ग्रेटवाल म्याराथन : हङकङकी दिलु लिम्बू १०औँ स्थानमा, नेपालीको उत्कृष्ट प्रदर्शन

ग्रेटवाल म्याराथन : हङकङकी दिलु लिम्बू १०औँ स्थानमा, नेपालीको उत्कृष्ट प्रदर्शन

मगेन्द्र राई
जेठ ८, २०८१ मंगलबार १७:३, हङकङ

चीनको राजधानी बेजिङस्थित ग्रेटवालमा शनिबार सम्पन्न ‘द ग्रेटवाल म्याराथन’ मा हङकङका नेपालीले राम्रो प्रदर्शन गरेका छन्।

एक महिलासहित ६ प्रतिस्पर्धीमध्ये दिलु लिम्बूले उमेर समूहमा स्वर्ण पदक हात पारिन्। उनी ओभरअल १०औँ स्थानमा आइन्।

त्यस्तै, वेदराज लिम्बूले उमेर समूहमा रजत पदक तथा ओभरअलमा २०औँ स्थान, रविन लिम्बूले उमेर समूहमा ५औँ तथा ओभराल ३६ औँ स्थान र श्याम इङ्नामले उमेर समूहमा १०औँ स्थान तथा ओभरअल ६१औँ स्थान हात पारे।

त्यसैगरी, हिम लिम्बूले उमेर समूहमा १३औँ तथा ओभरअलमा ६६औँ स्थान तथा लोकराज लिम्बूले उमेर समूहमा ९औँ र ओभरअलमा १०१ स्थान हासिल गरे।
   
छोटो समयको तयारीपश्चात् भएको उक्त प्रतियोगितामा आफ्नो समूहले राम्रो प्रदर्शन गरेकोमा आफू सन्तुष्ट रहेको टिम लिडर श्याम इङ्नामले नेपालखबरलाई बताए।

‘उक्त प्रतियोगिता हाम्रो लागि लाइफ टाइम एक्सपिरियन्स रह्यो,’ इङ्नामले भने,  ‘जिन्दगीमा ग्रेटवाल पुग्नु मात्र पनि निकै ठूलो सन्तुष्टि मान्न सकिन्छ। अझ त्यहाँ पुगेर नेपालको प्रतिनिधित्व गर्दै दौडनु त ठूलो अवसर र संयोग हो।’

‘हामीले हङकङमा धेरै अल्ट्रा ट्रेल रन गर्‍यौँ। यसमध्ये, ग्रेटवाल म्याराथन सर्वोत्कृष्ट लाग्यो,’ इङ्नाम थप्छन्, ‘सहरबाट गाउँसम्म दौडिँदा देखिएको मनोरम दृश्य, बाटामा देखाइएको सांस्कृतिक झाँकीहरू, स्थानीयले प्रतियोगीलाई दर्शाएको आतिथ्यता र हर्षोल्लास जीवनमा कहिल्यै भुल्न नसकिने क्षण हुन्।’

५,१६४ वटा खुट्किला छिचोल्नु चानचुने नभएको र यसलाई आफ्नो टिमले सामना गरेको इङ्नामले बताए।

अवसरको लागि आयोजकलाई धन्यवाद दिँदै ग्रेटवालमा दौडन अझै धित नमरेको बताउँदै अर्को पटक अझ धेरै नेपालीसहित भाग लिने उनी बताउँछन्।

प्रतियोगिताको पुरुषतर्फ बेलायतका मार्क डिक्सन, डेनमार्कका ओस्कर पिटरसेन र इटलीका पिर्पालो कोर्डोन क्रमशः पहिलो, दोस्रो र तेस्रो बने।

त्यस्तै, महिलातर्फ फ्रान्सकी नाडेगे पेर्सोन, अमेरिकाकी क्यामिला एल्से काज र ब्राजिलकी टाटैना भालेरियो क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

प्रतियोगितामा ५९ राष्ट्रका ८३८ प्रतियोगीको सहभागिता थियो।

सन् १९९९ बाट सुरु भएको यस प्रतियोगितामा ५,१६४ खुट्किला पार गर्नु पर्दछ। यो दौडलाई विश्वकै सर्वाधिक चुनौतीपूर्ण म्याराथन मानिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .