हङकङ सीआर७ लाइफ म्युजियमको उद्घाटन हुनुभन्दा घण्टौँअघि दर्जनौँ मानिस लामबद्ध थिए। जुन प्रदर्शनी फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवन उत्सव मनाउने एक प्रदर्शनी हो। जहाँ बालन डी’ओर, गोल्डेन बुट अवार्ड र फिफा क्लब विश्वकप गोल्डेन बल प्रदर्शनमा छन्।
गोल्डेन बलको रूपमा समेत चिनिने बालोन डी’ओर फुटबलको संसारमा प्रतिष्ठित पुरस्कारमध्ये एक हो। यो पुरस्कार अघिल्लो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्ने गरिन्छ। फुटबल फ्लिक लेख्छ– यो अवार्ड फ्रान्सेली पत्रिका फ्रान्स फुटबलले अन्तर्राष्ट्रिय पत्रकारहरूको प्यानल भोटको आधारमा विश्वको सर्वश्रेष्ठ पुरुष फुटबल खेलाडीलाई वार्षिक रूपमा प्रदान गर्दछ।
बालोन डी’ओरको इतिहास सन् १९५६ बाट सुरु भएको हो। जतिबेला फ्रान्स फुटबल पत्रिकाले वर्षको सर्वश्रेष्ठ युरोपेली फुटबल खेलाडीलाई सम्मान गर्न एक पुरस्कार सिर्जना गर्ने निर्णय गरेको थियो। त्यतिबेला युरोपमा खेल्ने खेलाडी मात्र यो पुरस्कारको लागि योग्य हुन्थे।
हङकङमा स्थापित रोनाल्डो संग्रहालयको भ्रमणका लागि आगन्तुकको भिड लाग्नुको कारण यतिमा मात्र सीमित भने छैन। आयोजकले सोमबार घोषणा गरेअनुसार यस संग्रहालयको अवलोकनका लागि रोनाल्डोले ‘चाँडै नै’ हङकङको भ्रमण गर्नेछन्। भ्रमणको तिथिमितिका बारेमा भने आयोजक मौन रहे।
साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार प्रदर्शनीको उद्घाटनको दिन बिहान साढे ११ बजे नै झन्डै ५० जना के११ को छैठौँ तलामा लाइनबद्ध थिए। जबकि प्रदर्शनीको ढोका दिउँसो १ बजे खुल्ने वाला थियो।
यो भिडमा फिलिपिन्सकी पर्यटक जोहान बिहिस पनि थिइन्। जसले संग्रहालयको अवलोकनकै लागि हङकङको यात्रा तय गरेकी थिइन्। उनी बिहान साढे ९ बजेदेखि नै लाइनमा बसेकी थिइन्। उद्घाटनका दिन सर्वसाधारणका प्रदर्शनीस्थलको ढोका १ बजे खुलेको थियो भने अन्य दिन १० बजे नै खुल्ने भनिएको थियो।
‘सामाजिक सञ्जालमा हङकङमा क्रस्टियानो रोनाल्डो संग्रहालय खुल्दैछ भन्ने सन्देश देख्नेबित्तिकै मैले उडान बुक गरेँ,’ फिलिपिन्सबाट आएकी बिहिसले भनिन्, ‘मलाई लाग्छ यसले मलाई उनको नजिक पुर्याउनेछ, हैन? जसको लागि मलाई संग्रहालय हेर्न पोर्चुगलसम्म उडान गर्नु पर्दैन।’
Shares

प्रतिक्रिया