हङकङका एक व्यक्तिलाई ‘देशद्रोही’ भावना झल्काउने बालपुस्तक आयात गरेको आरोपमा अदालतले जेल सजाय सुनाएको छ।
फाइनाइन्स कम्पनीका कामदार ३८ वर्षीय कर्ट लेउङलाई शुक्रबार चार महिनाको जेल सजाय सुनाइएको हो।
उनलाई ‘राजद्रोहात्मक प्रकाशन आयात’ गरेको आरोप लागेको छ।
‘उनले आयात गरेकामध्ये एक पुस्तकमा प्रजातन्त्र समर्थक अखबार एप्पल डेली बन्दको विषयलाई काल्पनिक रूपमा प्रस्तुत गर्दै सत्य बोल्नेलाई सजाय दिइएको चित्रण गर्न खोजिएको छ,’ शुक्रबारको फैसलामा अदालतले व्याख्या गरेको छ।
फैसलामा उनी र उनको कम्पनीले आयात गरेका पुस्तकमा बेइजिङलाई गलत सावित गर्न खोज्दै बालबालिकालाई ‘ट्विस्ट’ गर्न खोजिएको आरोप लागेको हो।
यस्ता ‘देशद्रोही’ भावना फैलाउने पुस्तक बालबालिकाले पढ्ने हो भने त्यस्ता विचार बढ्न सक्ने र भावी पुस्तामा प्रभाव बढ्न सक्ने खतरा अदालतले औँल्याएको छ।
यद्यपि, लेउङको पक्षबाट बहस गरेका वकिलले भने पुस्तकहरू वितरण गरिएको वा लेउङमा ‘देशद्रोह’को नियत रहेको कुनै प्रमाण नभएको बताएका छन्।
हङकङको कानुनमा राजद्रोह झल्काउने प्रकाशन आयातको अपराध गर्ने व्यक्तिलाई पहिलो पटक अधिकतम दुई वर्षको जेल सजाय हुनसक्ने व्यवस्था छ।
बेइजिङले हङकङमा सन् २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि ‘राजद्रोह’ झल्किने गतिविधिमा हङकङ सरकार कडा रूपमा प्रस्तुत हुँदै आएको छ।
Shares
प्रतिक्रिया