इन्धनको मूल्य बढ्दै गएपछि हङकङ सरकारले मे महिनादेखि ट्याक्सी, सार्वजनिक मिनीबस र स्कुल बसले प्रयोग गर्ने तरल पेट्रोलियम ग्यास (एलपीजी)मा दुई महिनाको लागि अनुदान सुरु गर्ने भएको छ। यस्तै, पहिले नै डिजेलमा घोषणा गरिएको अनुदान भने बिहीबारदेखि लागु हुँदैछ।
वित्तीय सचिव पल चानले इन्धन मूल्य अनुगमन गर्ने अन्तरविभागीय कार्यदलले मे महिनादेखि सुरु हुने गरी दुई महिनाको लागि प्रतिलिटर ५० हङकङ सेन्ट अनुदान प्रस्ताव गरेको बताएका हुन्। यो अनुदान मुख्यगरी ट्याक्सी, मिनीबसलगायतका सवारी साधनलाई लक्षित गरी ल्याउन लागिएको हो।
‘धेरैजसो मिनीबस र ट्याक्सी एलपीजीबाट चल्ने भएकाले यी सवारी साधनलाई लक्षित गरी अनुदान सुरु गर्न लागिएको हो,’ वित्त प्रमुख चानले बुधबार भने।
यो अनुदानबाट सरकारलाई ३८.४ मिलियन हङकङ डलर आर्थिक भार पर्नेछ। जुन, आन्तरिक रूपमा पुन: विनियोजन गरिने यातायात तथा रसद सचिव मेबल चानले बताइन्। सचिव चानका अनुसार यो व्यवस्थाबाट १६ हजार ९०० ट्याक्सी, ३ हजार ४४० मिनीबस र १७० वटा स्कुल बसले लाभ लिन सक्ने छन्।
Shares

प्रतिक्रिया