हङकङ आगलागी: मृतकको संख्या ४४ पुग्यो, ४५ जना गम्भीर घाइते

२७९ जना अझै बेपत्ता, मृतकको संख्या बढ्ने अनुमान
हङकङ आगलागी: मृतकको संख्या ४४ पुग्यो, ४५ जना गम्भीर घाइते

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार ७:३५, काठमाडौँ

हङकङको ताईपोमा भएको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार आगलागीमा परेर ४५ जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा २७९ जना अझै बेपत्ता छन्। 

आगलागीमा परेर घाइते भएका २९ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक र एक सल्लाहकारसहित तीन जनालाई भवन नर्मिाणमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ गरिएको छ। 

उनीहरूले स्काफोल्डिङको जालीमा बाँसजन्य सामग्री प्रयोग गरेको र स्टाइरोफोमले झ्यालहरू बन्द गरेको आरोप छ।

जसले गर्दा आगलागी सुरु भएको र आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ।

आगलागी भएका भवनमा ठूलो संख्यामा मानिसको बसोबास थियो। हङकङ समयअनुसरा बिहीबार बिहान ३ बजेसम्ममा नौसय भन्दा बढी बासिन्दालाई आगलागी भएको भवनबाट सामुदायिक हलहरूमा आश्रय दिइएको छ।

जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो। जहाँ बाँसको स्काफोल्डिङलाई हरियो जालीले ढाकिएको थियो।

मर्मत सम्भार भइरहेका ती भवनमा स्टाइरोफोम पदार्थ फेला परेकोले आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताएका छन्। यद्यपि, घातक आगलागीको ठोस कारण पत्ता लगाउन सरकारले अनुसन्धान गरिने बताएको छ।

आगलागीमा परेका सात भवनमध्ये तीन वटामा ठूलो क्षति पुगेको छ। बुधबार दिउँसोबाट सुरु भएको आगलागी झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको छ।

अप्रत्याशित र विपत्तिजन्य घटना घटेपछि शातिनस्थित प्रिन्स अफ वेल्स अस्पतालमा राति नै पत्रकार सम्मेलनमार्फत घटना विवरणबारे जानकारी गराएका हङकङका प्रमुख कार्यकारी जोन लीले आगलागीलाई ठूलो विपत्ति भनेका छन्।

साथै, सहरमा डिसेम्बर ७ का लागि तोकिएको संसद्‌को चुनावी गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

यसअघि, राष्ट्रपति सी जिनपिङले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाबारे दुस्ख व्यक्त गरेका थिए। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार राष्ट्रपति सीले हताहती र क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आह्वान गरेका थिए।

आगलागी बुधबार दिउँसो २:५१ बजे सुरु भएको प्रहरीले जनाएको छ। त्यसको केही समयमै वाङफुक कोर्टमा रहेको घटनास्थलबाट धुवाँको मुस्लो निस्किएको थियो भने आगो द्रुत गतिमा स्टेटको आठ ब्लकमध्ये सात वटामा फैलिएको थियो।

सुरुमा नम्बर १ अलार्म फायरको रूपमा वर्गीकृत गरिएको आगलागी तुरुन्तै दिउँसो ३:३४ बजे नम्बर ४ र त्यसपछि साँझ ६:२२ बजे शीर्ष तह ५ मा वर्गीकरण गरिएको थियो। हङकङमा आगलागीलाई एकदेखि पाँचसम्मको स्केलमा वर्गीकरण गरिन्छ। उच्च संख्याले बढी गम्भीरतालाई जनाउँछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .