मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा पक्राउ परेका ११ जना नेपाली सेक्युरिटी गार्ड बिहीबार तारेखमा छुटेका छन्।
एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो भिडियो आफ्ना साथी र अरुलाई पनि मोबाइलबाट सेयर गरेको आरोपमा सोमबार उनीहरूलाई प्रहरीले पक्राउ गरी छानविन गरेको थियो।
मकाउ प्रहरीका अनुसार छानविनको क्रममा उनीहरूले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेपनि पैसा कमाउने उद्देश्यले त्यस्तो अपराध नगरेको बयान दिएका थिए।
एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार उनीहरू बिहिबार तारेखमा छुटेका हुन्।
‘११ जना नै तारेखमा छुटेका छन्, प्रहरीले बेलाएको बेला उपस्थिति हुनुपर्छ’, एनआरएनए मकाउका अध्यक्ष गुरुङले भने।
कुनै वेभसाइटबाट डाउनलोड गरेर हेरेपछि उनीहरूले मे र जुलाई महिनाको बिचमा अरुलाई पनि सेयर गरेका थिए। इन्टरपोलले यसरी पोर्न भिडियो सेयर भइरहेको जानकारी दिएपछि मकाउ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
चार दिन थुनामा बसेर छुटेका ११ जना नेपाली मकाउका चारवटा कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत छन्। उनीहरू २१ देखि ३६ वर्ष उमेरका छन्।
Shares
प्रतिक्रिया