हङकङमा नेपाली महिलालाई बलात्कार गरेको आरोप लागेका स्विडेनका व्यापारी दोषी ठहर

हङकङमा नेपाली महिलालाई बलात्कार गरेको आरोप लागेका स्विडेनका व्यापारी दोषी ठहर

शुक्रबार (१६ अगस्ट) उच्च अदालत परिसरमा पाट्रिक (एचकेएफपी)


नेपालखबर
भदौ ६, २०८१ बिहिबार १७:५०, हङकङ

हङकङको उच्च अदालतले पूर्व घरेलु कामदारलाई बलात्कार गरेको आरोप लागेका स्विडिस व्यापारीलाई दोषी ठहर गरेको छ।

सात सदस्यीय जुरीको निर्णायक समितिले बिहीबार सर्वसम्मतिले उक्त निर्णय गरेको हो। हङकङको कानुनअनुसार बलात्कार तथा सहमतिविनाको यौन सम्बन्धमा आजीवन कारावाससम्मको सजाय हुन्छ।

घटनाअनुसार ३५ वर्षीय स्विडिस व्यापारी पाट्रिक टोबियस एक्स्ट्रोमले घरमा काम गर्न राखेकी महिलालाई अक्टोबर २०२२ मा बलात्कार गरेको आरोप लागेको थियो। पीडित महिला नेपाली हुन्।

पीडित महिलाले अदालतमा दिएको बयानअनुसार २७ अक्टोबर २०२२ को राति अबेर रक्सीले मातेर घर फर्किएका एक्स्ट्रोमले उनलाई सिँढीबाटै तानेर आफ्नो बेडरुममा लगी जबरजस्ती गरेका थिए।

तर, यसको प्रतिवादमा एक्स्ट्रोमले आफूहरूबीच पहिलैदेखि नै घनिष्ट सम्बन्ध रहेको र यसको सुरुआत महिलाबाट नै भएको बताए। र, उक्त रातको यौन सम्बन्ध पनि सहमतिमा भएको बताएका छन्।

साथै, उनले महिलालाई आर्थिक समस्याका कारण जुलाई २०२२ मा चार महिनाको अग्रिम तलब दिएको पनि बयान दिएका छन्। उनले यो पनि भनेका छन् कि महिलाले यौनकार्यकै बीचमा पनि आफूसँग ऋण तिर्नको लागि सहयोग मागेकी थिइन्।

तर, पीडित महिलाले भने यसको प्रतिवाद गरेकी छन्। उनले आफूले कहिल्यै ऋण तिर्न मद्दत नमागेको बताएकी छन्। एक्स्ट्रोमले उनलाई ४५ हजार हङकङ डलर ऋण तिर्न मद्दत मागेका बताएका थिए।

पीडित महिलाको बयानअनुसार राति अबेर रक्सीले मातेर शेकओस्थित घरमा फर्किएका एक्स्ट्रोमले सिँढीबाटै तानेर मास्टर बेडरुममा लगी जबरजस्ती गरेका थिए। जबकि त्यस दिन पीडककी श्रीमती तीन छोराछोरी सहित जापान गएकी थिइन्।

‘रक्सीले मातेर आएको मान्छेले गलत नियत देखाएपछि उसलाई रेलिङमा ठोक्काउने वा भित्तामा रहेका फोटो फ्रेमले हिर्काउने प्रयास किन गर्नुभएन?’ भन्ने वकिलको प्रश्नमा पीडित महिलाले उसले आफ्नो काँधमा बलियोसँग समातेकोले आफू लड्नसक्ने क्षमतामा नरहेको जवाफ दिएकी छन्। प्रतिकार गर्न नसक्नुको मतलब आफू यौनकार्यको लागि सहमत भएको भन्ने नमिल्ने पीडित महिलाको बयान छ।

पीडकले प्राकृतिक तथा अप्राकृतिक मैथुन गरेको र आफूलाई मार्नेसम्मको धम्की दिएको समेत महिलाले बताएकी छन्।

यता एक्स्ट्रोमले भने यसअघि (घटना भनिएको दिन) जुलाईमा पनि दुई पटकसम्म आफूहरूबीच सहमतिमै यौन सम्बन्ध भएको  बताएका छन्।

मंगलबारको उक्त सुनुवाइका क्रममा उनले दुई पटकसम्मको यौनसम्पर्ककै क्रममा महिलाले आफूसँग ऋण तिर्न मद्दत मागेको बयान दिएका हुन्।

तर, बिहीबारको जुरीले एक्स्ट्रोमको दावी अस्वीकार गर्दै उनलाई दोषी ठहर गरेको छ। (एचकेएफपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .