातृभूमी नेपालको दिगो शान्ति, विकास र सम्वृद्धि तथा कर्मभूमी हङकङमा शान्ति र अमनचयन कायम होस् भनेर शुभकामना व्यक्त गरौं।’
भट्टराईले हङकङमा स्थायी रुपमा बसोबास गर्ने नेपालीलाई ‘नेपाली दूतका रुपमा नेपाल प्रवद्र्धनमा लागिरहन’ आग्रह गरे।
‘चार वटा विषय बाहेक संविधान संशोधनका लागि संविधानले नै बाटो खुला राखेको छ, आवश्यक परे त्यही बाटोबाट संविधान संशोधन गर्न सकिने भएकाले अन्य बाटो खोज्नु पर्दैन’, उनले संविधानप्रति असहमत समूहलाई लक्षित गर्दै भने।
समारोहमा नेपाल वायुसेवा निगमका हङकङ निर्देशक बृहतमान तुलाधर, एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङ, प्रवासी नेपाली एकता मञ्चका रविन लिङदेन, नेपाल उद्योग वाणिज्य महासंघका हङकङ प्रतिनिधि कृष्ण पाण्डे, नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुली, नेपाल जनसम्पर्क समिति हङकङका बीरु गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए।
समारोहमा व्यवसायी तथा लेखक कमल पौड्याल, पूर्णिमा जी शाह लगायतले कविता वाचन गरेका थिए।
प्रतिक्रिया