गैरचिनियाँ हङकङवासीलाई बहुप्रवेश यात्रा अनुमति : मङककको अस्थायी सेवा केन्द्र चुङक्वान ओ सारिँदै

गैरचिनियाँ हङकङवासीलाई बहुप्रवेश यात्रा अनुमति : मङककको अस्थायी सेवा केन्द्र चुङक्वान ओ सारिँदै

शनिबारपछि मङकक अस्थायी सेवा केन्द्रको काम चुङक्वान ओ सेवा केन्द्रबाट हुनेछ


सन्तोष तामाङ
भदौ २४, २०८१ सोमबार १६:२१, हङकङ

हङकङको मङककस्थित अस्थायी सेवा केन्द्र चुङक्वान ओ सर्ने भएको छ।

मङककमा ‘सीटीएस प्रवेश अनुमति सेवा हङकङ लिमिटेड’ले अस्थायी सेवा केन्द्र सञ्चालन गरी सेवा प्रवाह गर्दै आइरहेको थियो।

एक सूचना प्रकाशित गर्दै कम्पनीले अबदेखि यो सेवा चुङक्वान ओबाट प्रदान गरिने जनाएको हो।

‘व्यापार समायोजनअनुसार, हाम्रो कम्पनीले मङकक अस्थायी सेवा केन्द्रको सम्पूर्ण सञ्चालन ३० सेप्टेम्बर २०२४ मा चुङक्वान ओ सेवा केन्द्रमा स्थानान्तरण गर्ने निर्णय गरेको छ,’ सूचना भनिएको छ, ‘नयाँ ठेगाना पसल जी२०-२६, जीटी, सपिङ सेन्टर, २३ टोनयिन स्ट्रिट, चुङक्वान ओ, न्यु टेरिटोरिज रहेको छ।’

सूचनामा भनिएअनुसार आगामी शनिबार (१४ सेप्टेम्बर)पछि मङकक अस्थायी सेवा केन्द्रबाट कुनै पनि अनुमति आवेदन स्वीकार गरिने छैन।

मङककस्थित अस्थायी सेवा केन्द्र

यस केन्द्रबाट मुख्यभूमि यात्रा अनुमतिको लागि आवेदन दिने र कार्ड संकलन गर्ने काम हुन्थ्यो।

यो अनुमतिका लागि २८ सेप्टेम्बर २०२४ सम्म आवेदन दिन सकिने र २९ सेप्टेम्बरबाट चाहिँ केन्द्र आधिकारिक रूपमा बन्द रहने समेत सूचनामा उल्लेख छ।

पछिल्लो समय सरकारले गैरचिनियाँ हङकङ र मकाउका स्थायी बासिन्दाले मुख्यभूमि चीनको ५ वर्षे बहुप्रवेश यात्रा अनुमति लिन पाउने सुविधा ल्याएको छ।

गत १० जुलाईदेखि आवेदन खुला गरिएको हो। निवेदनकले यस्तो आवेदन चाइना ट्राभल सर्भिस (हङकङ) लिमिटेडको शाखाहरूबाट पेस गर्न पाउँछन्।

यस्तै शाखामध्ये मङककमा पनि अस्थायी केन्द्र स्थापना गरिएको थियो। यो ठाउँ धेरै संख्यामा नेपालीको बसोबास रहेको याउमा तेइ र जोर्डनअन्तर्गतको सेवा केन्द्र थियो। अब भने यो केन्द्र चुङक्वान ओमा सर्ने भएको हो।

सेवा केन्द्रको कार्यालय परिसरमा टाँसिएको सूचना

यसरी आवेदन दिएर सफल भएका व्यक्तिले यात्रा अनुमतिको कार्ड प्राप्त गर्दछन्। कार्ड प्राप्त व्यक्तिले पाँच वर्षको वैध अवधिभित्र धेरै पटक विना अध्यागमन झन्झट मुख्यभूमिको यात्रा गर्न पाउने अधिकार पाउँछन्। यस्तो सुविधाप्राप्त व्यक्ति एक पटकको यात्रामा ९० दिनभन्दा बढी बस्न भने पाउँदैनन्।
साथै, अनुमति प्राप्त व्यक्तिले मुख्यभूमिमा काम गर्न, अध्ययन गर्न, समाचार संकलन गर्न वा यस्तै प्रकारका अन्य गतिविधि गर्न पाउँदैनन्।

यी कार्यको लागि भने हङकङ वा मकाउको परराष्ट्र मन्त्रालयका आयुक्तको कार्यालय वा राष्ट्रिय अध्यागमन प्रशासनमा छुट्टै आवेदन दिनु पर्दछ।

सेवा केन्द्रले जारी गरेको सूचनामा आवेदन दिइसकेका तर इजाजतपत्र प्राप्त नगरिसकेका आवेदकले ३० सेप्टेम्बरबाट चुङक्वान ओ सेवा केन्द्रबाट लिन पनि कम्पनीले आग्रह गरेको छ।

यो सेवा ३० सेप्टेम्बरबाट सुरु भएर २ अक्टोबरसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .