हङकङमा भेटिए कोरोना संक्रमित पहिलो नेपाली, आइसीयूबाट भनेः आत्मविश्वास गुमेको छैन

हङकङमा भेटिए कोरोना संक्रमित पहिलो नेपाली, आइसीयूबाट भनेः आत्मविश्वास गुमेको छैन

मगेन्द्र राई
चैत १३, २०७६ बिहिबार ३:१७,

हङकङमा पहिलो पटक एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भेटिएका छन्।

पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका युवकको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ फेला परेको हो। हङकङमा उनी केस नम्बर ३९४ औं मा परेका छन्।

१० वर्षदेखि हङकङमा बसोबास गर्दै आएका गुरुङ ४ वर्षयता नाइट लाइफका लागि चर्चित लान क्वाइ फोङको बारमा काम गर्दै आएका थिए। आफ्ना सहकर्मीलाई कोरोना भाइरस संक्रमण भएपछि उनको समेत परिक्षण गरिएको थियो। परिक्षण रिपोर्ट पोजेटिभ आएपछि गुरुङलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयूमा गुरुङको उपचार भइरहेको छ। 

Gurung

आइसीयूबाट भनेः मेरो आत्मविश्वास गुमेको छैन
अस्पतालको आइसीयूबाटै नेपालखबरको सम्पर्कमा आएका गुरुङले आफुसँगै काम गर्ने व्यक्तिलाई संक्रमण भएको भेटिएपछि परिक्षण गरेको बताए।

‘मसँगै काम गर्ने व्यक्तिलाई कोरोना फेला परेपछि मलाई पनि गत मंगलबार परिक्षणका लागि लगियो, परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको डाक्टरले बताए’, गुरुङले आइसीयूबाट फोनमा भने, ‘तर मलाई त्यस्तो कुनै कमजोरीको लक्षण देखा परेको छैन।’

अविवाहित गुरुङ आफ्ना बाबा, भाइ-बुहारीसँग हङकङमा नेपालीको एउटा मुख्य बसोबास स्थल युनलोङमा बस्दै आएका छन्।

गुरुङले आफु स्वस्थ र तन्दुरुस्त नै भएको महशुस भएको बताउँदै भने, ‘कोरोना पोजेटिभ आएपनि मेरो आत्मविश्वास गुमेको छैन।’

गुरुङले नेपाली समुदायलाई कोरोना महामारीबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्दै मास्कको अनिवार्य प्रयोग गर्न, अनावश्यक घुमफिर नगर्न, भिडभाडबाट टाढै रहन र जति सक्दो धेरै पानी पिउन सुझाव दिए।

महावाणिज्यदूतलाई आपतकालीन विभागको पत्र
नेपाली पासपोर्ट बाहक गुरुङको बारेमा स्वास्थ्य संरक्षण केन्द्रको आपतकालीन बिभागबाट गत बुधबार राती नेपाली महावाणिज्यदूतलाई पत्राचार गरी जानकारी दिइएको थियो।

पत्र आएपछि बिमारीसँग प्रारम्भिक सम्पर्क भैसकेको हङकङस्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराईले नेपालखबरलाई बताए। हङकङको नेपालीमा पहिलो संक्रमित भेटिएकोमा चिन्ता व्यक्त गर्दै भट्टराईले थप सतर्कता अपनाउन नेपाली समुदायलाई आग्रह गरेका छन्।

उच्च सतर्कता अपनाउनु पर्ने समय आएको बताउँदै महावाणिज्यदूत भट्टराईले भने, ‘अहिले विश्वव्यापी बनेको कोरोना प्रकोपसँग लड्न ठूलो सावधानी अपनाउन जरुरी छ।’

‘जीवनभन्दा महत्त्वपूर्ण अरु केही हुन्न, फेरि यो भाइरसले धनी गरिब, बालबालिका, वृद्धवृद्धा, जातजाती कसैलाई छोड्दैन’, भट्टराईले थपे, ‘तसर्थ यो घडी सबै एक जुट हुन जरुरी छ। स्वस्थ केन्द्र तथा सरकारले भाइरसविरुद्ध चालेको कदमलाई पूर्ण रुपमा पालना गर्न जरुरी छ।’

हङकङमा खान, पिउन र नाइटलाइफका लागि प्रख्यात मानिने लान क्वाइ फोङमा मात्र करिब ३ दर्जन कोरोना संक्रमित फेला परेका छन्।

गुरुङ सहित हङकङमा ४१० जना कोरोना भाइरसबाट संक्रमित भैसकेका छन् भने ४ जनाको ज्यान गैसकेको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .