हङकङ नेपाली महासंघले मनायो डा. रुइतको प्रमुख आतिथ्यमा वार्षिकोत्सव

हङकङ नेपाली महासंघले मनायो डा. रुइतको प्रमुख आतिथ्यमा वार्षिकोत्सव

बज्रकुमार थुलुङ राई
फागुन २१, २०८१ बुधबार १०:४९, हङकङ

हङकङ नेपाली महसंघको २७औँ वार्षिकोत्सव ‘दृष्टिका भगवान्‌’ उपमाले  परिचित प्रा.डा. सन्दुक रुइतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

२ मार्चमा याउमा तेइस्थित हेनरी जि. ल्योङ कम्युनिटी हलमा भएको उक्त समारोहमा अतिथि डा. रुइतलाई महासंघले अभिनन्दन गर्नुका साथै ‘चिफ गेस्ट अफ अनर’सहितको ताम्रापत्र प्रदान गरेको थियो।

त्यसैगरी, डा.रुइतकी पत्नी नन्दलक्ष्मी श्रेष्ठ रुइत र सहयोगी केदारप्रसाद आचार्यलाई ‘गेस्ट अफ अनर’ प्रदान गरिएको थियो।

कार्यक्रममा यहाँस्थित नेपाली महावाणिज्य दूतावासका सहायक दूत भोजकुमार भट्टराई, याउचि मङ जिल्ला पार्षद्‌ अरुणा गुरुङ, गैरआवसीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, नेपाली संघसंस्थाका विशिष्ट व्यक्तित्वहरू, अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय संघसंस्था तथा स्थानीय सरोकारवाला चिनियाँ  संघसंस्थाका प्रमुखहरूको विशेष आतिथ्यता रहेको थियो।

उक्त समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई प्रमुख अतिथि रुइतको हातबाट सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

हङकङमा रही व्यापार-व्यवसाय, समाजसेवा, साहित्य, शिक्षा, स्वास्थ्य, खेलकुद, वायुसेवा, सरकारी सेवा जस्ता क्षेत्रमा योगदान गरेका व्यक्तित्वलाई सम्मान गरिएको हो।

३३ वटा सदस्य  संस्था आबद्ध यस महासंघले ‘उत्कृष्ट सहयोगी सदस्य संस्था वर्ष २०२५’ संखुवासभा समाजलाई र सक्रिय सदस्य संस्थाको अवार्ड तमु समाज हङकङलाई प्रदान गरेको थियो।

त्यस्तै, आयोजक महासंघका पूर्वअध्यक्ष हेजेन राई, हेम लिम्बु, प्रदिप थापा र टंक रानालाई ‘टोकन अफ लव’सहित विशेष सम्मान गरिएको थियो भने विशेष सल्लाहकारको रूपमा दासुराम पराजुली र पुष्पा गुरुङ (पुष्प गुरुआमा) पनि सम्मानित भएका थिए।

साहित्यतर्फ नरजित राई र पूर्णिमाजी शाहलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली मूलका पहिलो महिला हङकङ प्रहरी मिरा पुन र सुजा पुनलाई पनि सम्मान गरिएको थियो। मिरा र सुजा नातामा दिदीबहिनी हुन्। त्यसैगरी व्यापारको क्षेत्रमा ब्लु ओसन रेस्टुरेन्ट एन्ड बारलाई सम्मान गरिएको थियो।

महासंघकी अध्यक्ष रिता गुरुङको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा चर्चित उद्‌घोषक देवराज राईले सञ्चालन गरेका थिए।

कार्यक्रमको उद्‌घाटन सत्रमा हङकङेली नेपाली साना नानीहरूले नेपाली विशेष सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए। साथै, गायक/गायिका सरला गुरुङ, गणेश पराजुली, पवित्रा राई र रोशा लिम्बुले नेपाली राष्ट्रिय भावका गीतहरू प्रस्तुत गरेका थिए।

उक्त समारोहमा प्रोफेसर रुइतले गरेका कामको श्रव्य-दृश्य सामग्री पर्दामा देखाइएको थियो भने उनको संक्षिप्त जीवनी लेखक कमल पौडेलले प्रस्तुत गरेका थिए।

यहाँस्थित नेपाली संघसंस्था, समुदाय, सर्वसाधारण तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै डा. रुइतले सबैभन्दा ठूलो देश हो भन्दै ‘देशलाई कहिल्यै नबिर्सन र प्रवासमा रहेका हरेक नेपालीले देशलाई बिर्सन नहुने’ बताएका थिए।

कार्यक्रमको दोस्रो दिन (३ मार्च)  जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा प्रा.डा. रुइतको सम्मानमा रात्रिभोज आयोजना गरिएको थियो।

डा. रुइतको टोली हिजो (४ मार्च) मा नेपाल फर्किएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .