हङकङको युनलोङमा गत आइतबार सरकार विरोधी प्रदर्शनकारीमाथि भएको आक्रमणको बिरोधमा २७ जुलाई, शनिबार आयोजना गर्न लागिएको प्रदर्शन रोक्न प्रहरी असफल भएको छ।
प्रहरीले सुरक्षाको कारण देखाउँदै प्रदर्शनकारीको निवेदन अस्विकार गरिदिए पनि आयोजकले त्यसको अवज्ञा गर्दै शनिबारको प्रदर्शन जारी राख्ने जनाएका छन्।
सुपुर्दगी विधेयक विरोधी प्रदर्शनमा सहभागी भएर फर्कने क्रममा आइतबार युनलोङ रेल स्टेशनमा सेतो टीशर्टधारीको आक्रमणमा ४५ जना घाइते भएका थिए। यो आक्रमणको त्रासले भोलिपल्ट सोमबार युनलोङ बजार पूरै बन्द भएको थियो। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले एक दर्जनलाई गिरफ्तार गरिसकेको छ।
शनिबार त्यसैको विरोधमा प्रदर्शन आयोजना गरिएपछि दङ्गा भड्किने त्रासले युनलोङका स्थानीय नेताहरुले अनुमति नदिन प्रहरीसँग आग्रह गरेका थिए। तर प्रदर्शन नरोकिने भएपछि ती नेताहरूले फेरि सबै पक्षलाई शान्त रहन अपील गरेका छन्।
शनिबारको प्रदर्शन आयोजकका तर्फबाट हेउङ यी कुक चैर र केनेथ लाउले शान्तिपूर्ण प्रदर्शन हुने बताउँदै स्थानीयलाई शान्त रहन आग्रह गरेका छन्। साथै स्थानीय नेताहरूलाई प्रदर्शनकारीसँग संलग्न नहुन पनि आग्रह गरिएको छ।
आरटीएचकेका अनुसार प्रहरीले युनलोङ रेल स्टेसनमा टुंगिने विरोध प्रदर्शनको डिजिटल सामाग्री सामाजिक सञ्जालमा प्रसार हुँदा अवस्था तनावग्रस्त हुन सक्ने जनाएको छ। आयोजकले प्रदर्शनमा सहभागी हुनेहरुलाई नियन्त्रण गर्न नसक्ने हालैको घटनाक्रमले देखाएको प्रहरीको भनाइ छ।
युनलोङ हङकङको एउटा घनाबस्ती रहेको क्षेत्र हो, जहाँ धेरै संख्या जातीय अल्पसंख्यकहरूको छ। शनिबारको प्रदर्शनले युनलोङका बासिन्दाको अधिकार र स्वतन्त्रतामा गम्भीर असर पर्न सक्ने अनुमान गरिएको छ।
जोर्डन र याउमातेइपछि नेपालीको बाक्लो बसोबास रहेको अर्को क्षेत्र युनलोङ हो। युनलोङमा बस्ने नेपाली प्रदर्शनमा हिंसा भड्किन सक्ने भन्दै चिन्तित बनेको त्यही क्षेत्रमा बसोबास गर्ने हङकङकी स्वास्थ्यकर्मी टीका राना बताउँछिन्।
‘प्रहरीले बन्देज लगाएपनि प्रदर्शन हुने भएकाले अप्रिय घटना हुन बेर छैन’, टीका भन्छिन्, ‘त्यसैले घरमा हुनेले बाहिर ननिस्कनु उचित हुन्छ भने काममा जाँदा आउँदा रेल नचढी बैकल्पिक सवारी उपयोग गर्दा सुरक्षित हुन सकिन्छ।’
अल्पसंख्यक समुदायमा सक्रिय राना शनिबार प्रदर्शन आयोजना हुने कुराले युनलोङ क्षेत्रमा फेरि मनोवैज्ञानिक त्रास सिर्जना भएको बताउँछिन्।
प्रतिक्रिया