हङकङको क्याथे प्यासिफिक एयरवेजले बोर्डिङ गेट बन्द हुने समय पाँच मिनेट घटाउने भएको छ। एयरलाइन्सले बिहीबार जानकारी गराएअनुसार जुन १ देखि प्रस्थानको १५ मिनेटअघि सबै बोर्डिङ गेट बन्द हुने छन्। बोर्डिङ समय पनि पाँच मिनेट अगाडि ल्याइनेछ।
यो परिवर्तन विश्वव्यापी रूपमा सबै क्याथे प्यासिफिक उडानमा लागु हुने एयरलाइन्सले जनाएको छ। जसअनुसार अब हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको क्यारियरको हबबाट प्रस्थान गर्ने उडानले आफ्नो अघिल्लो तालिकाभन्दा पाँच मिनेट अगाडि बोर्डिङ प्रक्रिया सुरु गर्नेछन्।
विमान टेकअफमा ढिलाइ हुनुका प्रमुख कारणमध्ये यात्रु ढिलो आइपुग्नु एक महत्त्वपूर्ण कारक रहने गरेको भन्दै समयको यो समायोजनबाट उक्त समस्या समाधान हुने एयरलाइन्सले भनेको छ।
यसका साथै, बोर्डिङ प्रक्रिया पहिले सुरु गर्नाले यात्रुलाई आफ्नो क्याबिनमा सामान राख्न र टेकअफ गर्नुअघि सिटमा बस्न थप समय पुग्ने दाबी गरिएको छ। तालिका समायोजनले अन्तर्राष्ट्रिय अभ्याससँग समानता पाउने क्याथेको भनाइ छ।
Shares

प्रतिक्रिया