चीन र अमेरिकाले कृत्रिम बुद्धिमत्ता (एआई) को शासन सुधार गर्ने बारेमा औपचारिक वार्ता गर्ने भएका छन्। द्रुत गतिमा विकसित हुँदै गइरहेको प्रविधिबाट उत्पन्न जोखिम व्यवस्थापन गर्न दुई महाशक्ति मिलेर जाने बारेमा संवादको तयारीमा रहेका हुन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गतहप्ता चीनको राजकीय भ्रमणको क्रममा, उनी र उनका चिनियाँ समकक्षी सी जिनपिङले एआईमा ‘रचनात्मक आदानप्रदान’ गरेका थिए।’
दुई शीर्ष नेताले आफ्ना सरकारहरूले यस विषयमा थप वार्ता गर्नुपर्छ भन्ने कुरामा सहमति जनाएको समेत प्रवक्ता गुओले बताए।
‘दुई प्रमुख एआई शक्तिहरूको रूपमा, चीन र संयुक्त राज्य अमेरिकाले एआईको विकासलाई प्रवर्द्धन गर्न र यसको शासन सुधार गर्न मिलेर काम गर्न आवश्यक छ ताकि यसले मानव सभ्यताको प्रगति र अन्तर्राष्ट्रिय समुदायको साझा कल्याणमा राम्रो योगदान पुर्याउन सकोस्,’ गुओको थप भनाइ पोस्टले उद्धृत गरेको छ।
गतहप्ता चीन भ्रमणको फिर्ती उडानका क्रममा अमेरकी राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरूसँग भनेका थिए, ‘गार्ड रेलहरूको लागि सम्भवतः सँगै काम गर्ने बारेमा कुरा भएको छ।’
Shares

प्रतिक्रिया