हङकङको जोर्डनमा वृद्ध नेपालीमाथि डकैती, सुनको गहना र नगद लुटपाट

लुटेराहरू ‘दक्षिण एसियाली’
हङकङको जोर्डनमा वृद्ध नेपालीमाथि डकैती, सुनको गहना र नगद लुटपाट

वृद्धलाई सिँढीबाट तान्दै लगेर लुटपाट गरिएको थियो (फाइल तस्बिर)


नेपालखबर
भदौ २६, २०८१ बुधबार १७:५३, हङकङ

आज (बुधबार) बिहान हङकङको जोर्डनस्थित सांघाई स्ट्रिटमा एक नेपाली लुटिएका छन्। जोर्डन नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र हो। याउमा तेइमा परिवारसहित बस्ने ७३ वर्षीय वृद्ध बिहान मर्निङ वाक तथा किनमेलका लागि निस्किएका बेला लुटपाटमा परेका हुन्।

तामाङ थर भएका उनी बिहान ७:३० बजे घरबाट निस्किएका थिए। क्वुनचुन तथा कुक्ड फुड मार्केटबाट करिब साढे ८ बजे घर फर्कने क्रममा जोर्डन रोडको सांघाई स्ट्रिटमा ४ जनाको समूहले घेरा हाली लुटपाट गरेको हो।

४ जना दक्षिण एसियाली पुरुषले घेरा हालेर चक्कु देखाउँदै आफूलाई लुटपाट गरेको उनले प्रहरीमा जाहेरी दिएका छन्। लुटिएपश्चात् घरमा पुगेका उनले नातिनीको सहयोगमा जाहेरी दिएका हुन्। जाहेरीमा तामाङको देब्रे हातको औँलामा लगाएको ८ हजार हङकङ डलर बराबरको सुनको औँठी र ६ सय हङकङ डलर नगद लुटिएको उल्लेख छ।

‘अरू दिन श्रीमती वा नातिनीसँग बाहिर निस्कने गर्दथेँ। तर, आज बिहान करिब ७ बजे एक्लै निस्किएँ। मर्निङ वाकसँगै केही किनमेल पनि गरौँ भन्ने लागेपछि क्वुनचुन र कुक्ड फुड मार्केटतर्फ लागेँ,’ निवेदनमा तामाङले भनेका छन्, ‘घर फर्कने क्रममा त्यस्तै साढे आठ जति भएको हुँदो हो जोर्डन रोडसँगैको सांघाइ स्ट्रिटमा ४ जनाको समूहले अघि पछि गर्दै पछ्याउन थाले। अलि पछि एक भवन अगाडि पुग्दा २ जनाले पाखुरामा समाएर तान्दै सिँढी उकाले र एउटाले छुरी देखायो भने अर्का दुई जनाले शरीर छामछुम गर्न थाले। अनि देब्रे हातको औँलामा लगाएको औँठी, घडी र पर्स लुटे। पर्समा हङकङ डलर ६ सय र परिचयपत्र थियो।’

लुटपाट गर्ने पुरुषहरू ३५ देखि ४० वर्षको बीचमा रहेको र उनीहरूले कालो मास्क लगाएको रिपोर्टमा उल्लेख छ। त्यस्तै, लुटपाटका क्रममा उनीहरूसँग अन्य ३ महिलाले पनि बातचित गरेको देखेको उनले बताएका छन्।

लुटिएपछि वृद्ध आत्तिँदै घर पुगेर परिवारलाई बताएका थिए। यसपछि नातिनीले प्रहरीमा रिपोर्ट गरेकी थिइन्। प्रहरीमा जाहेर रिपोर्टमा वृद्धलाई शारीरिक चोटपटक भने नभएको उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .