विश्व वित्तीय केन्द्रमा हङकङलाई तेस्रो वरीयता, एसिया-प्रशान्त क्षेत्रमा पहिलो

विश्व वित्तीय केन्द्रमा हङकङलाई तेस्रो वरीयता, एसिया-प्रशान्त क्षेत्रमा पहिलो

पछिल्लो जीएफसीआई वरीयतामा हङकङले तेस्रो स्थान सुरक्षित गरेको छ (तस्बिर : पिक्साबे)


नेपालखबर
असोज ८, २०८१ मंगलबार १८:२५, हङकङ

पछिल्लो ‘ग्लोबल फाइनान्सियल सेन्टर इन्डेक्स (जीएफसीआई)’ रिपोर्टमा हङकङले तेस्रो स्थान सुरक्षित गरेको छ।

मार्चको संस्करणमा चौथो स्थानमा रहेको हङकङ एक स्थान माथि उक्लँदै पछिल्लो पटक विश्वव्यापी रूपमा तेस्रो स्थान हासिल गरेको हो।

यसैगरी एसिया-प्रशान्त क्षेत्रमा भने हङकङ शीर्ष स्थानमा रहेको छ। बेलायतको जेड/यान र सेन्जेनबाट चाइना डेभलपमेन्ट इन्स्टिच्युटले मंगलबार (२४ सेप्टेम्बर) प्रकाशित गरेको सूचकांकले उक्त तथ्यांक प्रस्तुत गरेको हो।

तथ्यांकअनुसार हङकङको समग्र मूल्यांकन ८ अंकले बढेको छ। जसले शीर्ष पाँच वित्तीय केन्द्रमध्ये सबैभन्दा महत्त्वपूर्ण सुधारलाई प्रतिनिधित्व गर्दछ।

‘व्यापारिक वातावरण’, ‘मानव पूँजी’, ‘पूर्वाधार’ र ‘प्रतिष्ठा र सामान्य’ लगायतका क्षेत्रमा उच्च अंक प्राप्त गरेको छ।

यसैगरी, ‘लगानी व्यवस्थापन’, ‘बिमा’, ‘बैकिङ’ र ‘व्यावसायिक सेवा’ लगायतका वित्तीय क्षेत्रमा पनि सहरको वरीयता (र्‍याङ्किङ) बढेको छ। यसमध्ये, ‘लगानी व्यवस्थापन’को वरीयता विश्वमै पहिलो नम्बरमा छ।

यस्तै, वित्तीय केन्द्रको ‘फिनटेक अफरिङ’मा हङकङको वरीयता अघिल्लो पटकको तुलनामा ५ स्थान माथि उक्लेर नवौँमा पुगेको छ। जसले सहरलाई शीर्ष १० फिनटेक हबमा सुरक्षित राख्यो।

‘प्रतिवेदनले हङकङलाई स्पष्ट रूपमा बलियो विश्वव्यापी वित्तीय केन्द्रको रूपमा पुष्टि गर्दछ,’सरकारी प्रवक्तालाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख छ।

‘हङकङको सम्पत्ति र सम्पत्ति व्यवस्थापन व्यवसाय फस्टाउँदैछ,’ प्रवक्ताले थपेका छन्,‘व्यवस्थापन अन्तर्गत सहरको सम्पत्ति अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढेर सन् २०२३ को अन्त्यमा हङकङ डलर ३१ ट्रिलियनभन्दा बढी पुगेको छ। शुद्ध कोष प्रवाह वार्षिक ३.४ गुणा बढेर ३९० बिलियन हङकङ डलर पुगेको छ।’

जीएफसीआई प्रतिवदेन द्विवार्षिक रूपमा मार्च र सेप्टेम्बरमा जारी गरिन्छ। यसको सुरुआत सन् २००७ देखि गरिएको हो।

यसको ३६औँ अर्थात् पछिल्लो संस्करणमा १२१ वित्तीय केन्द्रको मूल्यांकन गरिएको थियो। जसमा, हङकङले ७४९ अंकका साथ विश्वको तेस्रो स्थान सुरक्षित गरेको छ।

हङकङलाई उछिन्ने दुईमध्ये दोस्रोमा लन्डन रहेको छ भने पहिलो नम्बरमा न्युयोर्कले बाजी मारेको छ।

यसैगरी, शीर्ष १० मा पर्नेहरूमा सिंगापुर चौथो, सान फ्रान्सिस्को पाँचौँ, सिकागो छैटौँ, लस एन्जलस सातौँ, सांघाई आठौँ, सेन्जेन नवौँ र फ्र्याङ्कफर्ट दशौँ रहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .