बिहीबार बिहान ७ बजेदेखि नेपालमा देशभर प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। गएको भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि जेनजी मागबमोजिम जनताको सरकार बन्यो। जसले म्यान्डेट पायो– प्रतिनिधि सभा विघटन गरी निर्वाचन गर्ने।
सोही अनुसार प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको विघटन सिफारिससँगै फागुन २१ (आज)का लागि निर्वाचन तोकिन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेपछि देश निर्वाचनमा होमियो।
यसबिचमा चुनाव होला/नहोला? भन्ने अनेक् आशंका पैदा भए। कतिपय दलले निर्वाचनको वातावरण भइनसकेको गुनासो गरिरहँदा राष्ट्रपतिको पहलमा प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका नेताहरू छलफलमा पनि बसे। अनेक शंका र उपशंकालाई चिर्दै अन्तत: आज देश निर्वाचनमा होमियो।
निर्वाचन आयोगका अनुसार दिउँसो साढे ४ बजेसम्ममा देशभरबाट ९० लाख ५० हजार मत खसेको छ। ५ बजेसम्मलाई तोकिएको समय सकिइसकेको छ भने जम्मा कति मत खस्यो भन्ने आँकडा आइसकेको छैन।
आयोगको आँकडाअनुसार दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको थियो। जसअनुसार काठमाडौँ उपत्यकामा ४७, कोसी प्रदेशमा ३२, मेधसमा २८, बागमती (उपत्यका बाहेक) ३४, गण्डकीमा ३९, लुम्बिनीमा २९, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत मत खसेको थियो।
देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकोमा २ बजेसम्म ६ लाख २२ हजार ४२ मत खसेको हो जुन ३३ प्रतिशत हुन आउँछ।
विशेष परिस्थितिबाट जन्मिएको यो चुनावको देशमा मात्र नभई विदेशमा पनि चासो उत्तिकै छ। त्यसमाथि विदेशमा रहेका नेपालीको झन् बढी चासो हुने भइ नै हाल्यो। यस्तै, हङकङमा बस्ने नेपालीले देशमा चलिरहेको निर्वाचनलाई कसरी हेरिरहेका छन् त? हेरौँ, केही प्रतिनिधि उदाहरण-
लामो समयदेखि हङकङमा बस्दै आएकी कवि जुनु दिव्य रानाले नेपाली कांग्रेसका सभापति गगन थापा र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै अब देशको प्रधानमन्त्रीको जिम्मेवारी लिन किन र के कारणले यी दुई पात्र उपयुक्त छन् भनेर पहिलो र दोस्रो विकल्प अघि सारेकी छन्।
पहिलो विकल्पमा अघि सारेका थापालाई उनले विद्यार्थी कालदेखि नेपाली राजनीतिमा लागेका अनि देश, समाज र परिवेश बुझेका तथा आफैँले राजनीतिक ‘लिगेसी’ निर्माण गरेका कारण प्रधानमन्त्रीका लागि उपयुक्त ठानेकी छन् भने दोस्रो विकल्पमा अघि सारेका साम्पाङलाई आफ्नो माटोलाई प्रेम गर्ने, श्रमको महत्त्व बुझाउने, एमसीसी विरोधी र देशलाई भ्रष्टाचारमुक्त गर्छु भन्ने अठोट लिएका कारण प्रधानमन्त्रीको उम्मेदवार हुन लायक भनेकी छन्।
यस्तै, हङकङमा कर्मसँगै साहित्यमा पनि रमाइरहेकी बालिका बान्तावा जनताको भोटबाट जोकोही जितेर आए पनि इमान्दार बनुन् भन्ने कामना गरेकी छन्। कुनै पनि पार्टी वा संस्था गलत नहुने र त्यसभित्रका एकाध गलत व्यक्तिका कारण कारण समस्त पार्टी वा संस्थालाई गाली नगर्न पनि उनको सुझाव छ।
बान्तावा सञ्जालमा लेख्छिन्, ‘फेरि हामी सत्ता बाहिर बसेर नेताहरूलाई गाली गरे जस्तो सहज कहाँ हुन्छ र? हामी आफ्नै दुई/तीन जना मात्र भएको परिवार नै कसरी चलिरहेछ हेर्न सकिन्छ।’
हङकङका अर्का नेपाली बज्रकुमार थुलुङ राईले आजको निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने कामना गर्दै कुनै अप्रिय घटना वा दुर्घटनाबिना सबैले आफ्नो मताधिकारको प्रयोग सहज रूपमा गर्न पाउन् र यही मितिबाट नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ बिहानीको सुरुआत होस् भनी कामना गरेका छन्।
आजको निर्वाचनले चुनिने नेतृत्वबाट हरेक नेपालीले आफ्नो माटोमा सम्मानपूर्वक बाँच्न, कोही नेपाली रोजगारीकै खातिर विदेशिन बाध्य हुनुपर्ने परिस्थितिको अन्त्य होस् भन्ने उनको चाहना छ। शिक्षा, स्वास्थ्य र रोजगारी सबैको पहुँचमा हुनेगरी नेतृत्व चयन हुनेमा उनी आशावादी देखिन्छन्।
थुलुङ सञ्जालमा लेख्छन्, ‘साँच्चै, आजको मतदानले त्यस्तै नेपाल बनोस्- जहाँ सबै जाति, सबै धर्म, सबै वर्गका मानिसलाई बस्न सहज र सुरक्षित होस्। एउटा यस्तो देश, जहाँ कोही पनि ‘अतिथि’ जस्तो महसुस गर्न नपरोस्, सबै नेपालीले आ-आफ्नो घरजस्तै महसुस गर्न पाऊँ।’
यसैगरी मकाउमा बस्दै आएका चेतन गुरुङले सञ्जालमार्फत नेपालमा भइरहेको चुनाव शान्तिपूर्ण र सफलता काम गर्दै यो निर्वाचनले देशको मुहार फेरोस् भनेका छन्।
Shares

प्रतिक्रिया