hongkong


ज्याक माको जीवनी पढेपछि मोडियो हङकङका विशालको जीवन

विशाल पुन (तस्वीरः मगेन्द्र राई)


मगेन्द्र राई
हङकङ, साउन ७

हङकङको प्रसिद्ध सिटी विश्वविद्यालयले विशाल पुनलाई पूर्ण छात्रवृत्तिमा कानुनमा स्नातक अध्ययन गर्न प्रस्ताव राखेको छ। वकिल बन्ने लक्ष्य राखेका विशाल भविष्यमा अभावमा बाँचेका नेपाली बालबालिकाका लागि केही गर्न चाहन्छन्।

२२ वर्षअगाडि हङकङमा जन्मिएका विशाल पुनको बाल्यकाल नेपालमै बित्यो। जन्मिएको केही समयपछि नै नेपाल पठाइएपछि मातृवात्सल्यको अभाव उनका हजुरआमा र बाबाले पूरा गरिदिए।

त्यसो त आफ्ना छोराछोरीलाई आफ्नो काख र साथबाट टाढा राख्ने मन कुनचाहिँ बाबा आमाको होला र! बाध्यताको गह्रुँगो ढुुंगा मुटुमाथि राखेर नेपाल पठाएका विशाललाई उनका बाबाआमाले १३ वर्ष पुगेपछि आफ्नै छत्रछायामा राख्न उद्देश्यले अन्ततः विशाललाई हङकङमै बोलाए।

नेपालमै प्राथामिक तहको अध्ययन छिचोलेका विशालले हङकङमा माध्यमिक स्तरको कक्षामा भर्ना भए। नौलो र भिन्न वातावरण अनि शिक्षा प्रणालीमा आफूलाई समाहित गराउन विशाललाई चुनौती नै थियो। यसैबीच एकांकीपन मेटाउन उनको संगीतसँग सामीप्यता पनि बढ्यो। गितार उनको एकान्तको भरपर्दो साथी बन्यो।

युनलोङस्थित बेथल हाइस्कुल फर्म १ मा उनी भर्ना भए। ‘विशाल अत्यन्तै अनुशासित र आज्ञाकारी थियो, पढाइमा मध्यम भए पनि खेलकुद, संगीत तथा अतिरिक्त क्रियाकलापमा मेधावी थिए,’ उक्त विद्यालयमा एक दशकदेखि पढाउँदै आएकी शिक्षिका शारदा गुरुङ विशालबारे सम्झिँदै भन्छिन्, ‘मिजासिलो स्वभाव भएकाले छोटो समयमै सहपाठीलगायत सबैको प्रिय बने।’

उनी थप्छिन्, ‘उनी आँखामा राख्दा पनि नबिझाउने लालगेडी जस्तै थिए,’ स्कुलको सांगीतिक ब्यान्डमा उनी सामेल भए, विशालले गितार बजाउने र गीत गाउने दुवै गर्थ्याे।’

तुलनात्मक रुपमा हङकङको पठनपाठन नेपालको भन्दा राम्रो भएको विशाल बताउँछन्। भन्छन् ‘नेपालमा पढाउने तरिका ‘धावन्ते खेती र घोकन्ते विद्या’ नेपाली उखानअनुरूप प्रयोगात्मक पढाइभन्दा बढी घोक्नु वा कण्ठस्थ पार्नुपर्ने हुन्छ। त्यहाँ शिक्षक र सहपाठीहरूसँग बढी निर्भर रहनुपर्ने र अतिरिक्त क्रियाकलाप कम हुने गर्छ, तर हङकङमा भने बढी प्रयोगात्मक, व्यावहारिक र आत्मनिर्भरयुक्त हुँदोरहेछ।’ कक्षामा शिक्षकले पढाएपछि घरमा स्वअध्ययन गर्न सकिने वातावरण हुने उनको अनुभव छ।

भविष्यमा यस्तै गर्छु वा बन्छु भन्ने गम्भीर योजना नबुनेका विशालले हङकङ डिप्लोमा अफ सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन (एचकेडिएसई– प्लस टु सरह) परीक्षाफल निस्किएपछि संगीत विश्वविद्यालय भर्ना हुने योजना बनाएका थिए। तर उनको परीक्षा नतिजा उत्साहजनक रहेन। उक्त विश्वविद्यालय भर्ना हुन न्यूनतम १२ अंक हुनुपर्नेमा विशालको १० अंकमात्रै आयो। उनको सपना त्यसरी तुषारापात भयो।

विश्वविद्यालयबाट अस्वीकृत बनेपछि उनी केही समय पारिवारिक भेटघाटका लागि नेपाल पुगे। त्यहाँ पुग्दाको घटनाले उनको निराशाजनक अवस्थालाई उत्साहमा परिणत गरिदियो। अर्थात् उनको जीवनले अर्कै सुन्दर मोड लियो।

BishalPun22

नेपाल यात्रामा छँदा उनले आफ्नै उमेर तथा साना उमेरका केटाहरूले सडक निर्माणमा कठिन परिश्रम गरिरहेको देखे। पढ्ने, लेख्ने, खेल्ने उमेरमा धुस्रै फुस्रै भएर प्रचण्ड गर्मीमा अनवरत परिश्रम गरेको देखेपछि विशालले आफूलाई उनीहरूको स्थानमा दाँजेर तुलना गरे, जसले उनलाई लज्जित र धिक्कारपुर्ण बनाइदियो।

उनले आफूले आफैँलाई मनमनै प्रश्न गरे– ‘उनीहरू त अभाव र बाध्यताले त्यस्तो दुःख खेप्नप¥यो, म भने संसारकै विकसित र स्रोत साधनले सम्पन्न हङकङमा बसेको छु, मैले यत्रो अवसर र सुविधा प्राप्त गरेर पनि किन यथेष्ट सदुपयोग गर्न सकिनँ?’ उनी यस दृश्यबाट जीवनमा केही असल काम गर्नुपर्छ भनेर अभिप्रेरित भए।

सोही क्रममा अर्को घटना सम्झँदै भन्छन् ‘एक दिन म बाटामा हिँडिरहेको थिएँ। करिब ६-७ वर्ष उमेरका एक बालकले मलाई ५ रुपैयाँ माग्यो। मैले ५ रुपैयाँले के गर्छौ भनी सोधेँ। उनले आफू भोकै भएकाले केही कुरा खान्छु भने। ‘अनि मैले वालेट निकालेँ, ५० रुपैयाँ रहेछ, सबै दिएँ,’ उनले भने, ‘मैले फेरि आफूलाई उनको स्थानमा राखेर तुलना गरेँ, अनि मनमनै सोचेँ– सायद म पनि उनीहरूजस्तै कमजोर आर्थिक अवस्था तथा मेरा बाबा–आमाले हङकङमा दुःख गरेर भौतिक आवश्यकता पूरा नगरिदिएका भए, मेरो हालत पनि यस्तै हुने थियो होला!’

यो घटनाले उनी पग्लिए, उनको मनमा करुणा, दया र सहानुभूतिको सागर उर्लियो। उनले त्यस्ता अभाव र गरिबिले पिल्सिएका बालबालिकाहरूका लागि केही गर्ने मनमनै प्रण गरे। ती सबै समस्या समाधान गर्न उच्च शिक्षा लिनुपर्ने उनले निर्क्याेल गरे।

जीवनलाई आमूल परिवर्तन गर्न शिक्षा मात्रै एक गतिलो अस्त्र हुने ठहर विशालले गरे। लक्ष्य प्राप्त गर्न कठिन भए पनि त्यो असम्भव नभएको रहस्य बुझे। सफलताले आफूलाई खोज्दैन, तर आफैँले सफलता खोज्ने प्रयत्न गर्नुपर्ने कुरा बुझे। अवसर आउँछ कि भनेर पर्खने होइन, आफैँले सिर्जना गर्नुपर्न सत्यता बुझे। उनले ज्याक मा को जीवनी पढे। अध्ययनका लागि १० पटकसम्म हार्वडबाट अस्वीकृत भएका ज्याक मा संसारकै सफल व्यक्ति बन्न सक्छन् भने आफू किन पछि पर्ने? यस्ता कुराले विशालको युवा मनमा उत्साहका नवीन प्वाँख पलाए। यही निर्णय गर्दै अन्ततः उनले पढ्नाका लागि आफूलाई एकपटक मौका दिन आफ्ना बाबासँग अनुरोध गरे।

‘डिग्री त कागजको एक टुक्रा मात्र हो, असल मान्छे बन्न अन्य धेरै कुरा जरुरी हुन्छ,’– आफ्ना बाबाको यो भनाइले आफू अझ अभिप्रेरित भएको विशाल बताउँछन्। उनी भन्छन्, ‘बाबाआमा नै मेरा आदर्श हुन्, साँचो भगवान् हुन्, भलै, मैले मेरो बाल्यकाल सँगै बिताउन पाइनँ, तर उहाँहरूले मेरा आवश्यकता परिपूर्तिका निम्ति गरेको अथक परिश्रमप्रति म अनुगृहीत छु।’

उनी अगाडि भन्छन्, ‘आफ्ना सन्तानप्रति असीमित र बिनासर्त माया गर्ने यो संसारमा आमाबाबुबाहेक अरू को हुन सक्छ?’

विशालले त्यही कागजको टुक्राबाट जीवनलाई कायापलट गर्ने अठोट गर्दै सन् २०१६ मा एचकेयु स्पेस कम्युनिटी कलेज फाउन्डेसन डिप्लोमा गर्न भर्ना भए। अनि कानुनमा एसोसिएट डिग्री हासिल गरे, ३.५७ जीपीए स्कोरसहित उत्तीर्ण भए। यही उत्कृष्ट नतिजा ल्याएबापत उनलाई हङकङको प्रसिद्ध सिटी विश्वविद्यालयले कानुनमा स्नातक अध्ययन गर्न प्रस्ताव राखेको छ। उनी त्यहाँबाट डिग्री लिएर असल व्यक्ति बन्न चाहन्छन्, अनि भविष्यमा अभावमा बाँचेका नेपाली बालबालिकाका लागि केही गर्ने चाहन्छन्।

उनी उच्च शिक्षा हासिल गर्नुलाई बुद्धिमानी लगानी मान्छन्। यसले हजारौँ लाखौँ गुणा बढी मुनाफा दिने उनको ठहर छ। शिक्षा त्यस्तो हतियार हो, जसको शक्तिले आफूलाई मात्र हैन, संसारै बदल्न सकिने उनको मान्यता छ। उनी भन्छन्, ‘दृढ़ अठोट भित्री मनबाट आउनु पर्छ। जुन अन्यत्रबाट आउन सक्दैन।’

हङकङमा अध्ययन गरिरहेका आफ्ना समकालीन र आफूभन्दा जुनियरले पढाइ छाडेर (स्कुल ड्रप आउट) काम गर्न लागेको अवस्थाप्रति संकेत गर्दै विशाल सुझाव दिन्छन्, ‘कम्तीमा पनि डीएसईसम्मको परीक्षा दिन जरुरी छ, नतिजा जस्तो आए पनि यो परीक्षा दिएपछि अन्य सम्भावनाका ढोका खुल्छन्।’

अगाडि भन्छन्, ‘नतिजा राम्रो नआए पनि निराश हुनु हुँदैन, लक्ष्यमा पुग्न अगाडि बढ्दा एक ढोका बन्द हुन सक्छ, तर अन्य ढोका खुलै हुन्छन् भन्ने भुल्नु हुन्न, युवा अवस्थामा गल्तीहरू हुन सक्छन्, हिँड्ने मान्छेलाई नै ठेस लाग्न सक्छ, असफलताको सामना गर्दै त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ।’

BishalPun33
हङकङमा विशाल पुन र जोनसन चान (तस्वीरः एससीएमपी)

अब उनी वकिल बन्न चाहन्छन्। त्यसका लागि उनी आत्मविश्वासका साथ कडा मिहिनेत गर्न तयार छन्। आफैँले सिर्जना गरेको अवसर गुमाउन चाहँदैनन्। भन्छन्, ‘नेपालमा यस्ता शैक्षिक अवसर प्राप्त गर्ने वातावरण छैन, जुन मैले हङकङमा प्राप्त गरेको छु, म यो मौका सदुपयोग गर्दै अध्ययनमार्फत विश्वविद्यालयमा आजीवन व्यावसायिक कला सिक्नेछु।’

यसबाट आफूलाई खास उद्देश्य पूरा गर्न तथा असल मान्छे बन्न मद्दत पुग्ने उनको विश्वास छ। यस हिसाबले डिग्री एउटा कागजको खोस्टा मात्र होइन भन्ने उनलाई लागेको छ।

विलासी जीवन र तडकभडकप्रति विशालको कुनै रुचि छैन। आफूलाई सहज लाग्ने लुगा लगाउँछन्। ब्रान्डप्रति ध्यान दिँदैनन्। पढाइ सुरु हुने बेलासम्म काम गरेर केही पैसा जोहो गर्दै छन्। अनावश्यक खर्च गर्न उनलाइ मन लाग्दैन। अनलाइन, भिडियो, मोबाइल गेम खेल्नु समयको बर्बादी ठान्छन् उनी।

भन्छन्, ‘यो समय हामी युवाका लागि असारको रोपाइँजस्तै हो, समयमा धान रोप्न सकिएन भने मंसिरमा भित्र्याउन सकिन्न, तसर्थ हामीले समयको सदुपयोग गर्न अत्यावश्यक छ, नत्र भविष्यमा पश्चातापको भुमरीमा रुमलिनको विकल्प रहन्न।’

विशाल अध्ययन पूरा गरेपछि हङकङमै काम गर्ने सोचमा छन्। केही बचत गरेपछि नेपालका विपन्न बालबालिकाका लागि सहयोग गर्ने उनको चाहना छ। भन्छन्, ‘अरूलाई मद्दत गर्न आफू बलियो हुन जरुरी छ, पानीमा डुब्दै गरेको मान्छे उद्धार गर्न आफू पौडी खेल्न जान्ने हुन जरुरी छ, नत्र आफ्नै ज्यान जोखिममा पर्छ।’

उनी थप्छन्, ‘मनमा करुणा हुन आवश्यक छ, जसले अरूका लागि पनि केही गरौं भन्ने भावना जगाउँछ। सय जनालाई खुवाउन नसके पनि एक जनालाई खुवाउन सकियो भने पनि त्यो सार्थक हुनेछ।’

साउन ७, २०७६, मंगलबार

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors