यी हुन् हङकङका ‘हाइ प्रोफाइल’ अपहरण, जसमा लिइएको थियो १ अर्ब डलरसम्म फिरौती

यी हुन् हङकङका ‘हाइ प्रोफाइल’ अपहरण, जसमा लिइएको थियो १ अर्ब डलरसम्म फिरौती

सन् २०२२ मा स्टेनली जेल बाहिर महिलालाई अपहरण गरी भ्यानमा राखिँदै र जेल अधिकृतको रोक्ने असफल प्रयास (ह्यान्डआउट)


लिलियन चेङ
बैशाख २६, २०८१ बुधबार १४:१४, हङकङ

सोमबार दिउँसो हङकङको व्यस्त ठाउँ चिमसा चोइबाट महिलालाई अपहरण गरिएको घटनाले हङकङ एक पटक फेरि तरङ्गित हुन पुग्यो।

हुनतः हङकङमा अपहरणका घटना नयाँ होइनन्, तैपनि सहयोगको याचना गर्दागर्दै दिनदहाडै त्यसरी अपहरण गरिएबाट धेरैलाई स्तब्ध बनायो।

अपहरणमा परेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरिसकेको छ भने मंगलबार दिउँसोसम्ममा अपराधमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परिसकेका छन्।

यो घटनाले हङकङमा विगतका केही कुख्यात अपहरणको सम्झना गराइदिएको छ। तीमध्ये केहीको यहाँ चर्चा गरिनेछ।

जेलको ढोकैनेर अपहरण
डिसेम्बर २०२२ मा स्टान्ली जेल बाहिरको मिनीबस स्टपमा एक महिलालाई चार जनाले जबरजस्ती कारमा राखेका थिए।

घटना यति सार्वजनिक रूपमा थियो कि कारागारका दुई अधिकारी र यात्रुले उनीहरूलाई रोक्ने असफल प्रयास गरेका थिए।

अनलाइनमा देखिएको भिडिओमा एक जेल अधिकारी उनीहरूलाई रोक्न प्रयास गर्दै गाडीको नजिकै पुगेका थिए, तर अपहरणकारीले उनलाई धकेले। यसअघि अर्को अधिकृत पनि मद्दतको लागि आएको देखिन्छ तर उनी त्यहाँ आइपुगेपछि भिडिओ समाप्त हुन्छ।

अपहरणमा परेकी ती महिलाको सोही दिन उद्धार गरिएको थियो।

यो घटना पैसा लेनदेनसँग सम्बन्धित रहेको अदालती कारबाहीका क्रममा खुलासा भयो।

आरोपीमध्येका एक जो डेकोरेसन कामदार हुन्, उनले पीडित (अपहरणमा परेकी) महिलाको सहयोगमा मेनल्यान्ड बैंकमा खाता खोलेका थिए। यो खातामा प्रतिवादीले पाँच लाख युआन जम्मा गरेलगत्तै खाता फ्रिज भयो।

उनले महिलाबाट आफू ठगिएको महसुस गरे र अपहरण गर्ने निर्णय गरे।

घटनामा संलग्न १७ देखि ३८ वर्षका चार आरोपीको मुद्दाको सुनुवाइ मे २३ सम्मका लागि स्थगित गरिएको छ।

सोमबार (६ मे २०२४) चिमसा चोइबाट एक महिलालाई अपहरण गरेको आरोपमा मंगलबार तीन जना पक्राउ परेका छन् (एससीएमपी)

अपहरणमा बच्चा
डिसेम्बर २०२१ मा १९ महिनाकी बालिका र उनकी सहयोगी (घरेलु कामदार)लाई पोकफु लामको साइबारपोर्टबाट कारमा बन्धक बनाएर लगिएपछि प्रहरीले उद्धार गरेको थियो।

अपहरण गर्दा कारमा राखेर लगिएको उनीहरूलाई पछि फ्याट ह्युङमा सिपिङ कन्टेनरभित्र राखिएको थियो।

घरेलु कामदारले लक्जरी रेसिडेन्स बेल-एयर-स्टेटस्थित घरबाट नजिकैको प्रिस्कुलमा लैजाने क्रममा उनीहरू अपहरणमा परेका थिए।

कालो कारमा आएका अपहरणकारीले उनीहरूलाई युनलङको गाउँमा लगेका थिए। पछि कन्टेरमा सारियो।

यस घटनाका दोषीलाई गत महिना नौ वर्ष चार महिनाको जेल सजाय सुनाइएको थियो।

बेपत्ता भएका पुस्तक विक्रेता
कजवे बे बुक्सका सेयरधनी लि बो ३० डिसेम्बर २०१५ मा बेपत्ता भए।

उनकी श्रीमतीले प्रहरीलाई बताएअनुसार उनले बेपत्ता भएपछि दुई पटक फोन गरेका थिए। जसमा क्यान्टोनिजको सट्टा मन्डारिन बोलिएको थियो। यी दुवै कल चीनको सिमानामा रहेको सेन्जेनबाट आएका थिए।

यी कारणबाट उनलाई कसैले अपहरण गरी मुख्यभूमितर्फ लगेको डर पैदा गरेको थियो। नभन्दै, उनी मुख्यभूमिमा रहेको पुष्टि १८ जनवरी २०१६ मा चिनियाँ अधिकारीले गरे।

तर, लिको अपहरण नभएको र उनी एक साथीको अदालतको मुद्दालाई मद्दत गर्न मुख्यभूमि गएको बताइएको थियो।

लि स्वयंले सहरबाट बेपत्ता हुनुको कारणबारे कहिल्यै खुलेर बताएनन्।

लि कजवे बे बुक्समा मुख्य सेयरधनी थिए। जसले प्रस्ताव गर्ने ‘बुक टाइटल’लाई मुख्यभूमिमा प्रतिबन्ध लगाइएको थियो।

बोसिनीका नातिनीको अपहरण
कपडाको चर्चित ब्रान्ड बोसिनीका संस्थापक टेक्सटाइल टाइकुन ल तिङ–पोङकी नातिनी रोजिता ललाई सन् २०१५ मा घरबाटै अपहरण गरिएको थियो।

चिनियाँ गिरोहले अपहरण गरेका उनलाई पहाडको गुफामा लुकाएर राखिएको थियो। परिवारले दुई करोड ८० लाख हङकङ डलर फिरौती बुझाएर उनको उद्धार गरेको थियो।

रिहाइपछि मिडियासँग कुरा गर्दै रोजिता ल (एससीएमपी)

पछि १० जनालाई हङकङ र चीनका विभिन्न स्थानबाट गिरफ्तार गरिएको थियो।

यी मध्ये एक जनाले हङकङमा १२ वर्षको जेल सजाय पाए। आठ जनालाई सेन्जेन अदालतले २२ महिनादेखि १५ वर्षसम्मको जेल सजाय तोकेको थियो।

उनीहरूले फिरौतीको रूपमा लगेकोमध्ये धेरै रकम असुल पनि गरियो।

‘हाइ प्रोफाइल’ अपहरण
मे १९९६ मा सेन्ट्रलस्थित कार्यालयबाट घर जाने क्रममा सीके होल्डिङ्सका अध्यक्ष अर्बपति लिका सिङका छोरा भिक्टर लि अपहरणमा परे।

एक रात बन्धक रहेका उनी परिवारले एक अर्ब हङकङ डलर फिरौती दिएपछि छुटेका थिए।

अर्को वर्ष फेरि अर्का अर्बपतिको अपहरण भयो। सेप्टेम्बरमा रिपल्स बेमा रहेको घर अगाडि सडकबाट सनहङ काइ प्रपर्टिजका पूर्वअध्यक्ष वाल्टर क्वक पिङ अपहरणमा परे।

उनी पनि फिरौती तिरेपछि मात्र रिहा भएका थिए। ६० करोड हङकङ डलर फिरौती बुझाएपछि उनी ६ दिनपश्चात् रिहा भएका थिए।

यी ‘हाइ प्रोफाइल’ घटनामा कुख्यात अपराधी चेङ चे-कुङको संलग्नता पुष्टि भएको थियो। उनलाई पछि मुख्यभूमिमा गिरफ्तार गरियो र गिरोहका चार सदस्यसहित मुत्युदण्ड दिइयो।

कुख्यात गुन्डा चेङ चे-कुङलाई सन् १९९८ मा चिनियाँ अदालतमा उपस्थित गराइँदै (ह्यान्डआउट)

जो कहिल्यै फर्केनन्
अर्बपति एवं प्रपर्टी डेभलपमेन्ट फर्म चाइनाचेम ग्रुपका पूर्वअध्यक्ष टेडी वाङ अप्रिल १९९० मा आफ्नै गाडीबाट अपहरणमा परे।

अपहरणकारीले ४६ करोड ७० लाख हङकङ डलर फिरौती मागे।

परिवारले २६ करोड डलर त बुझायो तर पनि उनी फेरि कहिल्यै देखिएनन्।

वाङको बेपत्ताको सम्बन्धमा अभियोग लगाइएका प्रतिवादीहरूमध्ये एकले अर्को वर्ष अदालतमा खुलासा गरे कि, उनीहरू चढेको डुङ्गालाई हङकङको तटमा चिनियाँ नौसेनाको जहाजले लखेटेपछि उनलाई समुद्रमा फ्याँकिएको थियो।

मार्च १९९१ देखि जुलाइ १९९७ सम्म हङकङ र ताइवानमा गरी यस मुद्दामा कुल १२ जनालाई पक्राउ गरिएको थियो।

उनीहरूलाई पाँच वर्षदेखि आजीवनसम्मको जेल सजाय सुनाइयो। (साउथ चाइना मर्निङ पोस्टबाट अनूदित)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .