नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाको संघर्ष कथामा आधारित नेपाली चलचित्र ‘अन्जिला’ हङकङमा दोस्रो पटक प्रदर्शन हुने भएको छ।
पाथिभरा ग्रुप हङकङ र अन्जिला घर निर्माण परिवार हङकङले यही मे २५ आइतबारका दिन याउमा तेईस्थित हेनरी जी. ल्योङ कम्युनिटी सेन्टरमा चलचित्र प्रदर्शन गर्ने भएको हो।
आयोजक टिममा जीवन गुरुङ, अरुण राई, युवक लिम्बू, हाङ चेम्जोङ, श्याम इङनाम, रविन नाल्बो र गणेश गुरुङ रहेका छन्।
यसअघि निर्देशक मिलन चाम्स र अन्जिलाको समुपस्थितिमा ८ डिसेम्बर २०२४ को साँझ करिब साढे ९ सय दर्शक सिट क्षमता भएको युनलङ थिएटरमा पाथिभरा ग्रुपले चलचित्रको प्रिमियर शो गरेको थियो।
उक्त शोबाट प्राप्त सबै रकम अन्जिलाको घर निर्माणका निम्ति नेपाल पठाइसकेको पाथिभरा ग्रुपका कालसिं राईले बताए।
देश-विदेशमा अत्यधिक रुचाइएको यो चलचित्र मुख्यत: यहाँका दर्शकको माग, अन्जिला घर निर्माण अभियानसँग जोडिन चाहने महानुभावहरूका साथै जनसाधारणले हेर्न पाउन् भन्ने उद्देश्यले पुन: प्रदर्शन गर्न लागिएको आयोजक टिमका सदस्य अरुण राईले बताए। उनका अनुसार टिकट दर हङकङ डलर २०० र ३०० राखिएको छ।
अन्जिलाका गडफादर प्रेमकुमार श्रेष्ठ मुख्य निर्माता र युवा निर्देशक मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा स्वयं अन्जिला तुम्बापो, दयाहाङ राई, सृजना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय छ।
यसै प्रसङ्गमा निर्देशक मिलन चाम्सले ‘आफूले पारिश्रमिक नलिएको र परिआए उल्टै दिन समेत तयार रहेको’ बताउँदै महान् उद्देश्यका साथ निर्माण गरिएको चलचित्रलाई हलमा गएर हेरिदिन संसारभरका नेपालीलाई अपिल गरे।
यसका साथै, अन्जिलाले यस चलचित्रबाट बन्ने घरलाई राष्ट्रिय महिला फुटबल एकेडेमीको रूपमा विस्तार गर्ने बताउँदै आएकी छन्।
Shares

प्रतिक्रिया