हङकङ भन्सारले समात्यो करोडौँ डलरको सामान : युरो र कोपाको मात्रै ६ हजार नक्कली जर्सी

हङकङ भन्सारले समात्यो करोडौँ डलरको सामान : युरो र कोपाको मात्रै ६ हजार नक्कली जर्सी

हङकङ भन्सारले ६ हजार बढी नक्कली जर्सी बरामद गरेको छ (दुवै तस्बिर : एससीएमपी)


नेपालखबर
असार १२, २०८१ बुधबार १६:२७, हङकङ

हङकङ भन्सारले तीन हप्ताको कारवाहीमा पाँच करोड २० लाख हङकङ डलरको नक्कली सामान बरामद गरेको छ।

भन्सारले यूईएफए युरो २०२४ र कोपा अमेरिका फुटबलका ६ हजार बढी नक्कली जर्सीसहितका सामान बरामद गरेको हो।

भन्सारका बौद्धिक सम्पत्ति अनुसन्धान ब्युरोका कार्यवाहक वरिष्ठ सुपरिटेन्डेन्ट टमिटाम पुइले उक्त जर्सीहरू अमेरिका, युरोप र मध्यपूर्वका लागि बनाइएको अनुसन्धानबाट देखिएको बताए।

३ देखि २३ जुनसम्मको अपरेसनका क्रममा सहर बाहिर पठाइनुअघि उक्त सामान बरामद गरिएको टामले बुधबार जानकारी गराएका हुन्।

टामले यो पनि खुलासा गरे कि सहरको भूमिगत बजारमा नक्कली जर्सीको मूल्य १७५ देखि २५० हङकङ डलरसम्म रहेको छ, जबकि असली जर्सीको मूल्य हङकङ डलर ६ सयदेखि एक हजारसम्म पर्दछ।

अनुसन्धान ब्युरोकै सहायक सुपरिटेन्डेन्ट सो किमले नक्कली जर्सीको डिजाइन नराम्रो, मोटो र अक्षर धमिलो तथा अस्पष्ट रहेको बताए।

भन्सार तथा अन्तःशुल्क विभागले ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी कारवाही सुरु गरिएको जनाएको छ।

नक्कली सामान उत्पादन गर्ने व्यवसायीले अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी यस्ता सामान भन्सार पास गराउने गरेको विगतका अनुभवका आधारमा कारवाही चलाइएको टाम बताउँछन्।

बरामद गरिएका करिब ६८ हजार नक्कली उत्पादनहरूमा घडी, ह्यान्डब्याग र जुत्ता पनि समावेश थिए।

घडी, जुत्ता लगायतका बरामद सामान

अधिकांश सामान काउलुन बे, क्वाइ चुङ, लाउफाउ सान, चुनमुन, युङलङ लगायतका स्थानमा रहेका लजिस्टिक कम्पनीहरूको कार्यालयबाट बरामद गरिएको थियो।

सामानसँगै भन्सार अधिकारीले ९ जना व्यक्तिलाई पनि पक्राउ गरेका छन्। जसमा दुई जना नक्कली जर्सी अनलाइनमार्फत बेचेको आरोपमा पक्राउ परेका हुन्।

वरिष्ठ सुपरिटेन्डेन्ट टामका अनुसार बरामद सामान संख्या र मूल्यका हिसाबले यो वर्ष अहिलेसम्मकै ठूलो परिमाण हो।

यी सामानको अनुमानित मूल्य पाँच करोड २० लाख रहेको उनले बताए। साथै, बरामद सामानको स्रोत र अन्तिम गन्तव्यबारे अनुसन्धान जारी रहेको टामलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

पक्राउ परेका सबै जना धरौटीमा रिहा भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .