शुक्रबारबाट आँधी नोलको प्रभावमा परेको हङकङ आज (आइतबार) बिहानसम्मको उच्च जोखिमलाई पार गर्दै दिउँसोसम्म आइपुग्दा सामान्यतर्फ पुगेको छ।
आँधी नोल सहरतर्फ सोझिँदै आएपछि हङकङमा स्थानीय समय शुक्रबार राति ८:४० मा पहिलो पटक टाइफुन चेतावनी संकेत टी१ जारी गरिएको थियो।
हावा बलियो हुने अनुमानपछि त्यसलाई शनिबार दिउँसो १:२० मा टी३ मा अपग्रेड गरियो। आँधीको प्रभाव गम्भीर हुने अनुमानसहित अब्जर्भेटरी यही राति १०:१० मा टी८ जारी गर्यो।
हङकङमा टी८ जारी भइसकेपछि सार्वजनिक जीवनका धेरै कुरा अवरुद्ध हुन्छन्, जसअन्तर्गत धेरै उडान र सार्वजनिक सेवा प्रभावति भए।
उच्च जोखिमका लागि टी८ काफी भएको हङकङमा आइतबार बिहान (राति १:१०) टी९ नै जारी गरियो, जबकि अब्जर्भेटरीको सूचनामा टी१० को आवश्यकता आँधीको प्रकृतिमा निर्भर रहने भने टी१० संकेतको सम्भावनालाई पनि उजागर गरिएको थियो।
यद्यपि, हङकङमा आँधीले थप हुन्डरी मच्चाउन पाएन। यो कमजोर बन्दै गएको आकलन पछि बिहान ७:१० मा अर्को सूचना निकाल्दै अब्जर्भेटरीले टाइफुन संकेतलाई ८ मा झार्यो र आँधी प्रभाव अझै कायम रहेको सतर्कता अपनाइरहन भन्यो।
हावाको तीव्रता घट्दै गएपछि भने दिउँसो १२:४० मा ८ बाट घटाएर टी३ कायम गरियो। थप कमजोर भएपछि दिउँसो ३:२० मा टी१ मा झार्दै हाल उक्त संकेत कायम छ। दिउँसो ३ बजेसम्म, आँधी १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-पश्चिम सरिरहेको छ, जुन हङकङबाट १६० किलोमिटरको दूरीमा छ।
आँधी नोलका कारण यो ४३ घण्टामा हङकङभरि १८ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन्। भौतिक संरचनामा ठुलो क्षति भएको जनाइएका ती समाचारमा दिउँसो १ बजेसम्म ३३१ वटा रुख ढलेको र ८ वटा बाढीको सूचना प्राप्त भएको उल्लेख छ।
ड्रेनेज सेवा विभागले भने आइतबार बिहान ११ बजेसम्म बाढीका पाँच वटा घटना पुष्टि गरेको थियो। विभागका अनुसार, तामसुई हाङ नजिकैको साताउ कक रोड, ओनपो गाउँ नजिकैको फ्यानकाम रोड, ताईपोको तुङचि, शेकवु वाई र केनेडी टाउनको न्यु प्रायामा बाढीले असर गर्यो।
यसबिचमा गृह विभागले सहरभिर २९ वटा अस्थीय आश्रय स्थल खोलेको थियो, जहाँ २३५ जनाले आश्रय लिए।
आँधीका कारण हङकङमा आइतबार ३५० उडान रद्द गरिएका थिए। यद्यपि, आँधीको प्रभाव कम हुँदै गएकोले पुन: सुरु हुनसक्ने विमानस्थल प्राधिकरणले संकेत दिएको छ।
उडान अवरोध बाहेक, आइतबार १९० भन्दा बढी सीमापार उच्च-गति रेल सेवा पनि रद्द गरिएका थिए।
हाल आँधीको प्रभाव कम हुँदै गए पनि आइतबार र सोमबार हङकङमा हुरीबतास र मेघगर्जनसहित वर्षा हुने अब्जर्भेटरीको अनुमान छ।
Shares

प्रतिक्रिया