हङकङका रेस्टुरेन्टमा प्लास्टिक प्रतिबन्ध : ग्राहकलाई थपिएला आर्थिक भार?

हङकङका रेस्टुरेन्टमा प्लास्टिक प्रतिबन्ध : ग्राहकलाई थपिएला आर्थिक भार?

हङकङका रेस्टुरेन्टले सोमबारदेखि एकल-प्रयोग प्लास्टिकको विकल्प खोज्नुपर्नेछ (एससीएमपी)


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १६:०, हङकङ

हङकङका रेस्टुरेन्ट व्यवसायीले एकल प्रयोग प्लास्टिकमा सहरव्यापी प्रतिबन्धलाई अनुकूलन गर्न विभिन्न उपाय अपनाइरहेका छन्।

यसको विकल्पमा कतिपयले कागज, काठबाट बनेका सामग्रीलाई बढावा दिइरहेका पनि छन्। यसको आर्थिक भार भने ग्राहकको बिलमा थपिन सक्ने देखिएको छ।

एक रेस्टुरेन्ट व्यवसायी अर्थतन्त्र आर्थिक मन्दीबाट गुज्रिरहेको यस समयमा ग्राहकलाई थप चार्ज गर्न आफू अनिच्छुक रहे पनि प्लास्टिक प्रतिबन्धको सरकारी निर्णयलाई कार्यान्वयन गर्दा ग्राहकमाथि केही भार थप्नैपर्ने बाध्यता आइपरेको बताउँछन्।

याउमा तेइस्थित एक रेस्टुरेन्टले हङकङ डलर ३६ पर्ने खानाको सेटलाई प्याकिङ गर्दा प्रति सेट ५.२० हङकङ डलर भार थपिने बताउँछ।

‘हाम्रो व्यवसायले मुख्यतया न्यून आय भएका समूहलाई सेवा दिइरहेको छ,’ रेस्टुरेन्टका मालिक युङ चि मिङ भन्छन्, ‘हामी ग्राहकलाई बोझ दिन चाहदैनौँ। त्यसैले, हामी माछामासुका परिकारको भाँडाका लागि मात्र हङकङ डलर २ वा ३ अतिरिक्त शुल्क लिनेछौँ, बाँकीको लागि मूल्य यथावत् रहनेछ।’

यसो गर्दा पनि कम्पनीलाई भने आर्थिक भार थपिने उनको गुनासो छ।

यद्यपि, कागज र काठबाट बनाइएका सस्ता भाँडाले खानाको उच्च तापक्रम सहन भने नसक्ने उनी बताउँछन्।

हङकङमा एकल प्रयोग प्लास्टिक प्रतिबन्धको पहिलो चरण सोमबारदेखि लागू हुँदैछ।

यसैगरी कजवे बेमा अवस्थित एक रेस्टुरेन्टका प्रबन्धक पनि आफूहरू ग्राहकलाई आर्थिक भार थप्ने पक्षमा नरहेको बताउँछन्।

यसै पनि विगतको तुलनामा व्यवसायमा ह्रास आइरहेको समयमा मूल्य बढाएर व्यवसायमा थप क्षति पुर्‍याउन आफूहरूले नचाहेको उनले बताए।

यसका लागि अरू नै केही उपाय अपनाउने योजनामा आफूहरू रहेको उनको भनाइ छ।

‘जस्तै, हामी डिस्पोजेबल काठको चम्चामा स्विच गर्न सक्छौँ वा चम्चा दिन बन्द गर्न सक्छौँ,” उनी भन्छन्, ‘किनकि धेरै मानिसलाई चपस्टिक मात्र चाहिन्छ।’

उनी थप्छन्, ‘विगतमा हाम्रो पसल बाहिर ग्राहकको लाम लाग्ने गथ्र्यो, तर अहिले त्यो सम्झना मात्र भएको छ।’

कतिपय चेन रेस्टुरेन्टले भने ग्राहकसँग अतिरिक्त शुल्क लिनेगरी तयारी गरेका छन्।

क्याफे डे कोरल ग्रुपले आफ्ना ३८० आउटलेटबाट टेकअवे ग्राहकलाई गैर–प्लास्टिक कटलरीका लागि हङकङ डलर १ अतिरिक्त शुल्क लिने मंगलबार बताइसकेको छ।

रेस्टुरेन्ट समूह फेयरवुडले स्टेनलेस स्टिलका भाँडाका लागि हङकङ डलर २ को प्रस्ताव अघि सारेको छ भने म्याक्सिम्ज ग्रुपले ब्यागास कटलरीका लागि हङकङ डलर १ चार्ज गर्ने तर आफ्नै भाँडा ल्याउनेसँग उक्त शुल्क नलिने प्रस्ताव गरेको छ।

ठूला रेस्टुरेन्टले यस किसिमका प्रस्ताव गरे पनि साना व्यवसायी भने अलमलमै रहेको हङकङ फेडेरेसन अफ रेस्टुरेन्ट्स एन्ड रिलेटेड ट्रेडर्सका अध्यक्ष साइमान वोङ बताउँछन्।

‘केही साना व्यवसायी विस्तारै परिवर्तन गर्नुपर्ने पक्षमा देखिन्छन्’ वोङ भन्छन्, ‘किनकि तुरुन्तै गैर–प्लास्टिक विकल्पमा जानु महँगो हुनेछ।’

प्लास्टिक प्रतिबन्ध र मूल्य वृद्धिको सम्बन्धमा ग्राहकहरूको मिश्रित धारणा देखियो।

नाम बताउन नचाहने एक ग्राहकले दबाब दिइएकोमा सरकारको आलोचना गरे।

‘अहिले त मूल्यवृद्धि छैन तर यो सुनिश्चित देखिन्छ,’ उनी आक्रोश पोख्छन्, ‘प्रत्येक खानामा २ डलरले बढ्छ र मैले यसलाई हरेक दिन खरिद गर्छु भने त्यो अतिरिक्त शुल्क महिनामा ६० डलर हुँदैन?’

तर, १७ वर्षीया विद्यार्थी चेङ म्यान–केइ भने गैर–प्लास्टिक भाँडामा स्विच भएर प्रतिखाना १० डलरभित्रको मूल्यवृद्धि आफूलाई आपत्ति नभएको बताउँछिन्।

कागज (पेपर स्ट्र)को कप चाँडै भिज्ने र आफ्नो पेय जतिसक्दो चाँडो सक्नुपर्ने बाध्यताको अनुभव उनीसँग छ।

यस्तै, खुद्रा पसलमा कार्यरत वोङ छि–हुन रेस्टुरेन्टहरूले प्रस्ताव गरेका काठ र कागजका भाँडाभन्दा प्लास्टिकका भाँडा नै ठीक मान्छिन्।

‘कागजको चम्चा तातो सुपमा छिट्टै भिज्छ,’ ४१ वर्षीया छि भन्छिन्, ‘यसको मतलब मैले मेरो खाना खान हतार गर्नु पर्छ।’

‘काठका चम्चामा पनि गहिराइ हुँदैन,’ उनी थप्छिन्।

रेस्टुरेन्टहरूले गरेको आफ्नै भाँडा ल्याउने प्रस्तावमा पनि उनी असहमत देखिइन्। भन्छिन्, ‘यसलाई प्रत्येक पटक सफा गर्न असुविधाजनक छ।’

द ग्रिन अर्थका सहायक वातावरणीय मामिला प्रबन्धक स्टिभन चान भने फोहोर घटाउन तथा वातावरणीय स्वच्छताका लागि बासिन्दालाई आफ्नै भाँडाकुँडा ल्याउन सुझाव दिन्छन्।

‘कम्पनीहरूले आफ्ना कर्मचारीलाई कार्यालयमा टेकअवे खानाको जागि पुनः प्रयोगयोग्य भाँडा किन्न प्रोत्साहन गर्न सक्छन्,’ चान भन्छन्।

हङकङमा प्लास्टिक प्रतिबन्धको नियम उल्लंघन गर्ने व्यवसायीले अधिकतम १ लाख हङकङ डलरसम्म जरिवाना तिर्नु पर्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिबन्ध नीतिको दोस्रो चरण सन् २०२५ मा सुरु हुन सक्ने अपेक्षा गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .