एकपछि अर्को दुर्घटना भएपछि हङकङको एक निर्माण कम्पनीको लाइसेन्स रद्द

एक वर्षभित्र भएका थिए तीन वटा ठूला औद्योगिक दुर्घटना
एकपछि अर्को दुर्घटना भएपछि हङकङको एक निर्माण कम्पनीको लाइसेन्स रद्द

निर्माणस्थलमा कामदार (तस्बिर : एससीएमपी)


नेपालखबर
कात्तिक १, २०८० बुधबार २०:७, हङकङ

हङकङको एक इन्जिनियरिङ कम्पनीले एकपछि अर्को घातक दुर्घटना बेहोर्नुपरेपछि सञ्चालन अनुमति नै गुमाउन पुगेको छ।

स्थानीय सञ्चारमाध्यम एससीएमपीका अनुसार ग्रेट हार्वेस्ट ग्रुपको सहायक कम्पनी एग्रेसिभ कन्स्ट्रक्सन इन्जिनियरिङलाई १६ नोभेम्बरदेखि सरकारी अभिलेखमा दर्ता भएका ठेकेदारहरूको सूचीबाट हटाइने भएको हो।

हङकङका विकास सचिव बर्नाडेट लिन होन–होले बुधबार उक्त जानकारी गराएकी हुन्। त्यस दिनबाट उक्त ठेकेदार कम्पनीले कुनै पनि निर्माण कार्य गर्न नपाउने उनले बताएकी छन्।

कम्पनीसँग निजी आवासीय र व्यावसायिक गरी पाँच वटा आयोजना टुङ्ग्याउन बाँकी नै छन्। तीमध्ये तीन वटा आयोजनाका झण्डै एक हजार सात सय युनिट प्रि–सेल अवधिमा बिक्री भइसकेका छन्। अरू युनिट पनि सन् २०२५ सम्ममा समाप्त हुने अपेक्षा गरिएको छ।

कम्पनीको इजाजत रद्द भएपछि निर्माणका काम प्रभावित हुने देखिन्छन्। तर यसलाई सहज बनाउन सरकारले सहयोग गर्ने विकास सचिव होले बताएकी छन्।

यसका लागि व्यवसायीले चलिरहेका आयोजनाका लागि एक महिनाभित्र अर्को ठेकेदार नियुक्त गर्न सक्ने छन्।

के थिए घटना?
इजाजतपत्र नै रद्द हुनेगरी सजाय भोगेको यस इन्जिनियरिङ कम्पनीमा एक वर्षमा तीन ठूला औद्योगिक दुर्घटना भएका थिए।

गत वर्ष डिसेम्बरमा याउछङस्थित छङयुएन स्ट्रिटमा रहेको एग्रेसिभ कन्स्ट्रक्सन इन्जिनियरिङको साइटमा स्टिलको बिम खस्दा ५५ वर्षीय कामदारको मुत्यु भएको थियो।

त्यस्तै, गत वर्ष सेप्टेम्बरमा यसको भगिनी कम्पनी एग्रेसिभ कस्न्ट्रक्सनको साउमाउ पिङस्थित एन्डरसन रोडमा रहेको हाउजिङ सोसाइटी निर्माण क्षेत्रमा क्रेन भत्किँदा तीन जनाको ज्यान जाने गरी अर्को ठूलो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा अन्य ६ जना कामदार घाइते भएका थिए।

यसैगरी गत वर्ष नै कम्पनीको साइटमा अर्को घातक दुर्घटना पनि भएको थियो।

यिनै दुर्घटनाको समीक्षा गर्दै सुरक्षाको कारण देखाई इजाजत पत्र रद्द गरिएको हो।

पटक–पटक दुर्घटना भएपछि गत वर्ष नै कम्पनीलाई नयाँ ठेक्काका लागि बोलपत्र गर्नबाट वञ्चित गरिएको थियो।

गत बुधबार फेरि यो प्रतिबन्ध अर्को वर्षको अन्त्यसम्मका लागि लम्ब्याइएको थियो।

गत वर्ष सेप्टेम्बरमा साउमाउ पिङको एन्डरसन रोडमा रहेको हाउजिङ सोसाइटी बिल्डिङको निर्माण क्षेत्रमा घातक दुर्घटना भएपछि कम्पनीलाई यस वर्षसम्म ठेक्काका लागि बोलपत्र गर्नबाट निलम्बन गरिएको थियो। सोही निलम्बनलाई गत बुधबार अर्को वर्षको अन्त्यसम्मका लागि लम्ब्याइएको हो।

पछिल्लो समय भने एग्रेसिभ कन्स्ट्रक्सन इन्जिनियरिङको इजाजतपत्र नै रद्द हुने गरी सरकारले निर्णय गरेको छ।

कम्पनीले सन् २००४ मा भवन विभागमा दर्ता भई सामान्य भवन निर्माण ठेकेदारको रूपमा इजाजत पाएको थियो। यो इजाजत प्रत्येक तीन–तीन वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .