हङकङ सरकारले आठ जातीय अल्पसंख्यक हेरचाह टोली गठन गरेको छ। आइतबार आठ टोली गठन गरेको बताउँदै मुख्य सचिव एरिक चानले भविष्यमा अरू दुई वटा थपिने बताए।
यो टोलीले प्रतिवर्ष कम्तीमा पाँच हजार जातीय अल्पसंख्यक परिवारलाई सेवा प्रदान गर्नेछन्।
वर्षको अन्त्यसम्ममा दश पुग्ने सेवा केन्द्रले वार्षिक कम्तीमा एक लाख दश हजार जातीय अल्पसंख्यक व्यक्तिलाई सेवा दिने अपेक्षा गरिएको सचिव चानले बताए।
टोलीले जातीय अल्पसंख्यकहरूसँग व्यक्तिगत तहमै भेट्ने, नवीनतम सरकारी सूचना जानकारी गराउने, उनीहरूको आवश्यकताबारे बुझ्ने तथा आवश्यक सेवा उपलब्ध गराउने र उपयुक्त भएमा अनुगमनका लागि सम्बन्धित विभाग वा संस्थामा पठाउने लगायतका काम गर्नेछन्।
हङकङमा हाल तीन लाख जातीय अल्पसंख्यक बासिन्दा रहेको चानले बताए। सरकारले उनीहरूलाई समाजमा समाहित गर्न मद्दत गर्ने लक्ष्यसहित टोली गठन गरेको हो।
गएको दशकमा सहरमा जातीय अल्पसंख्यकको संख्या उल्लेखनीय रूपमा बढेको र उनीहरूको सेवाका लागि टोलीको महत्त्वपूर्ण योगदान रहेको चानले विश्वास व्यक्त गरे। (द स्ट्यान्डर्ड)
Shares
प्रतिक्रिया