हङकङको युनलोङ आक्रमणमा संलग्न भएको आशंकामा ६ जना पक्राउ

हङकङको युनलोङ आक्रमणमा संलग्न भएको आशंकामा ६ जना पक्राउ

मगेन्द्र राई
साउन ७, २०७६ मंगलबार १०:९,

हङकङमा गत आइतबार सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शनपछि घर फर्कने क्रममा युनलोङ रेल स्टेसनमा प्रदर्शनकारीमाथि आक्रमण गर्ने सेतो टिसर्टधारी समूहका २४–५० बर्ष उमेरका ६ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ।

सेतो टिसर्ट लगाउने करिब १०० बढीको जत्थाले आइतबार १०ः४५ बजेतिर युनलोङ रेल स्टेसनमा लठ्ठी र फलामको रडले घर फर्किरहेका प्रदर्शनकारीमाथि अन्धाधुन्ध प्रहार गर्दा ४५ जना घाइते भएका थिए। आक्रमणमा सर्वसाधारण तथा गर्भवती महिलामाथि समेत हातपात गरिएको थियो।

आक्रमणकारीहरु कुख्यात ‘१४ के’ तथा ‘वो सिङ वो’ गुण्डा समूहका रहेको बताइएको छ।

रेल स्टेशन तनाव र भयग्रस्त बनेपछि रेलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। खबर पाएको ३५ मिनेटपछि ११ः२० बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलमा ढिलो पुगेको भन्दै प्रहरीको सर्बत्र आलोचना भइरहेको छ। समान्यतः हङकङमा घटनाको खबर पाएको १०–१५ मिनेटभित्रै प्रहरी घटनास्थलमा पुग्ने गर्दछ।

प्रहरी प्रमुख स्टेफेन लो वाईचुङले भने प्रहरी बलको बचाउ गरेका छन। उक्त दिन हङकङ इन्ल्याण्ड क्षेत्रमा व्यापक प्रदर्शन भएका कारण धेरै प्रहरी शक्ति त्यता परिचालन गर्नु परेको कारण युनलोङको घटनामा प्रहरीको उपस्थिति ढिलो हुन पुगेको उनले तर्क गरेका छन्।

लोले प्रहरी जनशक्ति र घटनास्थलसम्म पुग्ने समय समीक्षा गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

हङकङकी प्रमुख कार्यकारी अधिकृत क्यारी लामले घटनाको भत्र्सना गर्दै भनेकी छन्, ‘हिंसा कुनै समस्याको समाधान होइन। हिंसाले केवल हिंसा बढाउँछ, हामी पूर्णतः यस्तो हिंसा सहन सक्दैनौं।’

उक्त हिंसापूर्ण घटनाको अनुसान्धन गरिने लामले बताएकी छन्।

आइतबारको घटनापछि सोमबार पुरै हङकङ त्रसित बनेको थियो। हिंसात्मक दंगा भड्किने त्रासले युनलोङका खुद्रा पसल, सपिङ मल, वेलकम सुपरमार्केट, म्याक डोनाल्ड लगायतका रेस्टुरेन्टहरु अपरान्ह १ बजेबाट पूर्ण रुपमा बन्द भएका थिए।

यसैबीच नेपाली महावाणिज्यदूतावास हङकङले सोमबार हङकङका नेपालीलाई कुनै पनि घटना र घटनास्थलबाट टाढा र सतर्क रहन सूचना जारी गरेको छ:

कर्मचारीहरुको सुरक्षाका कारण बैंकहरु ३ बजेबाटै बन्द गरिएको थियो। युनलोङ, तिन सुइ वाई, चुन मुन, चुन वानका निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुलाई सोमबार चाँडै छुट्टी दिइएको थियो। २४ घन्टा खुल्ला रहने युनलोङ शहर सोमबार सुनसान थियो।

आइतबारको हिंसात्मक दंगामा अन्दोलनकारीमाथि दमन गर्न दक्षिण एशियाली अल्पसंख्यक समुदायका मानिसहरूको प्रयोग भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ। सामाजिक सञ्जाल वीच्याटमा मुख्यभूमी चीनका मानिस युनलोङ आउन लागेको हल्ला समेत फैलिएको थियो।

सोमबार र मंगलबार कुनै अप्रिय घटना नभएपनि हङकङमा त्रास अझै हटिसकेको छैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .