हङकङ : सुरक्षाको कारण दर्शाउँदै क्वुनतङ फ्ल्याट निर्माण कार्यमा रोक

हङकङ : सुरक्षाको कारण दर्शाउँदै क्वुनतङ फ्ल्याट निर्माण कार्यमा रोक

सुरक्षाको कारण दर्शाउँदै सरकारले क्वुनतङमा निर्माणाधीन फ्ल्याट निर्माण कार्य स्थगित गरेको छ


नेपालखबर
असोज १८, २०८१ शुक्रबार १८:०, हङकङ

सुरक्षाको कारण दर्शाउँदै हङकङ सरकारले आफ्नो स्टार्टर होम्स योजनाअन्तर्गतको क्वुनतङमा निर्माणाधीन फ्ल्याट निर्माण कार्य स्थगित गरेको छ।

अगस्टको अन्त्यमा एन्डरसन रोडको कार्यस्थलमा सुदृढीकरण बार राख्न निर्देशन दिइएको भए पनि कार्यान्वयन नभएको पाइएपछि आवास विभागले उक्त निर्णय लिइएको जनाएको छ।
शुक्रबार मिडियासँगको कुराकानीका क्रममा विभागका अधिकारीले सेप्टेम्बरदेखि हालसम्म कार्यस्थलको चार पटक निरीक्षण गरिएको बताएका छन्।

पहिलो पटक २६ सेप्टेम्बरमा केही समस्याहरू पहिचान गरिएको थियो। त्यतिबेला ब्लक ३ को २९औँ तलामा कामदारहरू बारविना काम गरिरहेको देखिएपछि बार स्थापनाको निर्देशन दिइएको थियो। त्यस्तै, ६ वटा बिममा भवन योजनामा उल्लेख भएका भन्दा कम स्टिल बार थिए।

यी समस्या बाहेक, भवनको समग्र संरचनामा भने तत्काल कुनै खतरा नरहेको विभागले उल्लेख गरेको छ।

निर्देशन दिइएका यी विषयमा संरचनात्मक इन्जिनियर र ठेकेदारका प्रतिनिधिबाट सन्तोषजनक जवाफ नआएकोले विस्तृत अध्ययन र मर्मत प्रतिवेदन माग गरिएको समेत विभागले जनाएको छ। यसका अलावा, भवनका अन्य तलाको पनि थप परीक्षण गर्न समेत इन्जिनियरलाई अनुरोध गरिएको छ।

विभागका अनुसार गत शनिबार (२९ सेप्टेम्बर)बाट आयोजनाको सम्पूर्ण काम स्थगित गरिएको हो।

अबको स्थलगत अनुगमनमा निर्देशन भएअनुसारको सुधार भएको देखिएमा र अनुसन्धान प्रतिवेदनबाट सन्तुष्ट भएमा मात्र निर्माण कार्य सुचार हुने समेत विभागले उल्लेख गरेको छ।

विभागले यस परियोजनाको ठेकेदारका अन्य सात वटा आयोजनाको पनि जाँच भइरहेको र ती स्थलमा गुणस्तर तथा सुरक्षा मापदण्डको निरीक्षणलाई तीव्रता दिइने सञ्चारमाध्यमसँगको अन्तरक्रियामा विभागका प्रवक्ताले बताएका छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .