धरानमा निर्माण गरिने भनिएको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’का निम्ति सहयोग संकलन गर्न हङकङ आउने तयारीमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तिम समयमा भ्रमण स्थगित भएको जानकारी दिएका छन्।
सामाजिक सन्जाल फेसबुकमा सोमबार स्टाटस पोस्ट गर्दै भिसा प्रक्रिया गलत भएको भन्दै उनले भ्रमण स्थगित गरेको जानकारी गराएका हुन्। उनलाई हङकङ आउनका लागि रोजगार (इम्प्लोइमेन्ट) भिसा उपलब्ध गराइएको थियो।
यो भिसाको प्रकृति नै गलत भएको भन्दै मेयर साम्पाङले आफू जनप्रतिनिधि भएको र त्यहाँ काम गर्न जान नलागेको र रोजगार भिसा नभई भिजिट भिसा हुनुपर्ने तर्क राखेका छन्।
भिसाको सहजीकरण गर्ने हङकङ एकीकृत नेपाली समाज (हिन्स)ले रोजगार भिसा उपलब्ध गराई आफूमाथि नियन्त्रण गर्न खोजेको, आयोजकहरू आपसमा नमिलेको, राजनीति भएको जस्ता विषयलाई इङ्गित गर्दै हङकङ भ्रमण गर्न रद्द गर्नुपरेको उनले बताएका छन्।

मेयर साम्पाङ किरात राई यायोक्खा हङकङ, धरान हङकङ मन्च र नेपाल फेस्ट २०२५, हङकङको संयुक्त आयोजनामा मे ३ देखि ९ सम्मका कार्यक्रममा सहभागिता जनाउने गरी हङकङ आउन लागेका थिए।
उनी मे ३-४ नेपाल फेस्टको प्रमुख अतिथि रहने र ४-९ मा राईहरूका संस्था तथा अन्य कार्यक्रममा सहभागिता जनाउने तय भइसकेको थियो।
तर, मेयर साम्पाङले भिसा प्रकृतिमै आपत्ति जनाएर भ्रमण स्थगित गरिएको जानकारी सामाजिक सञ्जालबाटै गराइसकेका छन्।
यता, भिसा प्रक्रियामा काम गरेको संस्था हिन्सले भने हङकङका सार्वजनिक कार्यक्रममा भाग लिन रोजगार भिसा नै लिनुपर्ने तर्क गरेको छ।
अनि भयो भताभुङ्ग
२ दिनअघि हिन्सका अध्यक्ष अधिराज राई र डाइरेक्टर विनय शाहको नामसहित हिन्सको फेसबुक पेजमा एक स्टाटस प्रकाशित भयो। यसपछि मेयर साम्पाङको भ्रमणले अर्कै मोड लिएको हो।
उक्त पोस्टमा भिसा प्रक्रिया हिन्सले गरेको, हङकङका विभिन्न संस्थाले आफूखुसी साम्पाङको फोटो राखेर कार्यक्रमहरू गर्न लागेको देखेर हिन्सको ध्यानाकृष्ट भएको बेहोरासहित कुनै पनि संस्थाले साम्पाङलाई अतिथि बनाएर कार्यक्रम गर्ने हो भने अविलम्ब हिन्ससँग सम्पर्क गर्न भनिएको थियो।
यही पोस्टपछि प्रमुख आयोजक यायोक्खा र हर्क साम्पाङ हच्किएका हुन्।

आरोप-प्रत्यारोप
भ्रमण बिथोलिने अवस्थामा पुगेपछि आयोजकहरू नै एकअर्कालाई हिलो छ्यापाछ्याप गर्न थालेका छन्।
आयोजकमध्येका एक धरान हङकङ मन्चका सचिव रमेश राईले यायोक्खाका पूर्वअध्यक्ष तथा मूल संयोजक शशीमदन राई नै यो परिस्थितिको जिम्मेवार भएको आरोप लगाएका छन्।
उनका अनुसार मेयर साम्पाङले यायोक्खा हङकङ र नेपाल फेस्टका आयोजकको कुरा नखाने तर हङकङ मन्चले निमन्त्रणा गरे निम्तो स्विकार्ने भन्दै प्रस्ताव लिएर मन्चसम्म पुगेका थिए।
उनले अगाडि भनेका छन्- साम्पाङले हङकङ आउने सङ्केत ३/४ महिनाअघि नै दिएका थिए। मन्चसँग जनशक्ति र आर्थिक अवस्था कमजोर भएकोले तत्काल निम्तो दिने कुनै योजना थिएन। तर यायोक्खा जस्तो ठूलो संस्था अगाडि बढेपछि कार्यक्रम सफल हुन सक्छ भन्ने लागेर साम्पाङलाई मन्चले निमन्त्रणा गरेको थियो।
उनले शशीमदनलाई बैठक र छलफल कार्यक्रमको सिलसिलामा भिसा प्रक्रिया कसले अगाडि बढाउने भन्ने निर्णय किन नगरेको भनी प्रश्न समेत गरेका छन्।
रमेश यतिमा मात्र रोकिएनन्, हिन्सप्रति पनि खनिए, ‘हिन्सले अचानक त्यस्तो पोस्ट गरेपछि हामीले गर्ने कार्यक्रममा तपाईँहरूलाई किन सोध्नुपर्ने भनी यसका डाइरेक्टरलाई प्रश्न समेत गरेको थिएँ। उत्तरमा कार्यक्रम गर्ने भए हिन्सको लोगोसहित हिन्सको सहयोगमा (सपोर्टेड बाइ हिन्स) राखिदिन भने।’
रमेशका अनुसार ठूलो रकम खर्च गरेर नेपाल फेस्ट आयोजना गर्न लागिएको थियो।
उनी भन्छन्, ‘नेपालबाट राष्ट्रपति वा प्रधानमन्त्री समेत ल्याउन सकिने भनेपछि मेयरलाई सजिलै ल्याउने रहेछ भन्ने सोचियो। तर, जसरी यायोक्खाका शशीमदनले निमन्त्रणा गरिदिन भन्दै मन्चमा हात फैलाउँदै आए त्यसरी नै फेस्टका आयोजक पनि भिसा प्रक्रिया गरिदिन भन्दै हिन्सकहाँ हात फैलाउँदै पुगेछन्। कुरो यसरी बिग्रेको रहेछ।’
आफू धरानको विकास र समृद्धिको पक्षधर भएको एवं मेयर साम्पाङले त्यस्ता काम गरिरहेकोले आफूले साम्पाङको उक्त निर्णयलाई स्वागत गरेको रमेश बताउँछन्।
यायोक्खाको आपत्ति
किरात राई यायोक्खा हङकङले पनि हिन्सप्रति आपत्ति जनाएको छ। यायोक्खाले आलोचना, आरोप र चेतावनीसहित ३ पेज लामो विज्ञप्ति नै जारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल फेस्ट-२०२५ आयोजना गर्न एसअफ स्पेड्स इन्टरटेनमेन्ट कम्पनी केही सर्तसहितको प्रस्ताव लिएर जोडिन आइपुग्यो। जसअनुसार नेपाल फेस्ट २०२५ मा मेयर साम्पाङले प्रमुख आतिथ्य प्रदान गर्नुपर्ने र नेपाल फेस्टले साम्पाङसहित चार जनाको आउने-जाने हवाई टिकट र हङकङ रहँदाको होटल खर्च बेहोर्ने साथै भिसा प्रक्रिया गर्ने र लागत समेत बेहोर्ने प्रस्ताव लिएर आयो।
नेपाल फेस्टका आयोजकहरूसँग चिनजान र आत्मीयता रहेको कारणले गर्दा पनि निश्चिन्त भई सम्झौता गरिएको थियो। त्यसकारण सम्भव भएसम्मका सर्तमा सहमति गरेर निकै अघि बढिसकेपछि २७ अप्रिलमा अचानक हिन्स र त्यस संस्थाका डाइरेक्टरको फेसबुक पोस्ट आयो। पोस्टमा इम्प्लोइमेन्ट भिसा जारी भएको फोटो पनि सार्वजनिक भएको देख्दा आश्चर्यचकित भयौँ।’
सोच्दै नसोचेको संस्था हावी भएको र मेयरको भिसा फेसबुकमा पोस्ट गरेर लज्जित बनाएको समेत यायोक्खाले आरोप लगाएको छ। एक हप्ताअघि नै कार्यक्रमहरू सार्वजनिक गरिसकेको र अन्तिम समयमा आएर हिन्सले बखेडा निकालेको आरोप यायोक्खाको छ।
यति मात्र नभई हिन्सका जिम्मेवार डाइरेक्टरले आफ्नो फेसबुक पेजमा ‘समस्या भए कल गर्नुस्, हङकङमा म जिउँदैछु’ भन्नु घमण्डी र केटाकेटी अभिव्यक्ति भएको बताएको छ। साथै, मेयरलाई रोजगार भिसा नै ठिक हो भनी रटान गर्नु पनि आपत्तिजनक रहेको उसको ठहर छ।
मेयर हर्क साम्पाङको भिसा अध्यागमनमा गई खारेजीको निवेदन गर्न पनि यायोक्खाले हिन्ससँग आग्रह गरेको छ। यसो नभएमा साम्पाङको स्वीकृतिविना हिन्सले आफ्नो संस्थाको कामदार बनाएको जालसाजीको अभियोगमा कानुनी बाटो रोज्ने समेत यायोक्खाले चेतावनी दिएको छ।
हर्क साम्पाङ आफ्नो नेतृत्वमा धरानको चिन्डे डाँडामा किरातीहरूका आदिम पुरुष इष्टदेव सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने योजना छन्। जसका लागि उनी केही महिना अघि सहयोग संकलनार्थ बेलायत पुगेका थिए। त्यहाँ ५ करोड रुपैयाँ बढी संकलन गरेका उनी यसै अभियानअन्तर्गत हङकङ आउन लागेका थिए। तर, पछिल्लो घटनाक्रमले उनको आगमन नहुने निश्चित जस्तै भएको छ। फेसबुकमा उनका स्टाटस र भिडिओले पनि यही संकेत गरेका छन्।
Shares

प्रतिक्रिया