हङकङ प्रहरीले बिना इजाजतपत्र नाइटक्लब र जुवा अड्डा चलाएको आरोपमा ६५ जनालाई पक्राउ गरेको छ। आरोपितहरूले अवैध लागुपदार्थको कारोबार गर्ने र गैरकानुनी कामदारलाई काममा राख्ने गरेको आरोपमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी सुपरिटेन्डेन्ट चिङ चीले आइतबार जानकारी दिएअनुसार गुप्तचर निकायको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
शुक्रबार र शनिबारसम्मको अपरेसनमा प्रहरी र अध्यागमन विभागको १७० भन्दा बढी संलग्न टोलीले हङहोम, याउमा तेई, चिमसा चोई, मङकक र शामशुई पोका १० वटा स्थानमा छापा मारेको हो।
साथै, काउलुन वेस्टका केही क्षेत्रमा पनि यस्ता अड्डा सञ्चालनमा रहेको जानकारी पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ६५ जनामध्ये ४० जना पुरुष र २५ जना महिला हुन्। २५ देखि ६३ वर्ष उमेर समूहका उनीहरूमाथि लागुऔषध ओसारपसार, अवैध जुवा, मनी लाउन्ड्रिङ र हङकङमा बसाईका सर्त उल्लङ्घन गरेको आरोप छन्।
दुई दिने अपरेसनमा पहिलो छापा हङहोमका औद्योगिक भवनभित्र गरिएको थियो। जहाँका अवैध नाइटक्लबहरू लक्षित थिए। यहाँ अवैध लागुऔषधको कारोबार भएको र होस्टेसको रूपमा काम गर्न दुईतर्फी अनुमतिमा हङकङ आएका मुख्यभूमि चिनियाँ महिलाहरूलाई काममा राखिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया