नेदरल्यान्ड्स र स्पेनबाट हङकङ आएका दुई ढुवानी कन्टेनरबाट ठूलो मात्रामा लागु पदार्थ बरामद भएको छ।
कन्टेनरमा रहेको बेबी कार सिटभित्र लुकाइएको केटामाइनसहित तीन जना पक्राउ गरिएको हङकङ भन्सारले जनाएको छ। जफत गरिएको केटामाइनको अनुमानित मूल्य एक करोड ८० लाख हङकङ डलर रहेको छ।
भन्सार तथा अन्तःशुल्क विभागले बिहीबार जानकारी गराएअनुसार गुप्त सूचनाका आधारमा अधिकारीहरूले दुई समुद्री कन्टेनरको निरीक्षण गर्ने क्रममा ३६.२ किलोग्राम लागुऔषध फेला परेका हुन्।
पहिलो पटक डिसेम्बर १६ मा कार हेड रिस्ट्रेन्ट र बेबी कार सिट बोकेर नेदरल्यान्ड्सबाट आएको कन्टेनरमा रहेका पाँच वटा बक्सबाट झन्डै १५.६ किलोग्राम केटामाइन जफत गरिएको थियो।
त्यसको तीन दिनपछि, स्पेनबाट आएको अर्को कन्टेनरमा १० वटा बक्समा लुकाइएको झन्डै २०.६ किलोग्राम लागुऔषध भेटिएको हो।
भन्सारको कन्टेनराइज्ड कार्गो जाँच एकाइका वरिष्ठ निरीक्षक लाउ चेलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार लागु पदार्थ लुकाउन शिशु कार सिटको भित्री भाग प्रयोग गरिएको थियो। दुवै कन्टेनरमा सिटको तल्लो भाग कालो टेपले र्याप गरिएको थियो।
‘दुई ढुवानी फरक-फरक स्थानबाट भएको भए पनि लागु पदार्थ ओसारपसार गिरोहले भन्सारबाट बच्न चतुर उपाय अपनाएको देखिन्छ,’ चेले भनिन्, ‘अधिकारीहरूले कार्गोको निरीक्षणमा निकै समय खर्चनु परेको थियो।’
Shares

प्रतिक्रिया