रातभर रमाइलो हुने हङकङका यी सहर शुक्रबारदेखि सुनसान

रातभर रमाइलो हुने हङकङका यी सहर शुक्रबारदेखि सुनसान

मगेन्द्र राई
चैत २१, २०७६ शुक्रबार १६:४७,

ग्राहक तथा पर्यटकको निकै चहलपहल हुने हङकङका प्रख्यात ठाउँहरू शुक्रबार साँझदेखि सुनसान भएका छन्।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत यहाँको सरकारले हङकङका सम्पूर्ण बार तथा पब २ हप्ताका लागि बन्द गराएसँगै लान क्वाई फोङ, वान चाईलगायत क्षेत्र शुक्रबार साँझ ६ बजेदेखि सुनसान भएका हुन्।

रात्रि जीवन र तनाव हटाउन मदिराको चुस्की लिँदै आनन्द लिन विश्वकै आकर्षक मानिएको लान क्वाई फोङ र वान चाइका बार र पब यतिबेला सुनसान बनेका छन्।

Hongkongsahar2

सरकारको आदेशअनुसार हङकङमा रहेका करिब ११ सय बार तथा पब बन्द गरिएका हुन्। बार र पबको हब मानिने लान क्वाई फोङ, वान चाईलगायत क्षेत्र यतिबेला ‘भूत सहर’मा परिणत भएका छन्।

लान क्वाई फोङमा बार सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका एक नेपालीले नेपालखबरसँग भने, ‘लाङ क्वाई फोङ मसानघाटजस्तै भएको छ, यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन।’

आन्दोलनले केही असर पारेको आफूहरूको व्यवसाय कोरोनाले त कोमामै पुर्याएको उनले बताए।

उनका अनुसार यस्तै अवस्था रहे ३–४ महिनाभित्र हङकङका धेरैजसो बार सधैंका लागि बन्द हुने अवस्था आउन सक्छ।

हङकङमा एकाएक कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि यहाँको सरकारले १४ दिनका लागि हङकङका सम्पूर्ण बार तथा पब बन्द गराउन बिहीबार साँझ नै आदेश दिएको थियो।

सरकारको आदेशअनुसार बार र पब त पूर्ण रूपमा बन्द भएका छन् नै, कतिपय रेस्टुरेन्ट तथा क्लब हाउसका सेक्सन पनि बन्द गरिएका छन्, जहाँ मदिराको बढी उपभोग गरिन्छ। अहिले हङकङमा रहेका करिब ८ हजार ६ सय रेस्टुरेन्टले मदिरा बिक्री गर्न पाएका छैनन्। शुक्रबार साँझबाटै प्रहरीले बार, रेस्टुरेन्ट तथा पबमा निगरानी बढाएको छ।

Hongksahar3

गत हप्ता मात्र सरकारले ४ जनाभन्दा बढीको समूह हिँड्न प्रतिबन्ध लगाउँदै सम्पूर्ण मनोरञ्न स्थल, इनडोर आउटडोर खेल मैदान, व्यायामशाला आदि बन्द गराएको थियो।

बार तथा रेस्टुरेन्टमा एउटा टेबलमा बढीमा ४ ग्राहक बस्न पाउने तथा डेढ मिटरको दूरी राखेर सेवा दिनुपर्ने नियम तोकेको थियो। सरकारले विज्ञप्तिमार्फत भनेको छ, ‘विशेष वा मुख्य रूपमा मादक पदार्थ बिक्री वा आपूर्तिका लागि प्रयोग गरिने कुनै पनि परिसर उपभोगका लागि बन्द गर्नुपर्नेछ।’

नेपालीद्वारा सञ्चालित अधिकतर बार रेस्टुरेन्ट बन्द
नेपालीको घना बस्ती भएको जोर्डन र चिम सा चुई क्षेत्रमा नेपालीद्वारा सञ्चालित झन्डै २ दर्जन बार रेस्टुरेन्टमध्ये अधिकतर बन्द छन्। जोर्डनका समेत कतिपय रेस्टुरेन्ट बन्द गरिएका छन्।

नेपालीले सञ्चालन गरेको जोर्डनको चल्तिको बगैंचा रेस्टुरेन्टसमेत २ हप्ताका लागि बन्द गरिएको रेस्टुरेन्टका सीईओ धिरजकुमार राईले नेपालखबरलाई बताए।

Hongkongsahar4

‘अल्कोहलमै प्रतिबन्ध लागेपछि खाना मात्रै बेचेर लागत उठाउन सम्भव छैन, फेरि यो कठिन घडीमा सरकारको कदमलाई समेत साथ दिनु असल नागरिकको कर्तव्य पनि हो,’ राईले भने, ‘तसर्थ हामीले २ हप्ता बन्द गर्ने निर्णय गरेका हौं, तर हामी कर्मचारी कटौती गर्ने छैनौं।’

जोर्डनकै ब्लु ओसन रेस्टुरेन्ट भने सञ्चालनमै छ। सरकारद्वारा निर्धारित नियममुताबिक रेस्टुरेन्ट सञ्चालन गरिने रेस्टुरेन्टका डाइरेक्टर सुरेश लिम्बुले बताए।

अटेर गर्नेलाई ५० हजार डलर जरिवानासहित ६ महिना जेल सजाय तोकिएको छ। बार सञ्चालकले सरकारको अप्रत्याशित कदमको आलोचना गरेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .