अमेरिका उड्न लागेकी एक किशोरी हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन्। १७ वर्षीया स्थानीय युवती अमेरिकाको उडानमा चढ्ने तयारी गरिरहेका बेला उनको क्यारी-अन सामानमा पेपर स्प्रे र एक्सपान्डेबल ब्याटन (फोल्ड गर्न मिल्ने लट्ठी) फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटना जनवरी ४ को हो। सुरक्षा कर्मचारीहरूले यात्रुहरूको जाँच गर्ने क्रममा गर्दा निषेधित वस्तुहरू फेला पारेपछि विमानस्थल प्रहरीलाई खबर गरेका थिए। यसपछि घटनास्थलमा पुगेका प्रहरीले बन्दुक र गोलाबारुद अध्यादेश तथा उड्डयन सुरक्षा अध्यादेश उल्लङ्घन गरेको आरोपमा किशोरीलाई पक्राउ गरेका हुन्।
पछिल्लो १२ दिनको अवधिमा विमानस्थलमा यस्तो घटना दोहोरिएको यो चौथो पटक भएको प्रहरीले जनाएको छ। विभिन्न कारणले गर्दा हङकङबाट प्रस्थान गर्ने केही यात्रुले विस्तार गर्न मिल्ने यसप्रकारका डन्डा, पेपर स्प्रे जस्ता प्रतिबन्धित वस्तु बोकेको भेटिएको भन्दै प्रहरीले हङकङको कानुनअन्तर्गत यो गैरकानुनी भएकोले यस्तो गतिविधि नगर्न अपिल गरेको छ।
यस्तो कार्यमा दोषी ठहरिए अधिकतम पाँच वर्षको जेल सजाय हुन सक्ने कानुनी प्रावधान रहेको प्रहरीले सम्झाएको छ।
पक्राउ परेकी किशोरी जमानतमा रिहा भएकी छन्। उनको मुद्दा प्रहरीको एयरपोर्ट जिल्ला अनुसन्धानकर्ताले हेरिरहेको स्थानीय सञ्चार माध्यममा समाचार छापिएको छ।
Shares

प्रतिक्रिया