हङकङमा भोलिदेखि ‘एजुकेसन एन्ड करिअर एक्स्पो’ हुँदै

सबै सरकारी कार्यालय रहनेछन् प्रदर्शक
हङकङमा भोलिदेखि ‘एजुकेसन एन्ड करिअर एक्स्पो’ हुँदै

तस्बिर स्रोत : एचकेटीडीसीको आर्काइभ


नेपालखबर
माघ १०, २०८० बुधबार १५:४५, हङकङ

हङकङमा भोलि (२५ जनवरी) देखि ‘एजुकेसन एन्ड करिअर एक्स्पो’ हुने भएको छ।

भोलिदेखि चार दिनसम्म अर्थात् २८ जनवरीसम्म चल्ने एक्स्पो हङकङ सम्मेलन तथा प्रदर्शनी केन्द्र (हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर)मा हुने भएको हो।

प्रदर्शनीको आयोजक हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिल (एचकेटीडीसी) रहेको छ।

एचकेटीडीसीले आफ्नो वेबसाइटमा राखेको जानकारी अनुसार प्रदर्शनीमा प्रवेश खुला हुनेछ। यद्यपि प्रवेशपछि केही सर्त भने छन्।

जस्तै, अनुमतिविना प्रदर्शनीस्थलमा तस्बिर, भिडिओ वा अन्य कुनै पनि प्रकारको डिजिटल रेकर्डिङ गर्न पाइने छैन।

चार दिनसम्म चल्ने प्रदर्शनी सुरुका तीन दिन बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म चल्नेछ भने अन्तिम दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला हुनेछ।


के छ प्रदर्शनीको विशेषता?
प्रदर्शनी विशेषतः शिक्षा र रोजगारीमा केन्द्रित रहनेछ। शिक्षाको हकमा विद्यार्थीकेन्द्रित शैक्षिक संस्थादेखि रोजगारीसँग सरोकार राख्ने इन्स्टिच्युटसम्म प्रदर्शक रहनेछन्। यी संस्थाले विद्यार्थीलाई छात्रवृत्तिदेखि अन्य अफर दिन सक्छन्।

त्यस्तै, रोजगारीको हकमा हङकङका सबै सरकारी कार्यालय प्रदर्शक छन्।

हङकङमा दुई प्रकारका सरकारी जागिर छन्– निजामती सेवा र गैर–निजामती सेवा।

निजामती सेवामा नियुक्त हुने कर्मचारी निजामती कर्मचारीअन्तर्गत पर्दछन्। उनीहरू निजामती सेवाको नियम-सर्तबमोजिम भर्ना भएका हुन्छन्।

गैर-निजामती सेवामा भर्ना हुने कर्मचारी निजामती कर्मचारीअन्तर्गत पर्दैनन्। उनीहरू निजामती सेवाभित्रको कुनै पनि पदमा पदोन्नति तथा सरुवाको लागि योग्य हुँदैनन्।

गैर-निजामती सेवाका कर्मचारीको नियुक्ति र सेवाका सर्तहरू निजामती सेवाको भन्दा फरक हुन्छ।

जागिरमा प्रवेश गरिसकेपछिका सेवा-सर्तमा भिन्नता रहे पनि प्रवेश गर्नुअघिका केही नियम भने यी दुई सेवाका लागि समान छन्।

जस्तै, यी दुवै सेवाका लागि हङकङको स्थायी बासिन्दा हुनु पर्छ।

त्यस्तै, दुवै प्रकारका रिक्त पदहरूमा अनलाइनमार्फत जानकारी लिन र आवेदन दिन पाइन्छ।

सरकारी प्रणालीले दुवै प्रकारका सेवाको विज्ञापनलाई समेट्छ।

यद्यपि, श्रम विभाग (लेबर डिपार्टमेन्ट)को अन्तरक्रियात्मक रोजगार सेवा (इन्टर्‍याक्टिभ इम्प्लोइमेन्ट सर्भिस)ले गैर-निजामती सेवाका रिक्त पदहरूलाई मात्र सूचीबद्ध गर्दछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .